नीलमले कोभिड १९ मा मरिन्छ कि भन्दाभन्दै लेखेको उपन्यास ‘राजमाता’

नीलमले कोभिड १९ मा मरिन्छ कि भन्दाभन्दै लेखेको उपन्यास ‘राजमाता’
+
-

काठमाडौँ – आइतबार नेपाल पर्यटन बोर्डको हलमा मदन पुरस्कार विजेता लेखक नीलम कार्की ‘निहारिका’को नयाँ उपन्यास ‘राजमाता’ लोकार्पणका क्रममा लेखन अनुभव सुनाइन्, ‘लेख्दा लेख्दै मरियो भने…।’

सन् २०१९ बाट राजमाता लेख्न सुरु गरेकी कार्की डराउनुको कारण थियो, कोभिड १९।

विश्व कोभिडबाट आक्रान्त थियो। हरेकलाई मर्छु भन्ने भय थियो। जो जतिखेर पनि मर्न सक्थे। कार्की यही भयमा थिइन् कि कतै मरियो भने, लेख्दै गरेको उपन्यास राजमाता रोकिने छ। तर, विषय यति गम्भीर छ कि लेख्नै पर्छ। भयभित मन लिएर राजमाता लेख्न लेखक कार्कीलाई साह्रै गाह्रो भयो।

‘कोभिडको भयले एनजाइटिक्समा थिएँ। किताब पूरा गर्न पाउँदिनँ कि भनेर नजिकको भाइलाई भने म मरे भने तिमीले यो किताब पूरा गर्नु पर्छ भनेँ। उसले हुन्छ पनि भन्यो,’ उनले भनिन्,’तर, कोभिड १९ घट्दै गयो। भयबाट मुक्त भएँ। बाँचे। लेखेँ। सात वर्षपछि किताबको रुपमा आज सार्वजनिक गर्न पाएँ।’

इतिहासमाथि लेख्नु चुनौती छ। लेखक कार्की आफ्ना आख्यानमा इतिहासले बिर्सिन लागेका पात्र समेट्नुअघि गहिरो खोज र अनुसन्धानका लागि यात्रा गर्छिन् र लेख्छिन्, इतिहासको जगमा उभिएर उपन्यास।

इतिहासकारलाई छोडेर उपत्यकामा रहेका तीन सहरले बिर्सन लागेको इतिहासमा महिला पात्रको भूमिकालाई उपन्यास राजमातामार्फत् १० औँ शताब्दीयताको कथा भन्ने जमर्को गर्दै छिन् उनी। त्यसैले लेखक कार्कीले ती अग्रज इतिहासकारलाई धन्यवाद पनि दिइन्, जसले खोजे, लेखे र स्रोत सामाग्रीको रुपमा नयाँ पुस्तालाई इतिहास हस्तान्तरण गरे। साथै उनले थुप्रै तिथिमिथिहरू तलमाथि हुन आउँदा आफूलाई सत्यतथ्यमा टेकेर लेख्न गाह्रो भएको बताइन्।

जीवनमा ११ वटा किताब लेखेकी कार्कीले पृथक खालको किताब लेख्नका लागि निरन्तर कोशिस गरेको बताइन्। पाल्पाको गोठादीमा जन्मेकी लेखक कार्कीले फरक भाषा भूगोल र समाजको कथा लेख्न डराउने गरेको बताइन्। ‘नेपालमण्डल सिम्रौनगढ र सिन्जा उपत्यकाका भाषा, संस्कृतिको जगमा लेख्दा साह्रै गाह्रो भयो,’ उनले भनिन्।

इतिहास अध्ययन र यसको सीमितता, ऐतिहासिक आख्यान लेखन र लेखकीय दायित्यबारे सधैं गम्भीर कार्की पद्मकन्या क्याम्पसबाट नेपालीमा स्नातकोत्तर गरेकी थिइन्। अहिले पूर्णकालीन लेखक हुन्।

चालिसको दशकदेखि कविता लेख्दै साहित्यमा प्रवेश गरेकी थिइन् उनी। कथासङ्ग्रह ‘बेली’, ‘हवन’ र ‘कागज, कवितासङ्ग्रह ‘नीलम कार्की निहारिकाका कविता’ तथा उपन्यासहरू ‘मौन जीवन’, ‘नियतीको खेल’, ‘अर्की आईमाई’, ‘चीरहरण’ ‘द्रौपदी अवशेष’ र ‘योगमाया’ उनका प्रकाशित कृति हुन्।

योगमायाले २०७४ सालमा मदन पुरस्कार प्राप्त गरेको छ। यस्तै, २०७२ सालमा चीरहरण उपन्यासले पद्मश्री पुरस्कार प्राप्त गरेको छ।

उपन्यास राजमाता लोकार्पणका क्रममा संस्कृतविद् प्राडा वीणा पौडेलले नेपाल पुस्तकमाथि टिप्पणी गरिन्। इतिहासको जगमा उपन्यास लेख्ने महिला लेखक बिरलै पाइने आजको अवस्थामा कार्की उदाहरणीय लेखक रहेको बताइन्।

उनले भनिन्, ‘राजमाता उपन्यासले इतिहास मात्रै उत्खनन् गरेको छैन, १० औँ शताब्दीयताको साFस्कृतिक रहनसहन संस्कार वास्तुकला र भाषाका बारेमा पनि गम्भीर बहस छेडेको छ।’

‘तीन वटा अध्यायमा लेखिएको ६ सय ६३ पेजको राजमाता उपन्यासले नेपाली नेवारी र मैथली मुगल भाषाको पनि संवादले उपन्यासलाई सशक्त बनाएको छ,’ उनले भनिन्।

नेपालमा आज पनि गुठी प्रचलनले निरन्तरता पाएको छ। त्यो बेलाको समाजलाई चलायमान बनाउनमा गुठी परम्पराको भूमिका किताबमा रहेको बताइन् पौडेलले।

‘पुरुष युद्धमा जाँदा राज्य चलाउन राजमाताहरूको ठूलो भूमिका रहन्थ्यो जसको बारेमा लेखिन आवश्यक थियो,’ प्राडा पौडेलले भनिन्, ‘राजमाता हुँदैनथे भने त्यो बेलाको राज्य चल्दैनथ्यो।’

इतिहासका बारे थाहा नपाएका नयाँ पुस्तालाई राजमाताले बाँधिराख्छ र समाजशास्त्र अध्ययनरत विद्यार्थीलाई स्रोत सामाग्री हुने बताइन् उनले। भनिन्, ‘राजमाता दशौँ शताब्दीयताको समाज बुझ्न सकिन्छ र यो इतिहासको गहिरो कालखण्ड बोकेको कथा हो।’

त्यसैगरी, उपन्यासले मानदेवको पालादेखि सति प्रथाको बारेमा पनि उठान गरेको बताइन् उनले। त्यो बेला सतिप्रता रहेछ तर अनिवार्य रहेनछ। राजकुमारहरू सानै छँदा राजाको देहान्त हुँदा ती बालक राजाहरुले मातालाई सँगै राख्न पाउँदा रहेछन्। र ती माताहरुले आजीवन अविवाहित रहेर राजकाजमा सघाउनु पर्दोरहेछ।’

लोकार्पण कार्यक्रममा अभिनेत्री लेखक सोभिता सिम्खडाले लेखक कार्कीसँग राजमातालाई लिएर अन्तरसंवाद गरिन्। उनले कुराकानीको क्रममा लेखक कार्कीलाई एआइ र सामाजिक सञ्जालको दबदबा रहेको समयमा इतिहासका मोटा किताब पढ्ने पाठक पाउनुहुन्छ भन्ने प्रश्न गर्दा कार्कीले भनिन्, ‘लेखकले किताब लेख्ने हो। पाठकले कसलाई कति प्राथमिकता दिनुहुन्छ उहाँहरुलाई छुट छ।’

पुस्तकलाई प्रकाशक फाइन प्रिन्टले बजारमा ल्याएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?