विवेकको मत, राष्ट्रको भविष्य

विवेकको मत, राष्ट्रको भविष्य
+
-
देशसञ्चार AI सारांश
  • मौन अवधि सुरु भएसँगै सबै प्रचार-प्रसार रोकिएर मतदातालाई शान्त वातावरणमा सोच्न अवसर दिइनेछ।

  • निर्वाचन आयोगले निष्पक्ष, पारदर्शी र हिंसामुक्त मतदानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

  • योग्य, इमानदार र जिम्मेवार नेतृत्व छान्न मतदाताको विवेक र अनुभवको परीक्षाको समय आएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अब निर्णायक घडीमा पुगेको छ । अब चार दिनपछि देशले नयाँ जनप्रतिनिधि चुन्नेछ । आज सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएसँगै सबै प्रकारका प्रचार-प्रसार रोकिनेछन् । त्यसपछि प्रतिस्पर्धाको आवाजभन्दा मतदाताको विवेक नै सबैभन्दा शक्तिशाली हुनेछ ।

पछिल्ला केही वर्षमा राजनीतिक दल र नागरिकबीचको सम्बन्ध कमजोर बन्दै गएको थियो । सेवा-प्रवाहमा ढिलासुस्ती, जवाफदेहिताको कमी र बढ्दो सार्वजनिक निराशाले दलहरूप्रति विश्वास घटाएको छ । यसको असर अन्तर्राष्ट्रिय छविमा पनि देखिन थालेको छ । यस्तो पृष्ठभूमिमा यो निर्वाचन केवल सिट जित्ने प्रतिस्पर्धा होइन, हराएको विश्वास पुनःस्थापित गर्ने अवसर हो ।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको छ । आयोगका अनुसार सुरक्षा प्रबन्ध, मतदाता शिक्षा तथा मतदान केन्द्रसम्बन्धी प्राविधिक व्यवस्थाहरू पूरा गरिएका छन् ।

विश्व राजनीतिक परिदृश्य मध्यपूर्वमा जारी द्वन्द्वका कारण अस्थिर देखिए पनि नेपालले आफ्नो लोकतान्त्रिक प्रक्रियालाई दृढताका साथ निरन्तर अघि बढाउनु पर्छ ।

निर्वाचन आयोग, सुरक्षासंस्था र स्थानीय प्रशासन सबै मिलेर निष्पक्ष, पारदर्शी र हिंसामुक्त मतदान सम्पन्न गराउन आवश्यक तयारी पूरा भइसकेको छ । अब सबैको ध्यान मतदानलाई शान्त, सुरक्षित र विश्वसनीय बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । यो जिम्मेवारी राज्य, राजनीतिक दल, सुरक्षाकर्मी र आम नागरिक सबैको साझा हो । लोकतन्त्रको आधार नागरिकको विश्वास हो र त्यो विश्वास पुनःजोड्ने अवसर यही निर्वाचनले दिएको छ ।

निर्वाचन आयोगका अनुसार यसपटक देशभर १ करोड ८९ लाखभन्दा बढी मतदाता छन् । उनीहरूका लागि १०,९६७ मतदान स्थल र २३,११२ मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुँदैछ।

मतदानलाई सहज, सुरक्षित र विश्वासिलो बनाउने यी प्रयासहरूले राज्यको लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता झल्काएका छन् । नागरिकले निडर र स्वतन्त्र रूपमा आफ्नो मत प्रयोग गर्न सक्नु नै सफल र विश्वसनीय निर्वाचनको आधार हो ।

आज रातिदेखि सुरु हुने मौन अवधि लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण चरण हो । यो समयमा प्रचार-प्रसार रोकिने भएकाले मतदाताले शान्त वातावरणमा आफ्नो निर्णयबारे सोच्न सक्छन् । बाहिरी प्रभाव र दबाबबाट मुक्त भएर देशको भविष्य, आफ्ना अपेक्षा र प्राथमिकताबारे गम्भीर रूपमा विचार गर्ने अवसर यही हो ।

मौन अवधिमा सञ्चार माध्यमको भूमिका अझ संवेदनशील देखिन्छ । निर्वाचन आयोगका अनुसार यो विश्लेषण र आत्ममूल्यांकनको समय भएकाले कुनै उम्मेदवारको पक्ष-विपक्षमा टिप्पणी, जित-हारको अनुमान वा मतदाताको निर्णयलाई प्रभावित पार्ने सामग्री प्रसारण गर्न पाइँदैन र हुदैन पनि । प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रममा कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घन भए कानुनी कारबाही कडाइका साथ लागू हुने चेतावनी दिएका थिए । दल, उम्मेदवार र सञ्चारकर्मीको निष्पक्षता, संयमता र जिम्मेवारीपूर्ण भूमिकाले लोकतन्त्रमा निर्वाचनको महत्व अझ बढाउँछ ।
लोकतन्त्रमा मताधिकार केवल व्यक्तिगत अधिकार होइन, यो राष्ट्रप्रतिको दायित्व पनि हो । मतदाताले दलगत मोह, जातीय वा क्षेत्रीय पूर्वाग्रह र क्षणिक भावनाभन्दा माथि उठेर योग्य, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्नुपर्छ । विवेकपूर्ण निर्णयले मात्र लोकतन्त्र बलियो बन्छ र देशको भविष्य स्थिर र सुरक्षित हुन्छ ।

यतिबेला मध्यपूर्वमा जारी युद्धले विश्व राजनीतिमा अस्थिरता बढाएको छ । यसको प्रभाव ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार, कूटनीति र सुरक्षाजस्ता क्षेत्रमा देखिन थालेको छ । यस्तो संवेदनशील समयमा नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशका लागि आन्तरिक स्थिरता कायम राख्नु र लोकतान्त्रिक प्रक्रियालाई निरन्तर अघि बढाउनु अझ महत्वपूर्ण हुन्छ । यस्तो अवस्था भएता पनि नेपाल सरकारले आवश्यक व्यवस्थापन र समन्वय मिलाउने अपेक्षगरिएको छ ।

निर्वाचन केवल सरकार गठन गर्ने प्रक्रिया मात्र होइन । यसले राष्ट्रिय स्वाधीनता सुदृढ गर्छ । राजनीतिक स्थिरता सुनिश्चित गर्छ र नागरिकको विश्वासलाई बलियो बनाउँछ । बाहिरी अस्थिरताले आन्तरिक प्रक्रियामा असर नपरोस् भन्ने सुनिश्चित गर्न राज्यले सुरक्षा तयारी, कूटनीतिक सतर्कता र संस्थागत समन्वयलाई थप सुदृढ पार्न आवश्यक हुन्छ।

नेपालले राजनीतिक उतार-चढाव र विश्व अस्थिरताबीच पनि लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिँदै आएको छ । फागुन २१ को निर्वाचनले फेरि एकपटक हाम्रो लोकतन्त्रको परिपक्वता र नागरिक चेतनाको स्तर प्रमाणित गर्ने अवसर दिएको छ ।

लोकतन्त्रको वास्तविक शक्ति अन्ततः नागरिकमै निहित हुन्छ । सचेत र जिम्मेवार मतदाताले विवेकपूर्ण निर्णय गरेर योग्य नेतृत्व चयन गर्न सके लोकतान्त्रिक अभ्यास मात्र होइन, देशको समग्र स्थिरता र भविष्य पनि सुरक्षित र मजबुत बन्छ ।

लामो समयदेखि राजनीतिक नेतृत्वप्रति जनस्तरमा असन्तोष बढ्दै गएको थियो । सुशासन, पारदर्शिता र जवाफदेहिताको माग अब सार्वजनिक बहसको विषय बनेको छ । मतदाताले पनि यी मुद्दालाई प्राथमिकतामा राख्न थालेका छन् ।

विशेष गरी युवापुस्ताको रोजगारी, अवसर र सुरक्षित भविष्यप्रतिको चिन्ताले यो निर्वाचनलाई अझ अर्थपूर्ण बनाएको छ । युवा मतदाता अब केवल दर्शक होइनन्, निर्णायक शक्ति हुन् । दलगत आग्रहभन्दा माथि उठेर योग्य र इमानदार नेतृत्व छान्नुपर्छ भन्ने चेतना विस्तार हुँदै गएको छ । यी कारणले आसन्न निर्वाचन नियमित प्रक्रिया मात्र होइन, राजनीतिक संस्कार सुधार्ने महत्वपूर्ण अवसर बनेको छ ।

मतदान केवल कसैलाई जिताउनै पर्छ वा हराउनै पर्छ भन्ने भावनामा सीमित रहियो भने लोकतन्त्र कमजोर हुन्छ । यस्तो सोचले मतदाताको स्वतन्त्र विवेक दबिन्छ । स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदाताले सामान्यतया गलत पात्र रोज्दैनन् । निर्णय व्यक्ति वा दलको सीमित घेराभन्दा बाहिर गएर देशको भविष्य, नागरिक सुरक्षा र समयअनुकूल नीतिलाई केन्द्रमा राखेर गर्नुपर्छ ।

नेतृत्व चयन गर्दा सबैभन्दा पहिले उम्मेदवारको इमानदारी, चरित्र र सार्वजनिक छवि कत्तिको विश्वसनीय छ भन्ने कुराको मूल्यांकन गर्नुपर्छ । उम्मेदवारले विगतमा गरेका काम, देखाएको प्रतिबद्धता र जनसेवाप्रतिको जिम्मेवारी कति प्रभावकारी थियो भन्ने पक्ष पनि गम्भीर रूपमा हेर्नु आवश्यक हुन्छ । निर्वाचन क्षेत्रका वास्तविक समस्या बुझ्ने क्षमता र तिनका समाधानका लागि प्रस्तुत गरिएका योजनाहरू व्यवहारिक र कार्यान्वयनयोग्य छन् कि छैनन् भन्ने कुरा पनि अर्को महत्वपूर्ण आधार हो ।

नेतृत्वले दलगत सीमाभन्दा माथि उठेर दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिन सक्छ कि सक्दैन भन्ने मूल्यांकन गर्नु अनिवार्य हुन्छ । विभाजनकारी भाषण, घृणा फैलाउने प्रवृत्ति वा भ्रम सिर्जना गर्ने शैलीबाट टाढा रहने उम्मेदवार नै लोकतान्त्रिक मूल्य र संस्कृतिअनुकूल विकल्प मानिनु पर्छ ।

यसरी गरिएको निर्णयले मात्र सक्षम संसद् निर्माण गर्छ । सक्षम संसद्ले प्रभावकारी नीति बनाउँछ र सरकारलाई जनउत्तरदायी बनाउँछ ।

मतदानअघि धेरै पटक सोच्नुपर्छ । मतदातालाई यस निर्वाचनमा कसैको इसारामा प्रभावित हुने, उत्तेजनामा बहकिने वा सामाजिक सञ्जालका आधारमा मात्र निर्णय गरेर आफ्नो विवेक कमजोर बनाउने छुट छैन । आज छानिने प्रतिनिधिले भोलि देशको नीति र दिशाको जिम्मेवारी वहन गर्नेछ । लोकप्रियता, हल्ला वा सामाजिक सञ्जालको चमकभन्दा पनि धरातलीय यथार्थ बुझ्ने, जिम्मेवारी लिन सक्ने र मूल्य-आधारित नेतृत्वलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ ।

सिद्धान्त समयअनुसार परिमार्जन हुन सक्छ । तर गलत पात्र चयन भए त्यसको दीर्घकालीन प्रभाव देश र जनताले भोग्नुपर्ने हुन्छ । विवेक, अनुभव र भविष्यको सुरक्षालाई आधार बनाएर मतदान गर्नु नै मतदाताको साँचो अग्निपरीक्षा हो ।

निर्वाचन आयोग, सुरक्षासंस्था, कर्मचारी, स्वयंसेवक र स्थानीय समुदाय आ-आफ्नो जिम्मेवारी पूरा गर्दै निर्वाचन सफल बनाउन जुटिरहेको अवस्था छ । अब निर्णायक भूमिका मतदाताकै हो । मतदान केवल एक दिनको औपचारिक प्रक्रिया होइन । यसले मुलुकको आगामी पाँच वर्षको दिशा तय गर्छ । प्रत्येक मत अमूल्य छ । कुनै दबाब, प्रलोभन वा भ्रममा नपरी विवेकपूर्वक योग्य प्रतिनिधि छान्नु नै नागरिकको साँचो जिम्मेवारी हो ।

नेपालले राजनीतिक उतार-चढाव र विश्व अस्थिरताबीच पनि लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिँदै आएको छ । फागुन २१ को निर्वाचनले फेरि एकपटक हाम्रो लोकतन्त्रको परिपक्वता र नागरिक चेतनाको स्तर प्रमाणित गर्ने अवसर दिएको छ ।

सबैको सहकार्य र जिम्मेवारीले मात्र शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्भव हुन्छ । जब मतदाताले सचेत र विवेकपूर्ण निर्णय गर्छन्, तब मात्र देशको भविष्य सुरक्षित, स्थिर र भरोसायोग्य बन्छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?