- महानन्द अस्पतालमा भर्ना गरिएका निर्मला खत्रीको शरीरको १८ प्रतिशत भाग जलेको सूचना अस्पताल प्रशासनले दिएको छ।
- सुरुमा ग्यास सिलिन्डर विस्फोट भएको भनिएको घटनामा पेट्रोल खन्याएर शरीरमा आगो लगाइएको खुलेको छ।
- परिवारिक विवादका कारण दुई जनाको जलेको अवस्थामा उपचार भइरहेको घटनाका बारेमा थप जाँचबुझ हुँदैछ।
मोरङ – ग्यास सिलिण्डर पड्किएर विराटनगरमा दुई जना घाइते भएको सन्दर्भमा परिवारले गलत खबर गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बुधबार बिहान करिब १० बजे ग्यास सिलिण्डर पड्किएको जनाउँदै विराटनगर १४ जतुवामा आमा ४२ वर्षीया निर्मला खत्री र १९ वर्षीय छोरा धीरज खत्री घाइते भएको बताइएको थियो।
घटनालाई सच्याउँदै प्रहरीले सो घटनामा आमाले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएको जनाएको छ। कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार घटनाबारे सुरुमा ग्यास विष्फोट भएको बताइएको थियो।
तर, घटनास्थल पुगेर हेर्दा विष्फोटको कुनै प्रमाण फेला नपरेको उनले बताए। उनले भने, हामीलाई ग्यास पड्केर घाइते भएको भनिएको थियो। टोली पुगेर हेर्दा ग्यास पड्किएको केही देखिएन। घाइतेहरुले सुरुमा ग्यास पड्किएको भनेर घटना बङ्ग्याउन खोजेका रहेछन्।’
प्रहरीका सूचना अधिकारी लामिछानेले भने, ‘पेट्रोल खन्याएर आफैंले शरीरमा आगो लगाएको घटना रहेछ। तर, सुरुमा ग्यास सिलिन्डर विस्फोट भएको भनेर प्रहरीलाई नै ढाँट्ने काम भयो। प्रहरीले घटनास्थलमा गएर हेर्दा विस्फोट भएको देखिएन। विस्फोटको कुनै पनि प्रमाण फेला नपरेपछि थप सोधपुछ गर्ने क्रममा वास्तविक घटनाको बारेमा थाहा भएको हो।’
यद्यपि, हाल घटनाबारे जाँचबुझ भइरहेको बताएका सूचना अधिकारी लामिछानेका अनुसार सामान्य परिवारिक विवादका क्रममा निर्मलाले शरीरमा आगो लगाएको देखिएको छ। उनको शरीरमा आगो लागेपछि बचाउन जाने क्रममा छोरा धीरजपनि घाइते भएका हुन्।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएका निर्मलाको शरीको १८ प्रतिशत भागमा जलेको अस्पताल प्रशासनले जनाएको छ। त्यसैगरि, उनको छोरा धीरजको भने शरीरको करिब ५ प्रतिशत भाग जलेको छ।