ओ पिटर!

काठमाडौँको इन्द्रजालमा डुबेको एउटा आउटसाइडर

+
-

पिटर काठमाडौँ आएको ५२ वर्ष ४ महिना भयो, यो लेखिरहँदासम्म।

यी पाँच दशकमा न पिटरले काठमाडौँलाई आफ्नो मान्ने मौका पाए, न काठमाडौँले नै उनलाई आफ्नो मानेको छ। तैपनि उनी बसिरहेछन् यही सहरमा। यहीँको कथा लेखेर, यहीँको कथा बनेर।

पिटर जोन कार्थक हो उनको पूरा नाम। उपनामजस्तो लाग्ने कार्थक उनको साँच्चिकै थर हो। लेप्चा जातिको थर।

पिटर दाइ भन्छु म उनलाई, मेरो बुबाभन्दा ४ वर्ष जेठो भए पनि। नौ वर्षअघि नेपाल रिपब्लिक मिडियामा हामी सुरुदेखि नै सहकर्मी थियौँ।

पिटर दाइ मलाई मन पर्छ। उनी बिन्दास छन्। ७४ वर्षको उमेरमा अहिले पनि सुसेली हाल्छन्। गीत गाउन र गिटार बजाउन सौखिन भए पनि ४० सालयता उनी त्यसबाट बाहिर छन्। रमाउँछन्। कपाल जहिल्यै चटक्क पारेर कोर्छन्। काममा प्रतिबद्ध छन्।

कुपन्डोलको उनको करिब ४० वर्ष पुरानो घर भुइँचालोका कारण भत्काउन परेकाले फेरि पुनर्निर्माण हुँदैछ तर आडैको सानो प्रिफ्याब कटेरोमा पनि उनी व्यवस्थित भएर बसेका छन्। सानो कोठामा दुई जना बस्न मिल्ने सोफा छ जहाँ एउटा सानो छाउरी ज्ञानी भएर बसिरहन्छे। पिटर दाइको साथी जसलाई उनी पनातिनी भनेर बोलाउँछन्।

नेपाल रिपब्लिक मिडिया (अध्यक्ष विनोदराज ज्ञवाली र रिपब्लिकाका सम्पादक सुवास घिमिरे) बाट कलात्मक ढंगले कपि एटिडिङमा पोख्त पिटर दाइलाई विदेशमा रहँदा इमेलद्वारा घोक्रेठ्याक लगाइदिएपछि उनी बेरोजगार भएका छन्। तर, रिपब्लिक मिडियाले उनलाई अवकाशपत्र र आयकर तिरेको निस्साप्रमाण अहिलेसम्म दिएको छैन। दार्जिलिङबाट काठमाडौँ पसेयता सधैँ सानोठूलो जागिर खाइरहेका पिटर दाइसँग अहिले जागिर छैन।

१८ वर्षअघि यस्तै एउटा जागिरबाट अर्को जागिरमा फड्को मार्ने क्रममा पिटर दाइले आफ्नो दोस्रो उपन्यासको वीउ रोपेका थिए।

पोखराको फूलबारी रिसोर्टको जागिर छाडेपछि पिटर दाइसँग १० दिनजति समय थियो। उनी हिमालयन टाइम्स ज्वइन गर्दै थिए।

यहीबीच उनका संगीतगुरु अम्बर गुरुङलाई काठमाडौँ महानगरपालिका र रेडियो सगरमाथाले सम्मान गर्ने  एउटा कार्यक्रममा उनलाई आफ्नो नयाँ उपन्यास ‘काठमान्ड्रुइड्स’को प्लट फुर्‍यो। त्यो बेलुकी सबैले ड्रिंक्स खाए पनि एन्टिबायोटिक लिइरहेका कारण पिटर दाइले रक्सी छोएनन् तर त्यहाँ एउटा नेताले बकेको कुराले उनलाई त्यसबारे लेख्ने विचार फुर्‍यो जुन केही सातापहिले उपन्यासका रुपमा सार्वजनिक भएको छ।

यद्यपि त्यसबेला चाहिँ उनलाई उपन्यास नै लेखौँला भन्ने थिएन। त्यो दिनको घटनालाई उनले लामो कथाको स्वरुप दिन चाहे। ११ हजार शब्द लेखे। पछि त्यो काट्टिएर एउटा भारतको  एउटा अंग्रेजी कथासंग्रहमा छापियो, तर आधा।

फेरि उनले तानतुन गर्दै समयक्रममा त्यो पुरानै कथा लम्ब्याउँदै गए र तयार भयो ६० हजार शब्द।

तयार भयो काठमान्ड्रुइड्सको पहिलो ड्राफ्ट।

पिटर दाइ रमाए। सुसेला हाले। चुरोटका केही प्याकेट रित्याए। छिमेकी चराहरुको गीतसँगै भाका मिलाए।

पिटर दाइको उपन्यासमा काठमान्डुको पछाडि जोडिएको ड्रुइड्स स्कटल्यान्डको एउटा जनजाति हो। सेल्टिक जाति। रोमन सिजरहरुको सेनाले पनि जित्न नसकेको। एस्टरिक्स नामको कमिक श्रृंखलामा पनि एउटा नामी ड्रुइड्स वैद्य छन्, गेटाफिक्स नामको।

त्यस्ता ड्रुइड्स काठमाडौँमा पनि नभएका होइनन् तर भ्रष्टाचार, जालझेल र गुण्डागर्दीको यो समयमा त्यस्ता ज्ञानी नेपालीहरु भेटिन मुस्किल छ भन्दै खुइय्य काढ्छन् पिटर दाइ।

लिच्छवी र मल्लकालमा ड्रुइड्सहरु थिए काठमाडौँमा पनि। काठमाडौँ आफ्नो माटोलाई अदभूतै माया गर्ने जातिको थातथलो हो भन्ने बताउन पाउँदा पिटर दाइका आँखा चम्किन्छन्।

पिटर दाइ काठमाडौँको गाथा सुनाउँछन्, ‘नेपालमण्डलको अदभूत कथा छ। अरनिको, भृकुटी, बुद्ध, तेन्जिङ शेर्पा, रामबहादुर लिम्बुहरुको कथा।’

त्यो काठमाडौँको गाथा उनले काठमान्ड्रुइड्समा लेखेका छन्। दुईवटा कथा छन् यसमा। काठमाडौँको आधुनिक व्यथा र नेपालको गौरवगाथा।

काठमाडौँको हालत यहाँका गुण्डाहरुले बिगार्दिएको उनी बताउँछन्। गुण्डाहरु कहाँ छैनन्? समाजमा, राजनीतिमा, कहाँ छैनन् गुण्डाहरु? उनीहरु सबैजना मिलेमतो गरेर काठमाडौँमा आफ्नो काम गराउँछन् र अरुको जिना हराम गरिदिन्छन्। साधारण नागरिकलाई यहाँ सास फेर्न पनि मुस्किल छ।

यही भद्रगोलराज पिटर दाइको उपन्यासको पहिलो भाग हो।

उनी उपन्यासमा सुरु विस्तार र अन्त्य हुनुपर्ने मान्छन्। कथा सुरु हुन्छ, अनि उत्कर्षमा पुग्छ र टुंगिन्छ। उनको कथामा त्यो छ- सुरु, विस्तार र अन्त्य।

‘आजकालका नेपाली लेखकहरुमा अन्त्य भन्ने चिजै हुँदैन,’ उनी हाँस्दै भन्छन्।

पिटर दाइ सन् १९६५ मा नेपाल पसेपछि दुई महिना वीरगञ्जमा बसे, स्कुल पढाएर। त्यसपछि १९६६ फेब्रुअरीमा उनी काठमाडौँ आइपुगेका हुन्।  तर ५२ वर्ष ४ महिनापछि पनि पिटर दाइ आफूलाई काठमाडौँबासी भन्ठान्दैनन्।

‘म आउटसाइडर हुँ। आउटसाइडर जब इन्साइडर हुन्छ उसले धेरै कुराहरु बढी राम्रो देख्छ, जो यहाँका बासिन्दाले देख्दैनन्।’

उनका लाप्चे पूर्वजहरु इलामबाट दार्जिलिङ पसेका हुन्। उनी दार्जिलिङबाट फेरि नेपाल पसेका छन्।

काठमाडौँ आएपछि उनले केमा काम गरेनन्! क्यासिनोमा काम गरे। सडकमा काम गरे। रेडियो नेपालमा काम गरे। रिसोर्टमा काम गरे। पर्यटन क्षेत्रमा काम गरे। टुरिस्ट गाइड पनि भए। कलेजहरुमा पढाए। पत्रपत्रिकाहरुमा काम गरे। तैपनि उनले काठमाडौँमा मित्र बनाउन सकेनन्।

‘परदेशमा मित्रहरु हुँदैनन्। काठमाडौँमा मेरो मिल्ने साथी एउटै भएन। कि त भुराहरु, कि त आफूभन्दा बूढाहरु मसँग मिल्छन्, सिके लालले पनि यसै भनेका छन्, उनको छोरीको पनि म पिटर दाइ हुँ,’ काठमाडौँ अझै उनका लागि परदेश नै भएको पिटर दाइ स्पष्ट पार्छन्। ‘नेवार श्रीमतीका नातासम्बन्धी छन् तर मेरा मित्रहरु छैनन् काठमाडौँमा,’ उनी मुस्काउँछन्।

उल्टै मलाई प्रश्न गर्छन्, ‘जस्तो तपाईँ नै मलाई भेट्न मेरो घरसम्म आउनुभयो तर मेरो मित्र होइन नि तपाईँ, मेरो भाइ हो नि तपाईँ।’

हो पनि, पिटर दाइको मित्र बन्ने मेरो हैसियत छैन। म उनको भाइ न हुँ!

काठमाडौँका प्राकृतिक दृश्य र सम्पदाभित्र हरेक चिज राम्रो देख्छन् उनी। काठमाडौँलाई प्रेम गर्छन्। यहाँको माटोलाई प्रेम गर्छन्। यहाँका कलाकृतिलाई प्रेम गर्छन्। यहाँको संस्कृतिलाई प्रेम गर्छन्।

काठमाडौँका बासिन्दाले चाहिँ काठमाडौँलाई हेर्छमात्र, देख्दैन। हेर्दा देखेको छ तर खासमा चाहिँ देखेको छैन। एउटा भ्रमपूर्ण सतही नजर।

काठमाडौँको व्यथामा नेपालको गरिमा पनि जोडेपछि काठमान्ड्रुइड्स तयार भयो।

त्यसपछि सुरु भयो कयौँ पुनर्लेखन अभियान।

उनकै भाषामा- नौ महिना, तीन ऋतु उनले बिहान साढे चार बजेदेखि साढे छ बजेसम्म अनवरत दुई घन्टा काम गरे। बल्ल सकियो पुनर्लेखन।

प्रकाशक खोज्न थाले। तर पाउन सकेनन्। नेपालमा अंग्रेजी किताबको प्रकाशक पाउन गाह्रै पर्छ। एक भारतीय सम्पादकले उनको उपन्यासको पाण्डुलिपी नै आफ्नो जिमेलबाट हराइदिए, क्या फसाद!

एकदिन विप्लव प्रतीकसँगको एक्कासी भेटमा पिटर दाइले नचिनेको भुपेन्द्र खड्कासँग चिनापर्ची गराइदिए।

एकदिन भुपेन्द्र खड्का आइपुगे उनको घरमा एकैचोटि कन्ट्र्याक्ट पेपरमा हस्ताक्षर गराउन। ढुंगा खोज्दा देउता मिल्यो पिटर दाइलाई। बुकहिलले उनको पुस्तक प्रकाशक गरिदिने भयो। त्यसमा सीके लालले चिनारी पनि लेखिदिएपछि त उनलाई सुनमा सुगन्ध थपिएझैँ भयो। पिटर दाइ त हावामै उडिहाले नि।

यसअघि उनले ४० बर्षभन्दा अघि लेखेको प्रत्येक ठाउँ प्रत्येक मान्छे पाठकहरुले निकै रुचाएका थिए। शंकर लामिछानेले त्यसमा भूमिका लेखिदिएको प्रसंग पनि निकै रोमाञ्चक र आनन्ददायी छ। यो उपन्यासले २०३४ सालको साझा पुरस्कार पाएको थियो।

पछि उनले त्यो नेपालीमा लेखिएको उपन्यास अंग्रेजीमा आफैँले परिमार्जनसहित अनुवाद गरेर प्रकाशन गरे। अंग्रेजी अनुवादमा उनले ६ च्याप्टर थपेका पनि छन्।

दार्जिलिङबाट स्नातक गरेका उनले काठमाडौँको त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स गरे २०२८ सालमा।

एमए पास गरेपछि उनले कलेजहरुमा पढाए। पढाउनु उनको रुचिकै विषय थियो। दार्जिलिङबाट बीएको परीक्षा सकेपछि उनी नेपाल छिरेकै वीरगञ्जको एउटा स्कुलमा पढाउन थियो।

एक दिन रमाइलो गर्न सँगै ज्ञानेश्वरको ‘वास: पस:’ मा जाँदा उनले आफ्ना संगीतगुरु अम्बर गुरुङलाई ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ नामक उपन्यास लेखिसकेको बताए। पछि उनको उपन्यासको पहिलो पाठक भए अम्बर गुरुङ।

अम्बरले पिटरको किताब पढिसकेर सुझाए, ‘यो किताबको भूमिका शंकरलाई लेख्न लगाउनुपर्छ, ऊ फर्केको छ अहिले।’

पिटरलाई लाग्यो- शंकर कतै विदेशबाट फर्केका हुन्। तर होइन रहेछ, उनी समाज र लेखनमा फर्केको कुरा पो गरेका रहेछन् अम्बर सरले। शंकर अर्थात शंकर लामिछाने।

‘जिनियसहरुको त कुरै बेग्लै,’ पिटर मुस्काउँछन्।

अम्बर सरसँग मिलेर शंकर दाइलाई भेट्न उनको घर पाटन गए पिटर। साथमा थियो सानो सगुन- आधा बोतल जावलाखेल भोड्का। जाडो याम थियो।

शंकर चिरिच्याट्ट परेर बस्ने मान्छे रहेछन्। घरमै सुट लगाएर बसिरहेका थिए।

केहीबेरको भलाकुसारीपछि उनले पिटरलाई भने, ‘हेर पिटर, म माधवप्रसाद घिमिरे, लैनसिंह वाङदेल, सूर्यबिक्रम ज्ञवाली, भवानी भिक्षुजस्ता औपचारिक भूमिका लेख्दिन। तीन वाक्यको भूमिका त म लेख्दिन, म लेख्दै लेख्दिनँ। जँच्यो भने म लेख्छु नत्र लेख्दिन है, भन्द्या छु। डन्ट माइन्ड है।’

पिटरलाई मन पर्‍यो। कुरा खाँटी थियो। अम्बर गुरुङ भने रिसले रातो भए।

पिटरले लगेको भोड्का एक पेग पनि नसक्दै शंकर दाइ त झुल्न थालिहाले। लिएर गएको आधा बोतलमध्ये बाँकी भोड्का अम्बर सर र पिटरले सिनित्त पारे। शंकर दाइको बानी नै रहेछ, थोरै खानेबित्तिकै पुर्लुक्क परिहाल्ने।

फर्कँदा अम्बर गुरुङ बाटाभरि रिसाए।

‘शंकरले यसो भन्न मिल्छ? तिम्रो यस्तो राम्रो किताबलाई यस्तो भन्न मिल्छ? उनले लेखेनन् भने मै लेख्छु तिम्रो भूमिका।’

पिटरले सम्झाए उनलाई।

१५ दिनपछि उनी र अम्बर सरलाई फेरि शंकर लामिछानेले भेट्न बोलाए। शंकर त बहुतै खुसी रहेछन्।

भने, ‘पिटरले नेपाली एकदमै राम्रो लेख्दोरहेछ, तर झुर पनि लेख्दो रहेछ।’

उनले थपे, ‘ठाउँठाउँमा तिम्रो तिलम्सी लेखन भयो। गुलबाकलीको कथाजस्तो। यसलाई पुनर्लेखन गर। म तिम्रो भूमिका लेख्ने भएँ।’

उचाल्दै, थचार्दै गरेपछि शंकर दाइको अन्तिम भनाइ थियो त्यो।

अंग्रेजीमा भनेका थिए शंकरले यो कुरा। भनेका थिए- आइ एम गेम विथ यु। तिमी जतिपटक लेख्छौ, त्यत्तिपटक नै म पढ्नेछु।

‘भूपि शेरचन, उत्तम नेपाली, तुलसी ढुंगेल, भीमदर्शन रोका, शंकर लामिछानेहरुको अंग्रेजी अदभूत नै थियो,’ पिटर अहिले पनि सम्झन्छन्।

त्यसपछि पिटरले पुनर्लेखन गरे। पुनर्लेखन गरे। पुनर्लेखन गरे। पुनर्लेखन गरे। पुनर्लेखन गरे।

पाँचपटक पुनर्लेखन गरेपछि उनलाई लाग्यो, ‘योभन्दा बढी अब यो किताबमा उनी केही गर्न सक्दैनन्।’

अनि उनी एक्लै शंकरलाई भेट्न गए। शंकरले उनको अन्तिम पाण्डुलिपी रुचाए र पास गरे। प्रत्येक ठाउँ प्रत्येक मान्छेमा यसरी आयो शंकरको भूमिका।

पिटर दाइले शंकर दाइलाई भने, ‘जतिपटक उपन्यास पुनर्लेखन गरे पनि दाइ तपाईँले यसमा कुनै सन्देश पाउनुहुन्न।’

शंकर दाइले पिटर दाइसँग आँखा जुधाएर टिलपिल पार्दै भने, सन्देश? सन्देश कसलाई? केलाई? पाठकलाई? पाठकहरु त झन् प्रबुद्ध भइसके।’

यो डाइलग उनको भूमिकामा पनि पढ्न पाइन्छ।

भारतमा त्यसबेला बीए पास गरेपछि मास्टर्स पढ्न वा जागिरको सुरसारका लागि १० महिना कुर्नुपर्थ्यो। त्यही दस महिना पिटरको जीवनमा टर्निङ प्वइन्ट भएर आयो।

उनी आफ्नो हिलियन्स ब्यान्डका सदस्य फुर्वा छिरिङ, रञ्जित गजमेर र अनुराधा गुरुङ (अहिले अनुराधा कोइराला) का साथ वीरगन्ज आइपुगे। तर, दुई महिनामै स्कुल सञ्चालकसँग तलबमा कुरा नमिलेपछि उनीसहित सातजना स्कुलका शिक्षकहरु काठमाडौँतिर हान्निए एक साँझ। र, अहिलेसम्म काठमाडौँमै बसिरहेछन् पिटर। लगातार। आउटसाइडर भएर।

काठमाडौँका इन्साइड हेरिसक्ने भए।

पिटर काठमाडौँ आइपुगेको ५२ वर्ष ४ महिना भयो।

यी पाँच दशकमा न पिटरले काठमाडौँलाई आफ्नो मान्नसके, न काठमाडौँले नै उनलाई आफ्नो मानेको छ। तैपनि उनी बसिरहेछन् यही सहरमा। यहीँको कथा लेखेर, यहीँको कथा बनेर।

सायद उनको यो यायावर जुनी अब काठमाडौँमै पूरा हुनेछ!

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?