झापा – नेकपा एमालेका अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले आगामी निर्वाचनमा हुन सक्ने धाँधली र बुथ कब्जा रोक्न ‘नेसनल भोलेन्टियर फोर्स’ सक्रिय रूपमा परिचालन हुने बताएका छन्।
सोमबार झापाको दमकमा आयोजित फोर्सको कोशी प्रदेशस्तरीय विशाल भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको मताधिकार सुरक्षित गर्न यो शक्ति निर्माण गरिएको बताए।
देशका सर्वोच्च संस्थाहरू र न्यायपालिकामाथि आक्रमण गरी संरचनाहरू जलाइएको घटनाको स्मरण गर्दै अध्यक्ष ओलीले शान्ति सुरक्षा र लोकतान्त्रिक मूल्यको रक्षाका लागि पार्टीले भोलेन्टियर फोर्स गठन गर्नुपरेको बताए।
उनले भने, ‘जनप्रतिनिधिहरूको सर्वोच्च संस्था र सर्वोच्च न्यायालय जस्ता संरचनाहरू जलाउने काम भए, त्यसैले हाम्रो पार्टीले देशभर सुरक्षा र सहयोगका लागि यो फोर्स बनाएको हो।’
अध्यक्ष ओलीले चुनावको समयमा कसैले बुथ कब्जा गर्ने वा जनतालाई भोट हाल्नबाट रोक्ने दुस्साहस गरेमा फोर्स टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए।
‘चुनावमा हरेक नागरिकले स्वतन्त्र ढंगले भोट खसाउन पाउनुपर्छ। यदि कसैले व्यवधान खडा गर्छ वा कब्जा गर्ने सोच्छ भने यो फोर्सले त्यसलाई नियन्त्रण गर्छ,’ उनले थपे, ‘यो फोर्स प्रहरीमाथि हुने आक्रमण रोक्न र सुरक्षा निकायलाई आवश्यक सहयोग पुर्याउन तयार पारिएको भरपर्दो जनशक्ति हो।’
फोर्सको भूमिकाबारे बोल्दै ओलीले यो अत्यन्तै अनुशासित र जनतासँग सुमधुर सम्बन्ध राख्ने समूह भएको दाबी गरे। उनले एमालेका कार्यकर्ताहरूलाई गाउँ-गाउँ र टोल-टोलमा सुरक्षा समितिहरू बनाएर यो फोर्सलाई सहयोग गर्न निर्देशनसमेत दिए।
उनले फोर्सको आन्तरिक कार्यशैलीमा धेरै हस्तक्षेप नगर्न र उनीहरूलाई आफ्नै ढंगले काम गर्ने वातावरण बनाइदिन पनि आग्रह गरे।