अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका उर्जा केन्द्र ध्वस्त पार्ने चेतावनी दिएको केही घन्टामै इरानले खाडी देशका उर्जा क्षेत्रलाई निशाना बनाउन थालेको छ। पछिल्लो पटक दुबईनजिकै एक भरिएको र ठूलो ‘तेल ट्यांकर’ मा इरानले आक्रमण गरेसँगै तेलको मूल्य केहीबेरमै आकाशिन पुगेको थियो।
मंगलबार बिहान इरानले दुबईनजिकै कच्चा तेलले भरिएको ठूलो ट्यांकरमा आक्रमण गरी आगो लगाइदिएको थियो। यो आक्रमण त्यतिबेला भएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ नखोले इरानका ऊर्जा संरचना र तेल कुवाहरू ध्वस्त पार्ने चेतावनी दिएका थिए।
कुवेतको झण्डा बोकेको ‘अल-सल्मी’ नामक उक्त ट्यांकरमाथि भएको यो आक्रमण, फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता खाडी क्षेत्र र स्ट्रेट अफ होर्मुजमा व्यापारी जहाजहरूमा भइरहेको आक्रमणको ठूलो र पछिल्लो घटना हो। इरानले अमेरिकी सैन्य वेस रहेका खाडी राष्ट्रहरुका उर्जा केन्द्र आफ्नो निशानामा पर्ने बताउँदै आएको छ। अमेरिकाले ठूलो मात्रामा आफ्नो लगानी गरेको विश्वास इरानको छ। जसले गर्दा अरब र खाडी देशहरु प्रत्यक्ष मारमा परेका छन्।
करिब एक महिनादेखि जारी यो द्वन्द्वले मध्यपूर्वभरि फैलिँदा हजारौँले ज्यान गुमाएका छन् भने अर्बौं डलरको क्षति भइसकेको छ। साथै विश्वभर उर्जा आपूर्ति अवरुद्ध हुँदा विश्व अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेल्ने खतरा मडारिएको छ।
आज इरानले आक्रमण गरेको ट्यांकरले करिब २० लाख ब्यारेल तेल बोकेको थियो। जसको मूल्य हालको बजारअनुसार २० करोड डलरभन्दा बढी हुन्छ। आक्रमणपछि तेलको मूल्य फेरि एकपटक ह्वात्तै बढेको थियो। जहाजको मालिक ‘कुवेत पेट्रोलियम कर्पोरेसन’का अनुसार, आक्रमणका कारण जहाजमा आगलागी र बाहिरी संरचनामा क्षति पुगेको थियो। पछि दुबईका अधिकारीहरूले ड्रोन आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिएका थिए। उक्त ट्याकंरबाट तेल चुहावट नभएको र चालकदल सुरक्षित रहेको जानकारी दिएका छन्।
ऊर्जाको मूल्य बढेसँगै यसको असर अमेरिकामा समेत देखिन थालेको छ। जसका कारण ट्रम्प तथा उनको रिपब्लिकन पार्टीका लागि नोभेम्बरको मध्यावधि चुनावअघि राजनीतिक चुनौती बन्दै गएको छ। ऊर्जा मूल्य घटाउने वाचा गरेका ट्रम्पमाथि दबाब बढ्दै गएको छ।
अमेरिकामा पेट्रोलको औसत खुद्रा मूल्य तीन वर्षयताकै उच्च स्तर पार गर्दै प्रतिग्यालोन ४ डलर नाघेको छ। विश्वव्यापी आपूर्ति घट्दा ‘ब्रेन्ट क्रुड’ को मूल्य यस महिना ५६% ले बढेर प्रतिव्यारेल ११३ डलरभन्दा माथि पुगेको छ, जुन अहिलेसम्मकै ठूलो मासिक वृद्धि हो।