मुगु – मुगुमा भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही विजयी भएका छन्।
शाहीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्ण बहादुर रोकायालाई १,१९६ मतको अन्तरले पछि पार्दै जित हासिल गरेका हुन्। विजयी शाहीले ७,९२४ मत प्राप्त गर्दा रोकायाले ६,७१८ मतमा चित्त बुझाएका छन्।
त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा (एकीकृत समाजवादी/कम्युनिष्ट) का उम्मेदवार चन्द्र बहादुर शाहीले ५,५५८ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत, नेकपा माओवादी केन्द्रका रंगवीर परियारले २८० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बल बहादुर मल्लले २०३ मत प्राप्त गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मुगुमा कुल ३६,०३१ मतदाता रहेकोमा २२,०७१ मत खसेको थियो। जसमध्ये ८४६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।