- सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएपछि उनी चौथो स्थानमा सीमित भए।
- यस क्षेत्रका विजेता रामजी यादवले २८ हजार ४०४ मत ल्याउँदा, सिंहले ३ हजार ५५७ मत मात्र पाए।
- जनता समाजवादी पार्टी र जनमत पार्टीका उम्मेदवारले मात्रै जमानत बचाउन सफल भए, बाँकी ३१ जनाको जमानत जफत भयो।
जनकपुरधाम – मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडेका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ। सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा स्वाभिमान पार्टी गठन गरेर उम्मेदवार बनेका सिंहले कुल सदर मतको ५.६७ प्रतिशत मत मात्र पाएका छन्।
सिंह यस क्षेत्रको मत परिणाममा चौथो स्थानमा सीमित भएका छन्। यस क्षेत्रबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामजी यादवले २८ हजार ४०४ मत पाउँदा पूर्व मुख्यमन्त्री सिंहले ३ हजार ५५७ मत पाएका छन्। ३४ जना उम्मेदवार रहेको यस क्षेत्रमा ३१ जनाको जमानत जफत भएको हो।
यहाँ निर्वाचित उम्मेदवार बाहेक जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेशकुमार यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मात्र जमानत बचाउन सकेका छन्। यादवले कुल सदर मतको २२.७२ प्रतिशत अर्थात १४ हजार २६३ मत पाउँदा राउतले १५.७४ प्रतिशत अर्थात ९ हजार ८८० मत पाएका छन्। यस क्षेत्रमा खसेको मतमध्ये ६२ हजार ७८३ सदर मत थियो।
मधेस प्रदेशबाट चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्दा बारा ४ मा रास्वपाबाट उम्मेदवार बनेका रहबर अन्सारी निर्वाचित भएका छन्।
सप्तरी २ बाट उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री सिंहले जमानत समेत बचाउन नसक्दा महोत्तरी ४ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका भरतप्रसाद साह पराजित भएका छन्। उनको समेत जमानत जफत भएको हो। साहले सदर मतको ८.९६ प्रतिशत मत पाउँदै पाँचौ स्थानमा रहेका छन्। उनले ५ हजार ३३६ मत पाएका छन्।
धनुषा १ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल उम्मेदवार छन्। यस क्षेत्रमा रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भए पनि मतपत्रमा पार्टीको छाप रहेकोमा सबैभन्दा बढी मत आएकाले निर्वाचन आयोगले हाल यस क्षेत्रको मत परिणाम घोषणा नगर्न निर्देशन दिएको छ।