- फिल्म ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक भएको छ, जसमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन्।
- निर्देशक तुलसी घिमिरेले ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता जस्ता सन्देश प्रस्तुत गरेको बताए।
- चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले घिमिरे परिवारले नेपाली फिल्ममा गरेको योगदानको चर्चा गर्दै ‘पहाड’प्रति आशा व्यक्त गरे।
काठमाडौँ- निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित एक हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन्। सार्वजनिक गीतमा निर्देशक तुलसी घिमिरेको शब्द, रञ्जित सिंह गजमेरको सङ्गीत रहेको छ भने यसमा भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ, अश्मिता अधिकारीको स्वर रहेको छ। उक्त गीतमा अभिनेता विपिन कार्कीको र्याप सुन्न सकिन्छ। उक्त गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन्।
निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए। ‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ। यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ। यो गीतले पनि त्यसमा केही सङ्केत गरेको छु,’ निर्देशक घिमिरेले भने।
ग्रामीण परिवेशमा छायांकन गरिएको यो गीत नृत्यप्रधान र मिठासपूर्ण लाग्छ। ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ।
गीत सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक घिमिरेको निर्देशकीय यात्रा र उहाँको परिवाले नेपाली फिल्ममा दिनुभएको योगदानको चर्चा गरे।
‘तुलसी दाइको परिवारनै यही फिल्ममा लागेर आफ्नो जीवन समर्पण गर्नुभएको छ। यो फिल्मबाट उहाँकी कान्छी छोरी पन्चमी पनि फिल्ममा आएकी छिन्, यो परिवारको समर्पणलाई हामीले सम्मानसहित कदर गर्नु पर्छ। तुलसी दाइको फिल्मको कथ्यशैलीको म सधैँ प्रसंशक हुँ, यसबाट पनि निकै आशावादी छुु, अध्यक्ष डिसीले भने।
आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए।
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन्। फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन्। भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन्।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएका छन्। यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्।
फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन्। उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन्। भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छन्।
फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो। फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन राजेको छ।