के साँच्चै अमेरिका तपाईंले सोचेजस्तै छ?

के साँच्चै अमेरिका तपाईंले सोचेजस्तै छ?
+
-

यात्रा जीवन जस्तै हो । यात्रामा पनि कठिनाइ एवं आनन्द अनुभूति दुवै मिश्रित रूपमा अनुभव गर्न सकिन्छ । हाम्रो यसपालिको अमेरिकाको यात्रा दुबैखाले अनुभवहरूको सँगालो हो भन्दा फरक नपर्ला । छोराछोरी अमेरिका रहेका र दशैं तिहार उतैतिर मनाउने उनीहरुको चाहना मुताविक हामी दुई बुढाबुढी पनि चाडबाडको बेला विदेशीने नेपालीहरुको लर्कोेभित्र समाहित भयौं ।

अमेरिकाको घुमघाम हामीले न्यू जर्सीको न्यु पोर्टबाट सुरु गर्‍यौँ। विगतमा अस्ट्रेलिया, युरोप, चाइना, इण्डिया जस्ता देशहरुको यात्रा सँगसँगै गरे पनि यसपालिको अमेरिका यात्रा भने भिन्न रह्यो । मलाई डेंगु भएको ४ दिन मात्र भएको थियो । औषधि र खानपिनले थेग्दै अमेरिकाको लागि प्लेन चढियो। मन आत्तिएको थियो । तर सौभाग्यवश बीच बाटोबाटै ज्वरोले छोड्यो । काठमाडौंमा डेङ्गु फैलिएको त्यति धेरै वर्ष भएको छैन । सायद यो जलवायु परिवर्तनको असर होला ।

जलवायु परिवर्तनको असर भन्नेबित्तिकै मलाई अमेरिका पुग्नेबित्तिकै त्यहाँका चिल्ला बाटा र व्यक्तिगत रुपमा प्रयोग गर्ने असंख्य मंहगा गाडीहरूको याद आउँछ । अमेरिकामा सार्वजनिक गाडीहरु चढ्न पाउने कुरा विरलै रहेछ । अधिकांश मानिसका आ–आफ्नै गाडी हुँदा रहेछन् । वास्तवमा आधारभूत आवश्यकता मध्ये गाडी पनि एउटा हो जस्तो देखिन्छ । पेट्रोल प्रयोग गर्ने एउटा सार्वजनिक गाडीबाट जति कार्बन इमिसन हुन्छ, व्यक्तिले प्रयोग गर्ने गाडीले पनि लगभग त्यति नै गर्छ । अमेरिकामा यो कुराले चाहिँ मलाई धेरै अचम्मित बनायो ।

वासिङ्टन डिसी र भर्जिनिया जाने क्रममा बाटोमा यात्रा गर्दा देखिएका हरियाली र त्यसभित्र झकमक्क देखिएका राता पातहरुले भरिभराउ जङ्गल देख्दा लाग्छ, यो एउटा स्वर्गकै टुक्रा हो । अति रमणीय र मनमोहक ठाउँ रहेछ भनेर मैले कुराको सिलसिला शुरु गर्दा छोरी आंशिका भन्छिन्– अहिले त ठिकै छ तर अब हिउँ पर्न थालेपछि यी सबै बञ्जर, उजाड र विरक्तलाग्दो हुन्छन् । झन्डै ४–५ महिना त वनस्पति बिहिन जस्तो अवस्था हुन्छ। यसले पनि के देखाउँछ भने व्यक्तिगत गाडीहरुले यो अवश्थामा अझ बढी प्रदूषण बढाउँछ । यहाँको प्रदूषण घटाउने हो भने विद्युतीय गाडीहरूको अत्यधिक प्रयोग तथा सार्वजनिक गाडीहरु लाई महत्व दिन आवश्यक रहेछ ।

न्यूयोर्कका स्ट्याच्यु अफ लिबर्टी, ब्रुकलिन ब्रिज, म्यानहटन, जस्ता रमणीय ठाउँहरू खुब मजाले घुमियो । स्ट्याच्यू अफ लिबर्टी न्युयोर्कमा अवस्थित एक सानो टापु हार्बरमा रहेको विशाल सालिक रहेछ । तामाको यो मूर्ति १५१ फिट लामो छ, तर चौकी र आधारशिला मिलाएर यो ३०५ फिट अग्लो छ। २२ तला रहेको यस मुर्तिको मुकुटमा पुग्न ३५४ वटा घुमाउरो भर्यांङ उक्लन पर्नेरहेछ । अमेरिकाका विभिन्न आकर्षणमध्ये यो ठाउँ पनि एउटा हो जहाँ वार्षिक रुपमा ४० देखि ४५ लाख मानिसहरू आउने गर्छन् । त्यस्तै वन वर्ल्ड ट्रेड सेन्टर, जसलाई फ्रिडम टावर पनि भनिन्छ, न्यूयोर्क शहरको लोअर म्यानहट्टनमा पुनर्निर्माण गरिएको विश्व व्यापार केन्द्र परिसरको मुख्य भवन हो । पहिलो पटक वन वल्र्ड ट्रेड टावर पुग्ने मानिस आश्चर्य र उमङ्गले ननाच्ने कमै होलान् । यो ठाउँ पुगेपछि लाग्छ अधिकांश मानिसहरु जमिनभित्रै छन् न्यूयोर्कमा । सववे यात्रा गर्ने मानिसहरू धेरै हुँदा रहेछन् ।

ट्रेड टावर पुगेपछि हामीहरू सन् २००१ को ११ सेप्टेम्बरमा टुइन टावर ध्वस्त पारिएको क्षेत्रमा गयौँ र त्यहाँ मारिएका मानिसहरुको दिवंगत आत्माको चीरशान्तिको कामना गर्‍यौँ। साथसाथै म्यानहाटन का अन्य विभिन्न ठाउँहरु पनि अवलोकन गर्यौं । नदी किनारामा रहेको एउटा अति चलनचल्तीमा रहेको होटलमा गयौँ । आंशिकाले खानाको अर्डर गरिन् । खाना सारै स्वादिलो थियो । बेलुकाको समय, सरर चलिरहेको हावा, जुनेली रात, बेहुली झैैं सजिएको शहर साँच्चै नै आर्कषक र मन लोभ्याउने थियो । मिठो खाना टेबलमा आइपुग्दा मालाले र मैले खाना उठाउँदै खाएको दृश्य बडो गम्भीर ढङ्गले छोरी आशिका हेर्दै थिइन् । सायद उनलाई लाग्यो होला यो ठाउँमा, यत्रो ठूलो शहरमा, यति ठूलो होटल र यति रमणीय वातावरणमा म आफ्ना प्रिय बाबाआमासँग साथमा छु र यसको मजा लिइरहेकी छु ।

हामीले एकै दिन न्यूयोर्कको सेन्ट्रल पार्क र ज्याक्सनहाइटको यात्रा गर्ने अवसर पायौं । सेन्ट्रल पार्कमा पत्रकारद्वय मनोज दाहाल र गिरीश भट्टराईसँग अप्रत्याशित भेट भयो । उहाँहरू अमेरिकाको राष्ट्रपति चुनावसम्बन्धी एक कार्यक्रमका लागि अमेरिका आउनु भएको रहेछ । पार्कमा धेरै मानिसहरु घाम तापेर बसेको देख्न सकिन्थ्यो । गिरीशभाइले भन्नुभयो, ‘दाइ, रत्नपार्कमा भए पार्कमा कति धेरै बदामका खोस्टा र कागजका टुक्राहरु देख्न सकिन्थ्यो होला है । यहाँ हेर्नुस् त कति सफा छ यो पार्क ।’

त्यसै दिन हामी ज्याक्सन हाइट पनि यात्रा गर्यौं । जताततै फोहोर फालिएको अस्तव्यस्त ज्याक्सन हाइट पुग्ने बित्तिकै लाग्यो कि हामी न्यूयोर्कमा छैनौं । वास्तवमा त्यो ठाउँमा एसिया मूलका खास गरेर नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश जस्ता देशका मानिसहरूको बसोबास रहेछ । ठाउँ भन्दा पनि मानिसको मनस्थिति मुख्य कुरा जस्तो लाग्यो । मानिसको मानसिकता परिवर्तन नभएसम्म समाज रुपान्तरण नहुने रहेछ ।

अमेरिकामा अवसरहरु धेरै छन् । काम पाएर जसरी कमाइ हुन्छ खर्च पनि त्यही ढंगले हुँदोरहेछ । मानिसहरू अति व्यस्त हुन्छन भन्ने मैले सुनेको मात्रै थिएँ । तर वास्तवमा मेसिनजस्तै व्यस्त हुँदा रहेछन् यहाँ मानिसहरु । यही व्यस्तताभित्रको समय निकालेर बहिनी मन्सु मैनाली र ज्वाइँ रोलिसले हामीलाई न्युजर्सी र न्युयोर्कका विभिन्न भागहरू घुमाउनु भयो । घुम्ने क्रममा हामी बियर माउन्टेन स्टेट पार्क पनि गयौं । फर्केर आउँदा हामी न्यूजर्सी आउनु पर्ने तर बाटो भुलेर न्युयोर्कतर्फ पो लागेछौं । त्यसै दिन न्युयोर्कको टाईम्स स्क्वायर पनि घुम्ने अवसर पायौं ।

साँझको समय थियो । टाईम्स स्क्वायरमा मानिसहरु खचाखच थिए । लाग्थ्यो शिवरात्रिको दिन पशुपतिनाथको घुइँचो हो । वास्तवमा शिवरात्रि जस्तै देखिन्थ्यो त्यो ठाउँ । गाँजाको महक, कति ठाउँमा त युवायुवतीहरू नांगै हिँडेका र गाँजा तानिरहेका एवम् आफ्नै हिसाबले मानिसहरू मस्तीमा रमाइरहेका देखिन्थे । यसरी हेर्दा लाग्थ्यो मानिसहरुले स्वतन्त्रताको एउटा शिखर चुमिरहेका छन् । अमेरिकाका केही स्टेटहरुमा गाँजालाई कानुनी वैधता प्रदान गरिएको रहेछ । त्यस्तै गरेर सार्वजनिक स्थलहरुमा धुम्रपान गर्नु कुनै अनौठो कुरो मानिँदो रहेनछ । वास्तवमा अग्ला अग्ला गगनचुम्बी महलहरू र चिल्ला बाटा हरुको शहर भित्र पनि मर्म, दुख र पिडा उत्तिकै लुकेको हुँदो रहेछ । सडकका पेटीहरुमा पैसा माग्नेहरुको भीड देख्दा लाग्थ्यो के अमेरिका जस्तो देशमा यो सम्भव छ ? तर भिख माग्नेहरुको संख्या त्यहाँ पनि कम रहेनछ ।

नचिनेका मान्छेहरुको आमन्त्रणमा नजानेको ठाउँमा पनि हाम्रो यात्रा सम्भव रह्यो । मेरा गाउँका एकजना भाइ निलम बिमली जसलाई मैले चिनेको थिइनँ, उहाँले फोन गरेर अर्को एकजना मित्र डा. भेषराज मैनालीसँग परिचय गराउनुभयो । उहाँमार्फत पेन्सिलभेनियाको पिस पार्कमा हुन लागेको नेपाली समुदायको दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रम तथा पिकनिकमा भाग लिने अवसर जुर्‍यो। यो अवसरमा मैले नेपाली समुदायले अमेरिकामा के कसरी चाडपर्वहरुलाई मनाउने गरिएको भन्ने बुझ्ने अवसर पाएँ । यो जमघटमा लगभग डेढ सय जना नेपाली समुदायको उपस्थिति थियो । ९० वर्षका बयोवृद्ध बा देखि लिएर ३–४ वर्षका ससाना नानीहरुसँग पनि भेटघाट हुने अवसर जुर्‍यो। कुराकानीको सिलसिलामा के कुरा थाहा भयो भने बुढापाकाहरुलाई अमेरिका साँच्चै कहिलेकाहीँ कष्टकर पनि बन्दो रहेछ । कुनै ठाउँ अर्थात् पसल पुग्नुपर्‍यो भने अरुको उपलब्धतालाई कुर्नु पर्दो रहेछ । कहिलेकाहीँ टेक्नोलोजीसँग राम्रो तारतम्यता नमिल्दा खेरि र क्यास पैसा नचक्दा आफुले चाहेको ठाउँमा जान नसक्ने र चाहेका चिजहरु वा वस्तुहरु किन्न नसक्ने अवस्था हुँदो रहेछ ।

नेपालमा जस्तो गाउँघर चाहर्ने, साथीभाइहरूसँग भेटघाट गर्ने र आफ्नो मनका कुराहरु एक आपसमा साटासाट गर्ने अवस्थाहरु पनि कमै हुँदो रहेछ। वास्तवमा भन्नुपर्दा उहाँहरु घरैमा बस्नुपर्ने र अझ बढी जाडोको समयमा त बस्दा बस्दा डिप्रेसन नै पो होला जस्तो हुन्छ भन्ने कुराहरु पनि गर्नुहुन्थ्यो । ससाना बालबालिकाहरु नेपाली भाषा बुझे पनि नेपाली भाषा बोल्न त्यति मन नपराउने वा नसक्ने र विद्यालयमा पढाइ हुने अंग्रेजी भाषा नै राम्रोसँग त्यहीँको लबजमा बोल्न सक्ने देखिन्थ्यो । यसले देश के देखिन्छ भने भविष्यमा नेपाली बालबालिकाले नेपाली भाषा राम्रोसँग बोल्न सक्ने छैनन्, नेपाली भाषामा भाका फेरीफेरी गीत गाउने कुरा त धेरै टाढाको कुरा हुनेछ ।

न्युजर्सीको बसाइमा युएन सिस्टमभित्र काम गर्दाका समयका मेरा प्रिय मित्रहरुसँग पनि भेटघाट हुने अवसर जुर्‍यो। यसै क्रममा हाल यूएनडीपीमा कार्यरत कृष्ण लामिछाने तथा यूएनएफपिएमा पोलिसी सेक्सनको चिफको रुपमा कार्यरत डा. सत्यनारायण दोराई स्वामीसँग पनि भेट गर्ने अवसर जुर्‍यो। उहाँहरु दुवैजना नेपालमा छँदा युएनडिपी तथा यूएनएफपिएमा कार्यरत हुनुहुन्थ्यो । कृष्णजीले आफ्नो घरमा हामीलाई पारिवारिक भेटघाट र लञ्चको लागि आमन्त्रण गर्नु भएको थियो । सोही समयमा डा. सत्यनारायण दोराई स्वामी पनि त्यहाँ आउनुभयो । साह्रै राम्रो ढंगले हामीले पुराना कुराहरु सम्झियौँ, बिगतलाई अन्तर हृदयदेखि नै सम्झियौं । सामीप्यको साटासाट गयौँ र प्रसन्न मुद्रामा बिदा भयौं । कृष्णजीले पुन: मलाई संयुक्त राष्ट्र संघको मुख्यालयमा घुम्नको लागि आमन्त्रण गर्नु भएको थियो र सोही बमोजिम म त्यहाँ पनि गएको थिएँ । वास्तवमा सोचेभन्दा पनि कता कता राम्रो रहेछ मुख्यालय । मुख्यालयभित्रका विभिन्न सेमिनार हलहरु देखि लिएर अन्य धेरै कुराहरुको अवलोकन गर्ने अवसर जुर्‍यो। साथसाथै समुद्रको तटमा रहेको सो मुख्यालय को खाजाघरमा बसेर रमाइलो दृश्य हरु को अवलोकन गर्दै खाजा खाने अवसरका लागि कृष्णजीलाई धेरै धन्यवाद!

अमेरिका घुमाइको सिलसिलामा हामी मायामी पनि गयौं । मायामी त साँच्चै नै जादुमय शहर रहेछ । मायामी इन्टरनेशनल एयरपोर्टबाट ओर्लिएर हामी सिधै होटलतर्फ गयौँ । होटल प्रवेशको लागि पनि अमेरिकामा गज्जबको समय दिएको हुँदो रहेछ । हामीले ३ बजेमात्र होटल प्रवेश पाउने अवस्था थियो । अमेरिकामा प्रायजसो ११ बजे चेक आउट र ३ बजे चेक इन गर्ने चलन रहेछ । हामी साढे १० बजे नै मायामी पुगिसकेको हुनाले छोरी आंशिकाले होटलको नजिकै राम्रो गार्डेन छ, त्यही गएर आराम गर्नुपर्छ भनिन् । तर एकचोटी चाहिँ होटलमा गएर केही पैसा थपेर अर्ली इन्ट्री दिन्छ भने त्यसो किन नगर्ने त भनेर होटल नै गयौँ र अलिकति कुरा गरिसकेपछि प्रतिदिन ६० डलर थपेर राम्रो भ्यु देख्न सकिने कोठा दिन्छु भन्ने कुरा भएपछि पहिल्यै बुक भए भन्दा नयाँ कोठा हामीलाई उपलब्ध गराइयो । होटल इन्टरकन्टिनेन्टल को  ३४ औँ तलामा रहेको अति राम्रो भ्यू देख्न सकिने कोठामा हामी जब प्रवेश गर्‍यौँ, तब वास्तवमा साह्रै गजबको अनुभूति भयो । झ्यालबाट बाहिर हेर्दा देखिने दृश्य अति नै मनमोहक एवम् रोमाञ्चकारी  थियो । समुद्रको तटमा रहेको होटल भएको हुनाले समुद्रमा आवतजावत गर्ने विभिन्न किसिमका जहाजहरू र समुद्र तटमा रहेका गगनचुम्बी महलहरुको दृश्य देख्दा आनन्दको त सीमा नै थिएन नि । २ दिनको बसाइमा यहाँबाट देखिने दृष्य टिकटकमा, फेसबुकमा तथा अन्य सोसल मिडियाहरुमा कैद गर्नको निम्ति हामीलाई बडो हम्मेहम्मे नै पर्‍यो।

आजको हाम्रो योजना केहीबेर आराम गर्ने र मायामी बिचमा गएर रमाउने रहेको थियो । केही समय आराम गरेपछि हामी मायामी बीचतर्फ लाग्यौं । मौसम सफा थियो । चिसो हावा समुद्र तटमा चलिरहेको थियो । मानिसहरु समुद्र बीचमा रमाइरहेका थिए । हामी पनि तिनै मानिसहरूको भीडभित्र मिसियौं । समुद्रको छालमा पौडी नखेले पनि पानीको छेउछाउमा फोटाहरु खिच्ने र अन्य मानिसहरू जस्तै रमाउने काम गर्यौं । हेर्दाहेर्दै समुद्रको क्षितिजबाट हल्का बादलहरु उठ्दै आए । एकैछिनमा हावाहुरीसहित बडो बेतोडसँग पानी पर्न थाल्यो । हामीहरु पुन होटलमा फर्कियौं । अब कुरा आयो के खाने भन्ने । छोरी आंशिकाले साउथ एशियन त्यसमा पनि नेपाली इन्डियन होटलहरु छन् कि भनेर अनलाइनमा खोजी गरिन् । हामी बसेको होटलबाट १०/१५ मिनेट हिँडेपछि बंगाली इन्डियन खाना खाने होटल पत्ता लाग्यो । र, हामी त्यसतर्फ गयौं । आफूले चाहे अनुसारको नेपाली इण्डियन खाना खायौं ।

वास्तवमा इन्डिया तथा बंगलादेश लगायत यस भेगका मानिसहरूको खानाका स्वादहरु एउटै जस्तो हुन्छ । त्यस कारणले हामी एकआपसमा बढी नजिकिँदा रहेछौ । अर्कोतिर हाम्रो धर्म, संस्कार संस्कृति त छँदैछ । अमेरिकाका जुनसुकै ठाउँमा गए पनि हामीहरुले कl त नेपाली इण्डियन नभए स्थानीय खाना खाने प्रयास गर्‍यौँ। यहाँनेर मलाई भन्न मन लागेको खास कुरा के हो भने हाम्रो देशको पर्यटक व्यवसाय प्रगति गर्न होटल ब्यवशायमा दुइटा कुरालाई ख्याल गर्नुपर्ने रहेछ । कि त स्थानीय खाना जस्तो इन्डियामा साउद इन्डियन, पञ्जाबी, बङ्गाली, महाराष्ट्रियन लगायत बिभिन्न ठाउँका आ आफ्नै प्रकृतिका खानाहरू पाइन्छ त्यस्तै नेपालका पनि विभिन्न भेगमा खाइने खानाहरु यदि हामीले पस्कन सक्यौं भने पर्यटकहरु आकर्षित हुने रहेछन् र दोस्रो कुरा भनेको कि त उनीहरुले उनीहरुको आफ्नै ठाउँको खाना रोज्दा रहेछन् । नेपालको पूर्वीभाग इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायत देशका बिभिन्न क्षेत्रहरुमा अति रमणिय पर्यटकीय क्षेत्रहरू हुँदाहुँदै पनि होटल व्यवसाय राम्रो ढंगले अगाडि बढ्न नसक्दा अधिकतम् पर्यटकहरु भित्र्याउन सकिएको छैन । बाह्य तथा आन्तरिक पर्यटकहरुलाई भित्र्याउन होटलहरुले गर्ने व्यवहार र दिइने खाना नै प्रमुख हुँदोरहेछ ।

मायामीको दुईदिने बसाइमा समुद्री यात्रा वा भनौं क्रुजमा यात्रा गर्ने अवसरलाई पनि हामीले प्रयोग गर्यौं । यसरी क्रुजमा यात्रा गर्दा टुरिष्ट गाइडले समुद्र तटमा संसारभरिका ख्याति प्राप्त र धनीमानी व्यक्तिहरुले बनाएका घर तथा त्यसको मूल्यको बारेमा पनि कुरा गरे । उनीहरुको घर समुद्रभित्र टापुमा सामुद्रिक तटहरुमा थिए । साथसाथै उनीहरूका आफ्ना साना साना पानी जहाजहरू अर्थात् हेलिकप्टरहरु राख्ने व्यवस्थाहरू पनि देखियो । यसरी हेर्दा के लाग्छ भने मानिसले धेरै कमायो अर्थात् धेरै प्रगति गर्‍यो आनन्द चाहन्छ । प्रकृतिको निकटता चाहन्छ । वास्तवमा यो कुरालाई भित्रैबाट मनन गर्ने हो भने मानिसले गरेको यान्त्रिक एवम् विभिन्न भौतिक विकास हरुको साथसाथै प्रकृतिको निकटता र प्रकृतिको काख लाई पनि उत्तिकै महत्व दिएको देखिन्छ । त्यसकारण मलाई नेपाली भएकोमा गर्व लाग्छ । हाम्रो देश साँच्चै नै सुन्दर, अति सुन्दर र रमणीय छ । प्राकृतिक रुपले, भौतिक पूर्वाधार तथा आजको सूचना तथा प्रविधिको युगमा हामी साँच्चै नै भाग्यमानी छौ । हामी प्रकृतिको काखमा ती कुराहरुलाई पनि प्रयोग गरिरहेका छौँ । तर फरक यति मात्र हो हामी अझ बढी सामाजिक छौ, सहयोगी छौँ, दिमागले भन्दा पनि हृदयले बाँचेका मान्छेहरु हौं । सामाजिक प्राणीको रूपमा आफूलाई विकास गरेका छौं र हामी विकसित मुलुकका मान्छे जस्तो यान्त्रिक जीवन जिइरहेका मान्छे होइनौ र यसमा मलाई गर्व गर्न मन लाग्छ । अनि फरक यो पनि हो कि हामीले अवसरहरुको सृजना गर्न सकिरहेका छैनौं । हाम्रो देशको चौसठ्ठी प्रतिशत जनसङ्ख्या एक्टिभ एज पपुलेशन अन्तर्गत पर्दछ । यसको आधारमा भन्ने हो भने हामी अहिले स्वर्णिम युगमा छौं । तर दु:खका साथ भन्नुपर्छ यो जनसङ्ख्या विदेशिने क्रममा छ । देशको भविष्य निर्माणमा यो जनसंख्या राम्ररी प्रयोग हुन सकिराखेको छैन। यसले गर्दाखेरि भविष्यमा ठूलो संकट आउने सम्भावना देखिन्छ । मानिसहरुको बुढ्यौली अवस्थामा सहयोग गने परिवारका सदस्यको कमी हुनेछ र जीवन कष्टकर हुने कुरामा संदेह छैन् । हाम्रो देशको भौगोलिक अवस्थिति र प्राकृतिक सुन्दरता हेर्दा मलाई लाग्छ के साँच्ची नै हामी सुनको कचौरामा भिख त मागिरहेका छैनौं ?

मायामीको २ दिनको बसाइ अभूतपूर्व रह्यो । मायामी पछि हामी ड्यालस  गयौँ। डाउन टाउनको होटल क्राउन प्लाजामा बास बस्यौं । यो अमेरिकी ३५औं राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको ठाउँबाट नजिकै पर्छ । बिहान ९ बजे तिर मेरा मितछोरा दिपेन अधिकारी हामीलाई लिन होटल आइपुगे । छोरा अभिषेक, छोरी आंशिका साथै हामी दुई बुढाबुढी फोटवर्थतर्फ लाग्यौँ। बाटामा पशुपतिनाथ मन्दिर दर्शन गर्‍यौँ। भाइटिकाको अघिल्लो दिन भएकाले आज आर्लिंगटनमा मोमो फेस्टिभल रहेछ । मोमो गिरी अथवा प्रदीप गिरीले आयोजना गर्दै आउनु भएको यो फेस्टिभल प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाइँदो रहेछ ।

यस वर्ष पनि अन्जु पन्त, प्रमोद खरेल लगायतका गायकहरुले प्रस्तुति दिने कार्यक्रम रहेछ । हामी पनि उक्त कार्यक्रममा सहभागी भयौं । वास्तवमा तिहारको रमझमभित्रको यो कार्यक्रम नेपाली संस्कृति र परम्परालाई चिनाउने हिसाबले अति राम्रो लाग्यो । तर मेरो विचारमा मोमो फेस्टिभल भन्दा पनि हाम्रो आफ्नै संस्कृति संस्कारका पक्षलाई ध्यान पुर्‍याएर कार्यक्रमको नाम अरु केही राख्दा अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ । कार्यक्रम खुब रमाइलो भयो । नेपाली समुदाय लगायत स्थानीय मानिसहरूको पनि ठूलो भिडभाड देखिन्थ्यो । वास्तवमा यो कार्यक्रममा गएपछि मलाई लाग्यो नेपालीहरुको जीवन अमेरिकामा कसरी गुज्रिरहेको र कसरी नेपालीहरु रमाउने गर्छन्, खुशी साट्ने गर्छन् भन्ने कुरा प्रष्ट देख्न सकिन्थ्यो । व्यस्तता यहाँको जीवनशैली नै हो । तर पनि चाड पर्वलाई नेपालीहरुले मनाउने शैली देख्दा वास्तवमा आफ्नोपन संसारको जुनसुकै कुनामा रहे पनि रही रहँदो रहेछ । तिहारको भाइटीका सम्पन्न भएपछि हामी पनि बिछोडको पीडावोध सहित भारी मनले गन्तव्य तर्फ लाग्यौँ । छोरा अभिषेक लुजियाना टेक युनिभर्सिटी तर्फ लागे भने हामी न्यूयोर्कतर्फ बाँडियौँ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?