- नेपाल मेडिसिटी अस्पतालले स्कटल्याण्डको EMRS सँग मिलेर नेपालमा पहिलो पटक रिट्रिभल मेडिसिनको विशेष तालिम आयोजना गर्ने निर्णय गरेको छ।
- तालिममा हेलिकप्टर उद्धार, बिरामीको सुरक्षित स्थानान्तरण, र हेरचाहका लागि व्यावहारिक अभ्यास समेत गराइनेछ।
- कार्यक्रमले नेपालको स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप उकास्न र स्वास्थ्यकर्मीलाई सीपयुक्त बनाउने आशा गरिएको छ।
काठमाडौँ- नेपाल मेडिसिटी अस्पतालले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (EMRS) सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेनर्स प्रोग्राम इन रिट्रिभल मेडिसिन’ आयोजना गर्ने भएको छ ।
चैत २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने यस तालिमले देशको आकस्मिक तथा गम्भीर बिरामीहरूको सुरक्षित र प्रभावकारी स्थानान्तरण सेवामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिच्युड सर्भिस प्रमुख डा. सञ्जय कार्कीका अनुसार यो तालिम विशेष गरी हेलिकप्टरमार्फत गरिने उद्धार (एयर लिफ्ट) र गम्भीर बिरामीहरूको सुरक्षित स्थानान्तरण एवं उपचार प्रक्रियामा केन्द्रित रहनेछ ।
तालिमका क्रममा बिरामीलाई सुरक्षित रूपमा सार्ने, हेलिकप्टरभित्रको उपयुक्त अवस्थिति र यात्रा अवधिभर गरिने आवश्यक हेरचाहबारे व्यावहारिक अभ्यास (मक टेस्ट) सहित प्रशिक्षण दिइनेछ । कार्यक्रममा स्कटल्याण्डका विशेषज्ञ प्रशिक्षकहरूका साथै स्वीट्जरल्याण्ड, भारत र जापानका ख्यातिप्राप्त चिकित्सकहरूले आफ्ना अनुभव र प्रशिक्षण प्रस्तुत गर्नेछन् ।
निःशुल्क रूपमा सञ्चालन गरिने यस विशेष तालिममा देशका विभिन्न सरकारी तथा निजी अस्पतालका करिब ३० जना विशेषज्ञ स्वास्थ्यकर्मीहरूको सहभागिता रहने अस्पतालले जनाएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा रिट्रिभल मेडिसिन सम्बन्धी दक्ष जनशक्ति विकास गर्नु र अन्तर्राष्ट्रिय मापदण्डअनुसार आकस्मिक तथा क्रिटिकल केयर सेवाको स्तर उकास्नु रहेको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले यस प्रकारका कार्यक्रमले नेपालको स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप उकास्ने र स्वास्थ्य संस्थाहरूबीचको सहकार्यलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
स्वास्थ्यकर्मीहरूलाई अन्तर्राष्ट्रियस्तरको सीप प्रदान गरी गुणस्तरीय सेवा सुनिश्चित गर्ने आफ्नो दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै उनले कार्यक्रमको सफलताको शुभकामना दिएका छन् ।
त्यस्तै, अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यो कार्यक्रमले नेपाली स्वास्थ्यकर्मीहरूलाई बिरामीको सुरक्षित स्थानान्तरण र व्यवस्थापनमा थप निपुण बनाउने बताएका छन् । उनले तालिमबाट प्राप्त ज्ञानलाई वास्तविक उपचार प्रक्रियामा प्रभावकारी रूपमा उपयोग गर्न जोड दिँदै कार्यक्रम सफल पार्न सबै पक्षसँग सहयोगको अपेक्षा गरेका छन् ।