- एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका दुबै खेल भारी वर्षाका कारण रद्द गर्नुपरेको आयोजकले जानकारी दिएका छन्।
- खेलको उद्घाटन जनकपुरधाममा भए पनि वर्षाका कारण दुई खेलहरू एक पनि नभएर टिमलाई एक एक अंक दिइयो।
- प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी छन्, फाइनल खेल वीरगञ्जमा हुने तालिका छ।
जनकपुरधाम – एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको दुबै खेल वर्षाको कारण रद्द भएको छ। शनिबार प्रतियोगिताको उद्घाटन खेल मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुने तालिका थियो भने दोस्रो खेल वीरगञ्जमा हुने तय थियो।
जनकपुरधाममा खेल सुरु नहुँदै मधेस प्रदेश र कोशी प्रदेशबीचको खेल रद्द भएको छ भने वीरगञ्जमा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल सुरु भएपनि वर्षा सुरु भएपछि खेल रद्द भएको आयोजकले जनाएको छ। दुबै खेल रद्द भएपछि चारवटै टिमलाई एक एक अंक पाएको छ।
शुक्रबार हावाहुरीसँगै पानी परेपछि जनकपुरधाम स्थित निर्माणाधीन रामजानकी बहुउदेश्यीय रंगशालामा पानी भरेकोमा बिहानै देखि पानी हटाउने काम भएकोमा पुनः पानी पर्न थालेपछि खेल रद्द गरिएको हो। खेल रद्द गरिए पनि उद्घाटन सत्र भने गरिएको हो।
यस्तै, वीरगञ्जमा कर्णाली र लुम्बिनीबीचको खेल सुरु भएकोमा ७ ओभरमा वर्षाको कारण रुकेको थियो। खेल रुकेको अवस्थासम्ममा कर्णालीले २० रन बनाएको थियो। तर पुनः पानी पर्न सुरु भएपछि खेल रद्द गरिएको हो।
आइतबार जनकपुरधाम र वीरगञ्जमा खेल नहुने तालिका छ। सात वटा प्रदेश टिम र ३ वटा विभागीय टिम सहभागी यो प्रतियोगिता यस पटक मधेस प्रदेशको जनकपुरधाम र वीरगञ्ज तथा काठमाडौँमा हुँदैछ। अंक तालिकाको शीर्ष २ मा रहने टिमबीच फाइनल खेल हुनेछ। फाइनल खेल पर्साको वीरगञ्जमा हुने तालिका छ।