काठमाडाैं- काभा यु-२० महिला च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेको नेपाली महिला टोली सेमिफाइनलमा पराजित भएको छ। माल्दिभ्सको मालेमा सोमबार राति भएको खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो।
सहज रूपमा खेल आफ्नो पक्षमा पार्ने क्रममा कीर्गिस्तानले २५-१४, २५-२२, र २५-१३ ले खेल आफ्नो पक्षमा पार्याे। लिग चरणमा किर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल खेलेका थिए। लिग चरणमा पनि किर्गिस्तानसँग नेपाल ३-० को सेटमा पराजित भएको थियो।
चार टोली सहभागी प्रतियोगितामा नेपालले लिगचरणमा आयोजक माल्दिभस्सलाई हराएर सेमिफाइनल यात्रा तय गरेको थियो। नेपालले अब तेस्रो स्थानका लागि समूहको कमजोर प्रतिद्वन्द्वी माल्दिभ्सको सामना गर्नेछ।
फाइनलमा किर्गिस्तान र श्रीलंका भिड्ने छन्। पहिलो सेमिफाइनलमा श्रीलंकाले आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।