काठमाडौँ – जय ट्रफी मेन्स इलिट कप दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मीले दिनको खेल सकिँदा एपीएफ र बागमतीलाई चुनौती दिइरहेका छन्।
सोमबारदेखि दोस्रो चरणका खेल सुरू भएसँगै कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदा मूलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश भिडे।
टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले सुमित महर्जनको ५५ रनको अर्धशतकीय इनिङ्समा १ सय ८५ रन बनाउँदा अलआउट भएको थियो। उसका लागि दिपक बोहराले २८ रन बनाउँदा रोहित पौडेलले ४५ रन बनाए। पुलिसका लागि ललित राजवंशी, सागर ढकालले ४-४ विकेट लिँदा कुशल भुर्तेलले २ विकेट लिए।
त्यस्तै, पहिलो दिन नै पुलिसले दिनको खेल सकिँदा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको छ। उसका लागि दिलसाद अलीले ५८ रन बनाउँदा अमित श्रेष्ठले ४१ तथा शंकर राना ४८ रनमा अविजित रहे।

त्यस्तै, मूलपानीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ७ विकेट गुमाएर २ सय ५९ रन बनाउँदा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो। बागमतीका लागि आसुतोष घिरैयाले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा इशान पाण्डेले ६९ रन बनाए। त्यस्तै, विवेक मगरले ३१ रन बनाएका थिए। आर्मीका लागि साहब आलमले ३ विकेट लिँदा नरेन साउदले २ विकेट लिए।
पहिलो दिन नै इनिङ्स सुरु गरेको आर्मीले दिनको खेल सकिँदा ३ विकेट गुमाएर १ सय ९१ रन बनायो। उसका लागि भिम सार्कीले ७४ रन बनाउँदा त्रित राज दासले ३८ रन बनाए। त्यस्तै, इमरान शेखले १८ रन बनाउँदा सन्तोष कार्कीले ४३ रनको अविजित इनिङ्स खेले। उनलाई बसिर अहमदले ५ रनमा साथ दिइरहेका छन्।