महान मान्छे, असल मान्छे!

महान मान्छे, असल मान्छे!
+
-

लामो अस्वस्थतासँग जुध्दै स्वधर्मको निर्वाहमा डटेका वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको निधन भएको छ। एउटा अत्यन्त विलक्षण अधिवक्तामा हुनुपर्ने योग्यता र चरित्रसँगै सामाजिक र राष्ट्रिय दायित्वप्रति सतत संवेदनशील र समर्पित नागरिक या नेपालीका रुपमा बाँच्नु नै उनको जीवनको उच्चतम उद्देश्य थियो। त्यसैले राज्यका तर्फबाट या ओहोदामा रहेका व्यक्तिबाट प्रस्तावित सबै हैसियतलाई उनले अस्वीकार गरिरहे।

कुनै पदमा नरहेरै स्वधर्म (नागरिक र अधिवक्ताको धर्म निर्वाह) बाटै मुलुकप्रतिको दायित्व पूरा गर्न सकिन्छ भन्ने अठोटलाई व्यवहार र आचरणबाटै सावित गरेर देखाउने एउटा उज्वल नक्षत्र थिए वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ।

पञ्चायती व्यवस्थाभित्र पनि जनताको मान, सम्मान र स्वतन्त्रता सुनिश्चित गर्ने प्रतिबद्धता र अभ्यासमा कानुन व्यवसायीहरुले आफ्नो भूमिका खेल्नुपर्छ भन्ने मान्यताका साथ कृष्णप्रसाद भण्डारी, कृष्णप्रसाद पन्त, प्रेमकृष्ण पाठकसँगै गणेशराज शर्मा र कुसुम श्रेष्ठजस्ता उदीयमान व्यक्तिहरु लागिरहे व्यवस्थाको स्थापनाकालदेखि नै। २०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना र त्यसमा सर्वोच्चको फैसलामार्फतको अनुमोदनले राजनीतिक स्वतन्त्रताप्रतिको आकर्षण  मौलिएको थियो नेपाली जनमानसमा।

वैयक्तिक स्वतन्त्रता, कानुन विपरीत गिरफ्तार नहुने अधिकार र वाक् तथा प्रकाशन स्वतन्त्रताका पक्षमा निसर्त लागिरह्यो कुसुम श्रेष्ठलगायत कानुनज्ञाताहरुको टोली। उनीहरुको प्रतिबद्धता र समर्पणको केन्द्रमा नेतृत्व र शासकहरुमा जवाफदेहीता हुनैपर्छ भन्ने मान्यता अविचलित रुपमा रहिरह्यो। न्यायपालिकालाई मर्यादित र शासकलाई जवाफदेही बनाउने अभियानमा होमिएका श्रेष्ठले आफ्नो चारित्रिक विशिष्टता प्रदर्शन गर्दै सर्वोच्चलाई राजदरबारमा सार्नुपर्ने कुण्ठा र असहिष्णुयुक्त अभिव्यक्तिका लागि गिरिजाप्रसाद कोइरालालाई क्षमायाचना गर्न बाध्य पारेका थिए।

कुसुम श्रेष्ठ तथा उनको मान्यता बोक्ने टोलीले स्तरीय ज्ञान तथा तर्कसम्मत बहसबाट एकातिर ‘बार’लाई सम्मान दिलायो भने अर्कोतिर बेन्चलाई त्यति नै निष्पक्ष, स्तरीय र विश्वासिलो बनाउनमा महत्वपूर्ण योगदान खेलेको थियो।

०४७ सालको संविधानलाई प्रजातान्त्रिक तथा संवैधानिक व्यवस्थाको उच्चतम दस्तावेज मान्ने श्रेष्ठ ०६३ सालपछि न्यायपालिकामाथि बढ्दो राजनीतिक र दलीय हस्तक्षेप, ०४७ सालको संविधानको खारेजीको शैली र आन्तरिक राजनीतिमा बढ्दो वैदेशिक हस्तक्षेपप्रति खिन्न थिए। चौबीसै घण्टा अक्सिजन नाकमा लगाउँदा पनि आफ्ना मान्यता र चाहना उनलाई भेट्ने सीमित व्यक्तिहरुका अगाडि त्यत्तिकै प्रतिबद्धताका साथ दोहोर्‍याइरहन्थे। किनकि उनका लागि देश र नेपाली समाज, उसको सार्वभौम स्वतन्त्र हैसियत सर्वाधिक प्यारो थियो।

उनी जीवनभर निष्काम कर्म योगी रहे। मृत्युपछि उनका मान्यता र आदर्शलाई बेवास्ता र अवज्ञा गर्दै आएका कांग्रेसी, हिजोका एमाले र माओवादी उनलाई सम्मान दिन एक ठाउँमा आउनसक्छन्, लोकलाज र कर्मकाण्डकै लागि भए पनि। तर, मृत्युपर्यन्त पनि त्यस्तो कर्मकाण्ड उनको नाममा नगरियोस् भन्ने चाहना उनको सधैँ रहिरह्यो।

वर्तमान सर्वोच्च न्यायालय होस् या उनलाई आदर्श मान्ने वकिल र बारको जमात- उनीहरुले आफूभित्र कुसुम श्रेष्ठको चरित्रको केही अंश बचेको भए त्यसलाई नियाल्ने र संस्थागत तथा व्यवसायिक अद्योगतिलाई रोक्ने प्रतिबद्धता गर्नु नै नै उनीप्रतिको श्रद्धाञ्जली हुनेछ। उनी एउटा असल, मृदुभाषी, प्रतिबद्ध र आदर्शवानसँगै एक महान व्यक्ति थिए। त्यो महानताले मरणोपरान्त पनि कर्तव्यनिष्ठतामा कसैलाई प्रेरित गरेमा आश्चर्य मान्नु पर्दैन।

उनको निधन विवेक, संविधानवादका मूल्य र न्यायपालिकाको स्वतन्त्रताको अवमूल्यन भएको वर्तमान अवस्थामा अपूरणीय क्षति सावित हुनेछ, राष्ट्रिय र सार्वभौम जीवनमा।

हार्दिक श्रद्धाञ्जली!

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?