नाटक ‘ढकियामे नागरिकता’: अनागरिकहरूको अनुत्तरित प्रश्न

नाटक ‘ढकियामे नागरिकता’: अनागरिकहरूको अनुत्तरित प्रश्न
+
-

आफ्नै देशमा अनागरिक भएर बाँच्नु र आफ्नै भूमिमा निर्वासनको जीवन बिताउनु अत्यन्तै पीडादायी हुन्छ। यदि, यो पीडाको अनुभूति गर्नुभएको छैन र गर्न चाहनुहुन्छ भने बत्तीसपुतलीको शिल्पी थिएटरमा मञ्चन भइरहेको सरिता साहद्वारा लिखित र निर्देशित नाटक ‘ढकियामे नागरिकता’ हेर्नुहोस्। नाटक १० गतेसम्म हरेक साँझ ४ः३० बजे मञ्चन भइरहेको छ।

‘ढकियामे नागरिकता’ खासमा नाटक हैन, एउटा यथार्थ हो। नाटक त केवल यो यथार्थलाई प्रकाश पार्ने कलात्मक माध्यम मात्र हो। यो राज्यले भोग्न बाध्य बनाइरहेको एउटा कालो यथार्थ जसमा लाखौँ नागरिक जलिरहेका छन्।

यो नाटकले सयौँ अनुत्तरित प्रश्न खडा गरेको छ। नाटकघर छिर्दा तपाईंलाई केही गम्भीर प्रश्नहरूले स्वागत गर्नेछन्। कागजमा हातले लेखेर डोरीमा झुन्ड्याइएका प्रश्नहरूले। आमाको नामबाट नागरिकता लिने कानुन विवादित किन? जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता किन नपाउने? विदेशी पुरुषले र विदेशी महिलाले विवाहको हकमा लिने नागरिकताको अवधि किन फरक? आमा नेपाली, बुबा नेपाली मचाहिँ कहाँको? तपाईंलाई भोट चाहिँदा म नेपाली नागरिकताचाहिँदा म भारतीय? आदि।

माटोका भाँडा बनाएर बेच्ने एउटा गरिब परिवारको दिनचर्याबाट नाटक सुरु हुन्छ। सुरु हुनेबित्तिकै नागरिकताका कारण जागिर खान र छात्रवृत्ति पाउन सकस भएको मूल मुद्दामा नाटक प्रवेश गर्छ।

नाटक सुरु हुँदै दर्शकलाई विषयवस्तुले क्लाइमेक्स (उत्कर्ष) मा पुर्‍याएको महसुस हुन्छ। यो क्रम नाटकको अन्त्यसम्म कायम रहने हुनाले दर्शकको कुनै ‘इमोसनल रेस्ट’ लिन पाउँदैनन्। मलाई नाटकमा यो सुन्दर निर्देशकीय कला लाग्यो।

सुरुको प्रेमिल दृश्य र नागरिकता लिन लाइनमा बसेका गाउँलेको हाउभाउ र अधिकारीको भाषाले एकछिन हँसाउनेबाहेक नाटकले दर्शकको धैर्यता र भावनात्मक नियन्त्रणको परीक्षा लिइरहन्छ। नागरिकता पाउने आसमा वर्षौं बिताएका तराईमा बस्ने न्यून र अति न्यून आय भएका नागरिकले गर्नुपरेको संघर्ष र त्यसैले निम्त्याएको दुःख नाटकको मूल भाव हो तर नागरिकताको सवाल आफैँमा पेचिलो र गम्भीर सवाल हो। यसलाई कसरी शक्ति र सत्तामा रहनेहरूले र रहने चाहना भएकाहरूले प्रयोग गर्छन् भन्ने नाटकमा कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।

केही नागरिकका लागि नागरिकता प्राप्त गर्न कठिन र असम्भव भए पनि तिनै ठाउँमा नागरिकता बिक्री भइरहेको तीतो यथार्थ पनि नाटकले प्रस्तुत गरेको छ।

नागरिकता नभएका नागरिकले आजको समयमा मोबाइलको सिमसमेत लिन पाउँदैन, बैंकमा खाता खोल्न, जग्गा किन्न, जागिर खान र पढ्नका लागि छात्रवृत्ति आदिबाट वञ्चित हुनुपरेको यथार्थ उठान गरिएको छ।

यिनै कारणले ज्यान गुमाएकाहरूको विषयमा राज्य बेखबर छ। यसको कुनै क्षतिपूर्ति सम्भव छ? यो समस्या नभोग्नेका लागि सामान्य होला तर दैनिक यही पीडाबाट गुज्रिरहेका नागरिकका लागि असहनीय हुन्छ। के राज्य यस्तो गम्भीर समस्यासँग जानकार छ? कि राज्य आँखा भएर अन्धो र कान भएर बहिरो बनिदिएको छ? पहिचान पत्र नपाएका नागरिकलाई राज्यले सम्बोधन गर्नुपर्छ। नभए नागरिकले संविधान र कानुनप्रति कसरी अपनत्व महसुस गर्छ? यस्तै अनुत्तरित प्रश्नको जवाफ खोजिरहेको छ नाटक ‘ढकियामे नागरिकता’ले।

नाटकका दुई वटा दृश्यले हलमा भएका दर्शकलाई मज्जासँग रुवाउँछ। नाटकघरमा केही बेरसम्म सुँक्क सुँक्क आवाज आइरहन्छ। तुरुन्तै निर्देशकले दर्शकलाई शान्त बनाउन रमाइलो दृश्य पस्कन्छिन् तर लगत्तै नागरिकता नबनेर डाक्टर पढ्न अवसर गुमाएका पात्रको स्वघातले पूरै माहोल स्तब्ध बनाइदिन्छ।

धेरैजसो सिनेमामा भावुक दृश्य आउँदासमेत खित्का छाडेर हाँस्ने दर्शक नाटक हेरेर रोएको देख्दा अभिनय कला नाटकमा सशक्त हुन्छ भन्न सहजै सकिन्छ। अभिनय गरिरहेका कलाकारले दर्शकलाई आफूसँग बाँधेर राख्ने क्षमता नाटकको मजबुत पाटो हो। निर्देशक सरिता साहको कथा प्रस्तुति सशक्त छ। मधेसीका मुद्दा मधेसीले नै सहज र मजबुत तरिकाले प्रस्तुत गर्न सक्छ भन्ने भनाइ पूर्ण सार्थक देखिएको छ।

आफ्नो परिवेश र भोगाइ, आफ्नो भाषा र संस्कृतिको ज्ञानले निर्देशकलाई प्रस्तुत गर्न खोजेको विषयवस्तु स्टेजमा प्रस्तुत गर्ने अथेन्टिसिटी प्राप्त भएको देखिन्छ। कलाकार स्वतःस्फूर्त रूपमा मैथिली र नेपाली भाषामा संवाद गरिरहन्छन्।

नाटकीय तत्त्वहरूको भरपुर प्रयोग गरिएको यस नाटकमा पात्र छनोट, पात्रबीचको सम्बन्ध स्थापना, परिस्थिति निर्धारण र नियन्त्रण, समय र स्थानको प्रासंगिकता तथा बिम्बको प्रयोग उम्दा छन्।

सरिता कठायत र आकाश नेपालीको प्रकाश परिकल्पना र परिचालनले कथाको भावमा इँटा थप्ने काम गरेको छ। प्रेमगीत सुधाकर, अजित महर्जन र विधान श्रेष्ठको प्रत्यक्ष संगीतले नाटकको प्रवाहलाई निरन्तरता प्रदान गरेको छ। नाटक उत्कृष्ट भएकाले हेर्दा कलाकार र सम्पूर्ण टिमलाई हौसला र सम्मान प्रदान मात्र हुँदैन कि यस्ता गम्भीर र महत्त्वपूर्ण विषयमा ऐक्यबद्धतासमेत जाहेर हुन्छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?