काठमाडौँ – काठमाडौँ उपत्यकामा असिना र हुरीसहित पानी परेको छ। शुक्रबार अपराह्न मेघगर्जनसहित असिना पानी परेको हो।
जल तथा मौसम विज्ञान विभागले हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
विभागले विशेषगरी तराईका क्षेत्रमा हुरी चल्ने र सो क्रम दुईदेखि तीन घण्टासम्म रहने भएकाले विषेश सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागका अनुसार आज अपराह्नपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान तथा बागमती, मधेसलगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
जल तथा मौसम विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले तीन दिन देशभर बदली, वर्षा र हिमपातको प्रभाव; केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी