- ट्रम्पले इरानमा आक्रमण पाँच दिनका लागि रोक्ने बताएपछि तेल र ग्यासको मूल्य घटेका छन्।
- इरानका संसद् सभामुखले ट्रम्पले वार्ता भएको दाबीलाई फेक न्युज भन्दै खण्डन गरेका छन्।
- तेहरान र बेरुतमा आक्रमण जारी रहेको र यसमा १,०३९ जनाको निधन भइसकेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच वार्ता फलदायी भएको बताउँदै पाँच दिनका लागि कुनै युद्ध नगर्ने बताएलगत्तै इरानले ट्रम्पको भनाइको खण्डन गरेको छ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने आफ्नो चेतावनीलाई पाँच दिनका लागि स्थगित गरिएको बताएका थिए। यी खबर बाहिरिएलगत्तै अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य तुरुन्तै घटेको थियो।
तर, ट्रम्पको भनाइ सार्वजानिक भएलगतै इरानका संसद् सभामुखले भने यस्तो कुनै वार्ता नभएको दाबी गरेका छन्। उनले यसलाई ‘नक्कली समाचार’ (फेक न्युज) भन्दै तेल बजारलाई प्रभावित र चलायमान बनाउन यस्तो प्रचार गरिएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा पहिलो सन्देश दिएपछि बोल्दै ट्रम्पले इरानलाई शान्तिको लागि ‘अन्तिम एउटा मौका’ रहेको बताएका थिए। यी यो युद्ध कति तीव्र गतिमा अघि बढिरहेको र कति अनिश्चित बनेको छ भन्नदै विष्लेषकहरुले टिप्पणी गरेका छन्।
यसबीच पनि इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा आक्रमण जारी रहेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गत महिना सुरु भएको यस द्वन्द्वमा हालसम्म १,०३९ जनाको ज्यान गइसकेको छ।