जलेश्वर (महोत्तरी) – प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गौशालाको निरीक्षण गरेकी छन्। उनी आज दिउँसो महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुर टोलमा अवस्थित निगौल गाई गौशालाको निरीक्षण गरेकी हुन्।
गौशालाको निरीक्षणपछि प्रधानमन्त्री कार्कीले समयसमयमा यहाँका गाईको अवस्था दयनीय रहेको गुनासा उठ्दै आएको कुरालाई सम्झँदै गाईको संरक्षण गर्न, गाईको सेवा गर्न र गाई गौशालालाई रोजगारीको अवसरका रूपमा संरक्षण गर्न सुझाव दिइन्।
उनले हिन्दू धर्ममा गाईलाई आमा मानिने गरिएकाले गाईमाथि कुनै पनि किसिमको शोषण हुन नदिन तथा यस गौशालालाई उद्योगका रूपमा विकास गरेर रोजगारी सृजना गर्न सल्लाह दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “हामी हिन्दूले चरा, मुसो, उल्लु सबैलाई पूजा गर्छौँ र श्वास भएका जीवजन्तुलाई सेवा गर्छौँ,सबैले मिलेर गाईको सेवा गर्नुपर्छ।” उनले मैथिली भाषामा बोलेर गाईको सेवा गर्न स्थानीयलाई सम्बोधन गरेकी थिइन्। महोत्तरीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रमोद महतोलाई यस गौशालाको समस्या समाधानका लागि पहल गर्न आग्रह गरे।