काठमाडौँ – फागुन २१ गते सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
संसद् वा समितिको बैठकको कामकाज थाल्नुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सांसदहरुले उत्साहपूर्ण रुपमा बन्दै गरेको संसद् भवनको एउटा हलमा शपथ लिएका हुन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण तत्कालीन संसद् भदौ २७ गते विघटन भएपछि त्यसै दिन फागुन २१ गते चुनावको मिति घोषणा भएको थियो। घोषित मितिमै चुनाव भएर निर्वाचित सांससदहरुले बिहीबारदेखि आफ्नो पाँच वर्षे कार्यकाल सुरु गरेका छन्।
कुनै दुर्घटना नभएमा सांसदहरुको कार्यकाल २०८७ साल चैत १२ गतेसम्म हुनेछ। बिहीबार शपथ ग्रहणका क्रममा दुईवटा महत्वपूर्ण दृश्य देखियो। जसले नेपालको राजनीतिक इतिहासमा नयाँ आयाम थपेको छ।
पहिलोः हजुरबुबाबाट नाति पुस्ताको शपथ
बिहीबार प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई पद तथा गोपनीताको शपथ गराए। कांग्रेसको सभानुपातिकतर्फबाट सांसद बन्न सफल ७८ वर्षीय केसीले नाति पुस्ताको बाहुल्यता रहेको सांसदहरुलाई शपथ गराए।
उनले भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवास पुगेर पद तथा गोपनीयतको शपथ लिएका थिए। २००४ सालमा नुवाकोटको ओखरपौवामा जन्मिएका केसी पञ्चायतकालमै राज्यमन्त्री बनेका थिए। २०२१ सालदेखि विद्यार्थी राजनीति थालेका केसी त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति र प्राध्यापकसमेत भएका थिए।
२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएपछि कांग्रेसमा लागेका केसी पटक पटक सांसद र मन्त्री भनेका अनुभवी राजनीतिकर्मी मानिन्छन्।

नेपालको संसदीय इतिहासमै यो संसद्मा सबैभन्दा बढी युवाहरुको उपस्थिति भएको छ। निर्वाचन आयोगले तयार पारेको रिपोर्टअनुसार यो संसद्मा ४० वर्षभन्दा कम उमेरका मात्रै ९५ जना सांसद छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा ३० वर्षमुनिका २२ जना सांसद निर्वाचित भएका छन् भने ३० देखि ४० वर्षभित्रका ७३ जना संसद् प्रवेश गरेका छन्। त्यस्तै, ४० देखि ५० वर्ष उमेर समूहका ८९ जना, ५० देखि ६० वर्ष समूहभित्रका ५९ जना व्यक्तिहरु निर्वाचित भएर संसद् प्रवेश गरेका छन्।
६० वर्षमाथिका जम्मा ३२ जनाले मात्रै बिहीबार सांसदका रुपमा शपथ लिए। यो चुनावले अघिल्ला चुनावमा भन्दा ठीक विपरीत उमेर समूहका व्यक्तिलाई निर्वाचित गर्यो। अघिल्ला चुनावमा ५० वर्षमाथिका अधिकांश र त्यसभन्दा कम उमेरका नगन्य मात्रै सांसद निर्वाचित हुने परम्परालाई तोडेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी करिब दुई तिहाइ बहुमत ल्याउँदा अधिकांश युवाहरु निर्वाचित भए भने अरु दलबाट पनि युवाहरुले मात्रै संसद् छिर्ने अवसर पाएको देखिन्छ। शुक्रबार प्रधानमन्त्रीको शपथ लिन लागेका रास्वपाका नेता बालेन्द्र शाह जम्मा ३६ वर्षका मात्रै छन्।
यसपटकको संसदमा युवाहरुको यो उपस्थिति अभुतपूर्व हो। बिहीबार जेष्ठ सदस्यका हैसियतमा केसीले अधिकांश नाति पुस्ताका सांसदहरुलाई शपथ ग्रहण गराए।
दोस्रोः कांग्रेस, एमाले र नेकपा एउटै लाइनमा सीमित
बिहीबारको शपथ ग्रहणमा देखिएको अर्को महत्वपूर्ण दृश्य भनेको कांग्रेस, एमाले र नेकपा जस्ता पुराना दलको संसदमा दयनीय उपस्थिति। अघिल्लो चुनावसम्म बलियो हैसियतका साथ उपस्थित हुने ती दलहरु यसपटक ‘साना दल’को हैसियतमा संसदको बायाँतर्फ सीमित हुन पुगेका छन्।
शपथका लागि तयार पारिएको हलमा पाँचवटा लाइनमा सांसदहरुलाई राखिएको थियो। जसमा झण्डै दुई तिहाइ बहुमत ल्याएको रास्वपाका सांसदहरु तीनवटा लाइनमा बसे भने कांग्रेस, एमाले, नेकपा जस्ता दल राप्रपा र भर्खरै संसद् छिरेको श्रम संस्कृति पार्टीसँग मिसिएर दुई लाइनमा सीमित भए।
२००७ सालदेखि राजनीतिको मूल प्रवाहमा रहेको कांग्रेस २०४८, २०५६, २०७० र २०७९ को चुनावमा पहिलो दल बनेको थियो। त्यसबाहेकका चुनावमा दोस्रोबाट तल नझरेको कांग्रेस वरियताको हिसाबले यसपटक पनि दोस्रोमा भए पनि संख्याका हिसाबले रास्वपाभन्दा पाँच गुणा सानो हैसियतमा खुम्चिएको छ।
रास्वपा १८२ सिटसहित पहिलो हुँदा कांग्रेस जम्मा ३७ सिटका साथ सदनमा कमजोर हैसियतमा उपस्थिति जनाएको छ।

त्यस्तै, एमालेको उपस्थिति पनि उस्तै खालको छ। २०५१, २०७४ को चुनावमा पहिलो दल बनेको र अरु सबै चुनावमा प्राविधिक हिसाबले मात्रै दोस्रो हुने गरेको एमाले यसपटक तेस्रो छ।
एमालेबाट जम्मा २५ जना मात्रै सांसद निर्वाचित भएका छन्। उता नेकपाको हैसियत पनि कांग्रेस एमालेको भन्दा भिन्न छैन। २०६४ सालमा ठूलो आकारमा पहिलो दल बनेको माओवादी, एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीसहितका २२ दल मिलेर बनेको नेकपा जम्मा १७ सिटका साथ संसदमा उपस्थित भएको छ।
रास्वपाले पाएको जनसमर्थनले पुराना तीनवटै बडारिएका छन्। अघिल्ला संसद्मा सत्ता र प्रतिपक्षका रुपमा सदनमा भरिने कांग्रेस, एमाले र नेकपा यसपटक सदनको एउटै लाइनमा सीमित भए।
बडारिएका तीन दलका मुख्य नेताहरुले बिहीबार एकै ठाउँमा उभिएर खिन्नताले भरिएको अनुहारका साथ शपथ लिएको दृश्य नेपालको संसदीय राजनीतिमा अर्को कोशेढुंगा हो। कांग्रेसका भीष्मराज आङ्दाङ्वे, एमालेका रामबहादुर थापा र नेकपाका पुष्पकमल दाहाल प्रचण्डले सँगै उभिएर शपथ लिएको दृश्यले सबैको ध्यान खिच्यो।
बिहीबारको शपथमा रास्वपाका सांसदहरू विजयी भाव र उत्साहका साथ देखिएका थिए भने कांग्रेस, एमाले र माओवादीका सांसदहरूको अनुहारमा खासै चमक देखिएको थिएन।
