निबन्ध

कलम चोर

कलम चोर
+
-

त्यसबेला म सानो थिएँ । यति सानो कि सानो भन्न पर्याप्त थिएँ । त्यही सानो भएको मौका छोपेर एक दिन मैले टेबलमाथिबाट सरको अत्यन्त सुन्दर कलम चोरेँ । यहाँ म भनेको म होइन । तपाईं हुन सक्छ । तपाईंहरू हुन सक्छ । ऊ हुन सक्छ । उनीहरू पनि हुन सक्छन् । प्रथम पुरुष, द्वितीय पुरुष, तृतीय पुरुष, एकवचन, बहुवचन जे पनि त हो ।

मैले सरको सुन्दर कलम चोरेँ । यहाँ ‘गुरु’ लाई ‘सर’ भनिएको हो । यहाँ गुरु र सरलाई आवरणको विषमतामा होइन, गुणात्मक समरूपतामा हेर्दै छु म । अङ्ग्रेजी भाषाको व्याप्तीकरणसँगै गुरुहरू पनि ‘सर’ हुनुभयो । यसमा सङ्कोच मान्नुपर्ने केही छैन ।

समय भनेको वृत्त हो । घडीको घुमाइ वृत्ताकार हुन्छ । पृथ्वीको घुमाइ वृत्ताकार हुन्छ । सबै रोटेपिङ झैँ फनफनी घुम्छन् । आमाले बनाएको सेलरोटी कल्लीजस्तै गोलो नहुँदा म खिन्न हुन्थेँ । वृत्त भनेको प्रारम्भसँग अन्त्यको मेल हुनु हो । परिधि भनेको समय हो । भरोसा गर्नोस्, वृत्तयात्राका ‘सर’ हरू एकदिन फेरि ‘गुरु’ हुन सक्छन् । यसमा आश्चर्य मान्नुपर्ने केही छैन ।

यहाँ गुरुको कलम चोरिएको छ– सरको कलम– मास्टरको कलम– टिचरको कलम । कुरा एउटै हो । सरको कार्यकक्षको वर्णन नाटकको दृश्यमा झैँ गर्नुपर्दैन । अनुमान सहज छ– कलम चोर्दै गर्दा कार्यकक्ष एक्लै थियो । कापी–किताब, कागजपत्र, टेबल–कुर्ची सबै निर्जीव वस्तुहरूको मालिक भएर एक्लै बसेको थियो कार्यकक्ष । बरु उल्लेखनीय दुईटा कुरा थिए टेबलमा– एउटा बिर्को बन्द नगरेको चोरिनयोग्य कलम र अर्को सर्को तानेर धुवाँ उड्दै गरेको एस्ट्रेमाथिको सिगरेट । त्यसबेला सिगरेट भलाद्मीहरूको शोभा हुने गथ्र्याे । मलाई कर्कलाको डाँठजस्तो त्यही ढुङ्‌ग्रे कलम अति आकर्षक लागिरहेको थियो ।

कहिल्यै कलम नदेखेको भएर पनि होइन, कहिल्यै कलमले नलेखेको भएर पनि होइन । कारण बेग्लै छ । बताउँला ।

बाल्यकालमा स्कुलमा साथीहरूसँगसँगै बस्दा कलम, ज्यामिति बाकस, झोलालगायत सबैथोक दाँजिने, प्रतिस्पर्धा गरिने, ईष्या गरिने र अन्त्यमा प्रतिष्ठामा गएर ठोकिने गर्थे । सबैभन्दा ईर्ष्यालु र प्रतिस्पर्धी समय नै बाल्यकाल हो ।

साथीहरूसँग जस्तै मसँग पनि एउटा कलम थियो । राम्रै थियो । घरीघरी भुइँमा झर्दा मसिनो धर्साझैँ चर्किएको थियो मसी भर्ने ढुङ्ग्रो । लेख्दा मसी रसाउँथ्यो र सिँगाने बालकको नाकझैँ हात ओसिलो र निलाम्मे हुन्थ्यो । त्यही हातले यताउति मुसार्दा अनुहार सिँगारिन्थ्यो । ओठमाथि जुँगा बन्थ्यो । गोजीमा कलम राख्दा कमिजमा नीलाम्बरको टुक्रा बन्थ्यो । जता छोयो उतै ल्याप्चे लाग्थ्यो । साँझ घर पुग्दा हुलिया तमसुकझैँ हुन्थ्यो ।

जतिसुकै मैलोधैलो, टाटेपाङ्ग्र भए पनि बाल्यकाल नै सबैभन्दा स्निग्ध जीवनकाल रहेछ ।

कुरा गर्दागर्दै प्रसङ्ग टाढिन सक्छ । सरको कलम मैले चोरेको थिएँ । म अर्थात् … ?

चोर्नु पनि एउटा अदाकारी हो । कसैले आँखा जुधाएर चोर्छन्, कसैले आँखा झुकाएर चोर्छन् । कसैले मुस्कुराएर चोर्छन्, कसैले ठुस्किएझैँ गरेर चोर्छन् । बाटो ढुकेर चोर्छन्, बाटो पछ्याएर चोर्छन् । निदमा चोर्छन्, सपनामा चोर्छन् । भोक, सुर्ता, रहर सबथोक चोर्छन् । यी चोरीका प्रकृतिप्रदत्त सीप र कला हुन् । यो चोरी एउटा आकर्षक र अनायासै खेलिने रमणीय खेल हो । यसमा चोर्ने र चोरिने दुवैको मन फुरुङ्ग हुन्छ, नाचुँनाचुँझैँ गर्छ । नाफा र नोक्सानबेगरको सट्टेबाजी हो यो चोरी । तर, कलम चोर्दा मप्रतिको भरोसा सदाका लागि चोरिन सक्छ । मेरो आचरण सदाका लागि क्षयीकरण हुन सक्छ । तर, म सानो थिएँ । यति सानो कि सानो भन्नलाई पर्याप्त । त्यसैले मेरा लागि चोर्नु भनेको त्यो कलम प्राप्त गर्ने अभिलाषासिवाय अरू केही थिएन ।

यतिका वर्षमा पनि यो कलमले मलाई नयाँ केही लेख्न सिकाएन, दुवोझैँ फैलिने रहरलाई निचोरिदियो । दुई र दुईको योग चार नै लेख्न लगाउँछ । त्यसमा नयाँ के छ ? सूर्यको दैनिक उत्थान र पतनको कथा लेखाउँछ; त्यसमा नयाँ के छ ? हावाले उडाउँछ, पानीले बगाउँछ; आगोले पोल्छ, हिउँले टोक्छ भनेर सिकाउँछ । भन्नुस् त्यसमा नयाँ के छ ? आकाशको उचाइ लेख् भन्छु, यो तारा गन्न लगाउँछ । तारा मेरी आमाको निधारको टिकीझैँ रातो किन छैन ? यो बोल्दैन ।

मैले कलम टिपेँ । हात पछाडि लगेर लुकाएँ । अब कलम लुक्यो– सुतुरमुर्गले बालुवामा टाउको गाडेर लुकेझैँ । अब कसैले देख्दैन । भाग्नलाई फरक्क फर्किएँ । सर ठिङ्ग उभिनुभएको रहेछ । तर, घुमेपछि मेरो हात फेरि पछाडि भयो । कसले देख्ने ? म लुरुलुरु भागेँ ।

म ढुक्क छु – सरले केही पनि देख्नुभएन । यो कलम चोरिनु मेरा लागि कुनै मनोविनोदको खेल थिएन । त्यहाँ म एक्लै थिएँ, गुप्त रूपमा, चाल मारेर… । म अझै आश्चर्यमा छु– त्यसबेला सरले मलाई किन समाउनुभएन ? किन दण्डित गर्नुभएन ? अथवा, कलम मात्रै पनि किन खोसेर लैजानुभएन ?

के मलाई अबोध बालक ठानेर हो ? या त्यस कलमप्रतिको मेरो तीव्र अभिलाषा बुझेर हो ?  अचेल बल्ल म सुँघ्दै छु कोठाभित्र उडेको सिगरेटको धुवाँको गन्ध । अचेल बल्ल महसुस गर्दै छु बाक्लो पावरदार चस्माभित्र सरका बलढेङ्ग्राजत्रा आँखाको भय । अचेल बल्ल गोडा लुगलुगाउँछन्, मुटु दोलकझैँ हल्लिन्छ । उफ् ! त्यसबेला त कलम मैले पछाडि लुकाएको मात्र थिएँ, चोरेको कसलाई थाहा ?

हुन पनि यो चार थोपा मसी भरेर लेखिने साधारण ढुङ्ग्रोलाई मैले त्यसबेला के दिव्य अस्त्र नै ठानेहुँला कि वैरीजतिलाई ‘ॐ स्वाहाः’ गर्न सक्ने ? न यो जमिनका भित्री तहसम्म जरा धसेर घामपानीको प्रताप सहेर ठडिएको छायाँदार वृक्ष हो, न कुनै प्राणधारी प्राणी । वास्तवमा त्यही कलमले मेरा सरले मेरा कापीमा जब केही लेखिदिनुहुन्थ्यो, उहाँका ती ऐँसेलुका दानाजस्ता बाटुला अक्षर, कुमालेको चक्रमा घुमाएर बुट्टा काटिएझैँ लाग्ने चिटिक्कका बुट्टेदार अक्षर देख्दा मलाई पनि त्यस्तै अक्षरको लोभ पलाउँथ्यो मनभरि । त्यति राम्रा अक्षर खिप्न भएभरको श्रेय त्यही कलमलाई जान्थ्यो । सिँगान बगाउँदा–बगाउँदै आयु निस्किन लागेको मेरो कलमले त्यस्ता अक्षर लेख्नै सक्दैन भन्ने मेरो अटल विश्वास ।

कहिलेकाहीँ विद्यालयमा जादुवाला मनोरञ्जन गराउन आउँथ्यो । हामी आँखा झिम्क्याउन बिर्सेर उसको जादु हेर्थ्यौँ। रित्तो बट्टाको वरिपरि जतासुकै एउटा मसिनो छडी घुमाएर ऊ फुत्त परेवा निकाल्थ्यो र उडाइदिन्थ्यो । हामी छक्क पर्थ्यौँ। चकलेट झिकेर हामीलाई गुलियो पारिदिन्थ्यो । हामी त तन्मयका साथ हेरेकोहेरै हुन्थ्यौँ ।

हामी वुद्धु थिएनौँ, बालक थियौँ । मन विचरण गर्ने दुनियाँको ब्यासार्ध सानो थियो । मलाई लाग्थ्यो सरको कलम पनि त्यही जादुवालाको छडीजस्तै हो जसमा सम्पूर्ण क्षमता अडिएको छ । म के जानौँ छडीको निरीहता ? सबै कौशल र चतुर्‍याइँ जादुवालामा निहित थियो । मलाई त्यही जादुमयी कलम प्राप्त गर्ने अभिलाषा थियो ।

मलाई यति बुझ्न कठिन थियो कि कलम अक्षर कुँद्ने औजार मात्रै हो । वाणीको स्थायी रूप अक्षरहरूको सङ्गम हो । वाणी ज्ञानसरिता हो । ज्ञान, भावना र विचारहरू खोलाझैँ बगेर वाणीमा प्रवाहित हुन्छन् । अक्षरले ती वाणीलाई काफलझैँ टिपेर पातको सोलीमा संगृहित गरी  कालजयी बनाउँछन् र हावामा विलीन हुनबाट जोगाउँछन् । म बालकै छँदा एकजना गन्धर्व दाइले एउटा सिन्काले आँगनको भुइँमा ‘क’ लेखेर धुलोले पुरिदिए र मलाई सोधे, “बाबु, यो के भयो ?” म बोल्नै सकिनँ ।

उनले आफैँ भने, “कपुरी क भनेको यही हो ।” मेरो कान्छोबुबा हाँस्नुभयो, “यिनलाई के थाहा !”

मलाई आजपर्यन्त थाहा छैन ‘कपुरी क’ को सान्दर्भिक र लाक्षणिक अर्थ के हो ? मैले बोल्ने भाषाको पहिलो अक्षरका जनक वा जननी को हुन् ? ‘क’ को पहिलो आकृति कसले कोर्‍यो ? म अरूले निर्माण गरिदिएको ज्ञानतङ्खवको पहिलो अक्षरलाई सुन्दर पारेर लेख्न नजान्नाले गुरुको कलम चोर्न उद्यत छु । सानै छँदा हो चित्र देखेको वाल्मीकिले प्वाँखको चुच्चोले रामायण लेख्दै गरेको । ज्योतिषीहरूले धुलौटोमा सिन्काले यस सौर्यमण्डलको भविष्यको जोडघटाउ गरेको पनि देखेको ।

प्वाँख होस्, सिन्का होस्, निगालोको सुइरो होस्, ठुलाठुला ग्रन्थ रचिए यस्तै औजारले । मानिस वाल्मीकि भए, व्यास भए, बुद्ध भए, महाकवि कालिदास भए ।

चाणक्य, कौटिल्य, भाष्कराचार्य भए । सेक्सपियर, टैगोर, देवकोटा भए । ती कलमरूपी औजारहरू ठुटा भए त के भो ? कलम समाउने हातहरू चिरायु भए ।

हे गुरुदेव ! तपाईंको बहुमूल्य कलम चोर्ने मेरो उद्वेगलाई क्षमा गर्नुहोस् र यो कलम फिर्ता लिनुहोस् । कलम फिर्ता गर्नाको कारण मनासिब छ ।

यतिका वर्षमा पनि यो कलमले मलाई नयाँ केही लेख्न सिकाएन, दुवोझैँ फैलिने रहरलाई निचोरिदियो । दुई र दुईको योग चार नै लेख्न लगाउँछ । त्यसमा नयाँ के छ ?

सूर्यको दैनिक उत्थान र पतनको कथा लेखाउँछ; त्यसमा नयाँ के छ ? हावाले उडाउँछ, पानीले बगाउँछ; आगोले पोल्छ, हिउँले टोक्छ भनेर सिकाउँछ । भन्नुस् त्यसमा नयाँ के छ ? आकाशको उचाइ लेख् भन्छु, यो तारा गन्न लगाउँछ । तारा मेरी आमाको निधारको टिकीझैँ रातो किन छैन ? यो बोल्दैन ।

मृत्यु शाश्वत सत्य हो भन्छ । त्यसमा पनि नयाँ के छ ? त्यसमा आनन्द कहाँ छ ?

आनन्दबिनाका सबै सत्य मिथ्यासरह निरस छन् । सृष्टि विशालतम छ– अझ भन्नोस् अपरिमेय छ । यो कलमले छुन नसकेका विषयहरू धेरै छन् । कति हो कति छन्। छुनुपर्छ नयाँनयाँ तारापुञ्ज । तर, आजपर्यन्त यसले मलाई ‘कपुरी क’ मै अल्झाइरह्यो ।

यो कलम फिर्ता होस् गुरुदेव ! यसो गर्दा तपाईंको अनादर गरेको नठहरियोस् । म मनुष्यलोकका यावत् सद्गुणहरूको उपासक हुँ । तपाईंको अनादर किमार्थ सह्य छैन । तर, म उतार्न चाहन्छु मेरा आँखाबाट ती पावरदार चस्मा र त्यो सिगरेटको धुवाँ ।

यतिन्जेलको समय यहीँनेर टुङ्गियोस् जसरी सकिन्छ धर्को तान्दातान्दै कलमको मसी । नयाँ घडी टिक्टिक् गर्न थालोस् । म मान्छेलाई झुक्किएर देवता भनिदिन्छु, तपाईं देवतालाई झुक्किएर मान्छे भनिदिनुहुन्छ । यही झुक्किएको धर्सोले छुट्याएको छ देवता र मान्छे । यही विचित्रको सिमाना कोर्छ तपाईंको कलमले । यसले मलाई कालिदास बनाइदिउँला भनिरह्यो र सेवक बनायो ।

यो कलम अब चोरिनयोग्य लागेन । गुरुको कलमप्रतिको मोहभङ्ग र भरोसाको अवसानको डिलमा पुगेको छु म । मलाई लाग्यो एउटा नयाँ कलमको आविष्कार हुनु जरुरी छ जसले पुरानो केही नलेखोस्, केवल नयाँ नै नयाँ लेखोस् । यस्तो आनन्द लेखोस् कि सबै शाश्वत सत्यहरू मिथ्या हुन् भन्ने लागोस् । केही यस्तो लेखोस् जुन सर्वथा नौलो होस् ।

इति ।

(शर्मा लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल हुन्।)

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?