साहित्यलाई पाककलासँग पस्किने’ अभियानको उद्घाटन कार्यक्रम साेमबार बेलायतमा सम्पन्न भएकाे छ। यो अभियानले नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्नुका साथै नेपाली खानाप्रतिको साझा रुचिलाई पनि उत्सवको रूपमा मनाउने जनाइएकाे छ।
‘पुस्तक हस्ताक्षर र लेखक भेट कार्यक्रम आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौं। ‘साहित्यलाई पाककलासँग पस्किने’ यो अभियानले नेपाली साहित्यलाई मात्र प्रवर्द्धन गर्दैन, हाम्रो पाककलाप्रतिको प्रेमलाई पनि उत्सवको रुपमा मनाउँदछ,’ गुरखा वुडकक इन फेल्ब्रिजका सुरज पाण्डेले भने, ‘नेपाली खाना बेलायतमा पहिले नै लोकप्रिय छ, र अब हामी हाम्रो ग्राहकहरूलाई यी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको माध्यमबाट नेपाली साहित्यको स्वाद दिन्छौं। आजको कार्यक्रम सुरुवात मात्र हो, र हामी आगामी दिनहरूमा धेरै कार्यक्रमहरूको प्रतीक्षा गरिरहेका छौं।’
एक ग्राहकले लेखकलाई भेट्न पाएको र पुस्तकको हस्ताक्षरित प्रतिलिपि किन्ने अवसर पाएकोमा आफ्नो उत्साह व्यक्त गरे।
भर्चुअल रूपमा कार्यक्रममा सहभागी भएका किताबका अनुवादक जयन्त शर्माले भने, ‘यो पहलले म निकै उत्साहित छु र एक अनुवादकको रूपमा, नेपाली साहित्यलाई विश्वमा पुर्याउने हाम्रो सहकार्य यसरी अगाडि बढेको देखेर म रोमाञ्चित छु।’
लेखिका संगीता स्वेच्छाले नेपाली साहित्य साझा गर्न पाएकाेमा कृतज्ञता व्यक्त गरिन्।
‘मेरा कथाहरूमार्फत नेपाली साहित्य साझा गर्नको लागि यो मञ्च प्रदान गरेकोमा म गुरखा वुडकक इन फेल्ब्रिजप्रति आभारी छु र यहाँ हुने आगामी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको लागि निकै उत्साहित पनि छु,’ उनले भनिन्।
बुकहिल इन्टरनेशनलबाट प्रकाशित संगीता स्वेच्छाको कथा संग्रह, ‘रोजेज ओडिसी’ अप्रिल २०२४ मा बेलायतमा विमोचित भएको थियो।
बेलायतभरि ६ वटा सफल पुस्तक हस्ताक्षर कार्यक्रमहरू यूनिभर्सल पीस फेडेरेशन र फीड द माइन्ड्स जस्ता स्थानहरूमा भइसकेको छ।
