‘नेपाल यात्रा’ कला प्रदर्शनीको आठौं संस्करण बेलायतको रेडिङमा सम्पन्न भएको छ।
२९-३० जुनमा ‘द रोजिएट होटल’मा आयोजित प्रदर्शनीमा कलाकार पी. सिंहका विभिन्न मनमोहक ऐक्रेलिक पेन्टिङहरू प्रस्तुत गरिएको थियो, जसले नेपालको प्राकृतिक दृश्य, समृद्ध संस्कृति, सम्पदा लगायत वन्यजन्तुको कलात्मक रूपमा चित्रण गरेको थियो।
यसअघि बेलायत, कतार र नेपालका विविध ठाउँमा कला प्रदर्शनी गरिसकेका कलाकार सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवर्द्धन गर्दै आइरहेका छन्।
उनले नेपाली कलाकृतिहरूप्रति आगन्तुकहरूको उत्साहजनक प्रतिक्रियालाई टिप्पणी गरे।
लन्डनको एक बैंकमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्ने सिंह फुर्सद हुने बित्तिकै चित्र कोर्छन्।
‘हेल्भेट आर्ट प्रर्दशनीले धेरै देशका कलाकारहरूको प्रदर्शनी गरिसकेको छ र हामी नेपालका कलाकृतिहरू प्रदर्शन गर्न पाउँदा निकै रोमाञ्चित भएका छाैं,’ हेल्भेट आर्ट प्रर्दशनीका संयोजक इना वार्सले भनिन्।
नेपालको सांस्कृतिक सम्पदा र पर्वतहरू झल्काएका कलाकृतिहरूको प्रर्दशनीमा आएका कलाप्रेमीहरूले सराहना गरेका थिए।
