- अन्तर्राष्ट्रिय स्तरको पाँचौं इलाम साहित्य महोत्सव वैशाखमा आयोजना हुनेछ, जसले पर्यटन र साहित्यलाई जोड्नेछ।
- महोत्सवमा नेपाल, भारत, बंगलादेशका साहित्यकारले सहभागिता जनाई विभिन्न विषयमा गहन बहस र छलफल गर्नेछन्।
- हाङयुग–जुनिता फाउन्डेसनले महोत्सवमा एकजना साहित्यकारलाई ५० हजार राशिको पुरस्कार प्रदान गर्नेछ।
काठमाडौँ— पर्यटकीय सहर इलाममा अन्तर्राष्ट्रिय स्तरको ‘इलाम साहित्य महोत्सव’ आयोजना हुने भएको छ। आउँदाे वैशाख १८ र १९ गते हुने महोत्सवको यो पाँचौं संस्करण हो। यस महोत्सवले साहित्य अनि पर्यटनलाई एकसाथ जोड्ने र इलामलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताउँछन् ‘इलाम नगर साहित्य प्रतिष्ठान’का अध्यक्ष प्रकाश थाम्सुहाङ।
इलाम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी आयोजक संस्थाका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिएका हुन्
महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, अध्यात्म, पर्यटन, वातावरण र प्रविधिलगायत विविध विषयमा गहन बहस र छलफल हुनेछ। नेपालसहित भारतको सिक्किम, सिलिगुडी, दार्जीलिङ तथा बंगलादेशका चर्चित साहित्यकार, लेखक र कलाकर्मीको उल्लेखनीय सहभागिता रहने आयोजकले बताएका छन्।
अध्यक्ष थाम्सुहाङका अनुसार महोत्सवले इलामलाई अन्तर्राष्ट्रिय साहित्यिक केन्द्र बनाउनेछ।
पत्रकार सम्मेलनमा महोत्सवको आधिकारिक लोगो पनि सार्वजनिक गरिएको थियो। लोगोले इलामको पहिचान रेडपाण्डा, साहित्यिक भावना र पर्यटनको सन्देशलाई प्रतीकात्मक रूपमा समेटेको छ।
‘इलाम नगर साहित्य प्रतिष्ठान’ महोत्सवको मुख्य आयोजक हो भने ‘इलाम साहित्य समाज’ सह–आयोजकका रूपमा रहेको छ। महोत्सवको विशेष आकर्षणका रूपमा वरिष्ठ साहित्यकार बैरागी कांईलालाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि समावेश छ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा साहित्यिक बहस, काव्य वाचन, पुस्तक विमोचन, अन्तर्क्रिया, सांस्कृतिक प्रस्तुतिलगायत विविध सिर्जनात्मक कार्यक्रम आयोजना गरिनेछन् । देश–विदेशका स्रष्टाबीच विचार आदानप्रदान र सहकार्य विस्तार गर्ने उद्देश्यसमेत राखिएको छ ।
‘हाङयुग–जुनिता फाउन्डेसन’ ले यस वर्षदेखि ‘इलाम साहित्य महोत्सव’ मा एकजना साहित्यकार र लेखकलाई ५० हजार राशिको पुरस्कार प्रदान गर्ने पनि आयोजकले बताएको छ।