- बारा र पर्सामा चुनावी चासो बढेको देखिन्छ भने सहरवस्तीमा मतदाता चुनावी रौनकमा मिसिएका छन्।
- नयाँ दलसँग पुराना दललाई दवाब दिँदै मतदाताहरू परिवर्तनको आशा देखाउँदै छन्, तर असन्तुष्टि पनि छ।
- पर्सामा उम्मेदवारहरू फेरिए पनि विकासमा सुधार नहुएपछि मतदातामा असन्तुष्टि बढ्दै गएको छ।
वीरगञ्ज- मौसमी गर्मी र मतदानकोे मिति नजिकिएसँगै मधेसका बारा र पर्सामा चुनावी सरगरर्मी ह्वात्तै बढेको छ।
केन्द्र र सञ्चार माध्यममा अझै चुनाव होला कि नहोला भन्ने अन्यौल छाइरहँदा सहरवस्तीमा भने त्यसको कत्ति पनि परवाह नगरी उम्मेदवार, दलका नेताकार्यकर्ता मात्रै होइन, आम मतदाता पनि चुनावी रौनकमा मिसिएका छन्।
देशकै आर्थिक हबका रूपमा रहेको बारा-पर्साका निर्वाचन क्षेत्रहरू दक्षिणमा भारतीय सीमादेखि उत्तरमा पहाडी जिल्लाका खोँचहरुसम्म फैलिएका छन्। राजनीति र चुनावप्रचि चासो राख्ने सर्वसाधारणहरूमाझ अन्य क्षेत्रमा जस्तै यहाँ पनि पुराना दललाई नयाँ भनिएका दलहरूले दबाब सिर्जना गरेका छन्। यसपटक नयाँलाई हेरौँ भन्ने मान्यता राख्ने र पुराना दलहरूप्रति असन्तुुष्टि पोख्नेहरु भेटिन्छन्।
बारा र पर्सा दुवै जिल्लामा चार/चारवटा निर्वाचन क्षेत्र छन्। ती क्षेत्रका चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै दलहरुले सकेसम्म प्रयास जारी राखेका छन्।

सिमरा विमानस्थल नजिकै भेटिएका विकास हम्सपाल पर्सा पकाहा मैनपुर गाउँपालिकाका बासिन्दा हुन्। २० वर्षे उनी नवलपरासीको गैँडाकोटमा कपाल काट्ने व्यवसायमा आबद्ध छन्। घर आएका बेला सिमरा पुगेका उनी भारतमा सरकारले नागरिकलाई पानी, बत्ती, बिजुली, रासनमा सुविधा दिएकाले नेपालमा पनि त्यस्तै हुनुपर्ने बताउँछन्। अरू दलले अहिलेसम्म नदिएको सुविधा नयाँ दलले दिने उनको आस छ। उनी भन्छन्, ‘चुनावमा सहभागी हुन घरकालाई पनि भन्छु। साथीभाइलाई पनि भोट हाल्नुपर्छ भनेर भनिरहेको छु। हामी सात दाजुभाइ छौँ।’
बारा ४ का मतदाता रहेका रोहित चौधरी क्रसर व्यवसायमा आबद्ध छन्। उनी यसपटकको चुनाव अघिल्लोभन्दा फरक हुने बताउँछन्। उनी भन्छन्, ‘यसपटको चुनाव अघिल्लोभन्दा फरक हुन्छ। किन भने नेताहरुले पटकपटक दल फेरे तर मतदाताहरू त्यसप्रति असन्तुष्ट नै देखिन्छन्।’
अघिल्लोपटक गठबन्धनको समर्थनमा एकीकृत समाजवादीबाट उठेका किसान श्रेष्ठ यसपटक एमालेका तर्फबाट बारा- ४ मा उम्मेदवार छन्। ‘घर फर्किएका’ किसानसँग प्रस्तिपर्धा गर्न कांग्रेसले रामबाबु गुप्ता, नेकपाले अजय कुशवाह र रास्वपाले माओवादीको प्रदेशसभाको सांसद छाडेर आएका रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ।
सडकमा भोरी बोक्दै गर्दा भेटिएका सिमरा नयाँ वस्तीका जयराम शाह आफूहरूलाई चुनावले धेरै नछोएको बताउँछन्। उनी भन्छन्, ‘चुनाव त आएको छ। तर कसलाई मत दिने भन्नेबारे सोचेका छैनौँ। बरु कसलाई भोट दिँदा ठीक होला?’

वीरगञ्ज महानगरपालिका १३ का हदिश मन्सुर आसन्न चुनावमा नयाँ दलले पुरानालाई डर पैदा गराइरहेको दाबी गर्छन्। पर्सा-१ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अनिल रुङ्गटा र एमालेका प्रदीप यादवको सम्पर्क कार्यालय नजिकै बसेका मन्सुर भन्छन्, ‘वीरगञ्जमा चुनाव राम्रैसँग लागेको छ। पुराना दललाई नयाँले चुनौती थपेका छन्। तर पुराना दल यो क्षेत्रमा झन बलिया हुँदै गएको मेरो बुझाइ छ।’
अघिल्लोपटक उपेन्द्र यादव नेतृत्वको जसपाबाट निर्वाचित भएका प्रदिप यादव पार्टी विभाजन हुँदा अशोक राईतिर लागेर चुनावको मुखमा एमाले प्रवेश गरेर प्रचारप्रसारमा लागेका छन्। उनले जसपाका कार्यकर्तालाई लिएरै चुनाव प्रचार गरिरहेका छन्। पर्सा १ मा नेकपाले अजय चौरसिया र रास्वपाले बुद्धप्रसाद पन्तलाई उम्मेदवार बनाएको छ।
पर्साको पोखरिया नगरपालिकाको बजार क्षेत्रमा स्टेशनरी पसल चलाउँदै आएका पन्नालाल क्षेत्र भौतिक विकासमा केही सुधार भए पनि अपुग भएको बताउँछन्। ‘यहाँबाट वीरगञ्जसम्म पुग्न सधैँ जाम खेप्नुुपर्छ। नगर अस्पताल छ। तर औषधि, चिकित्सक र पैसाको अभाव छ,’ उनी अगाडि भन्छन्, ‘यहाँबाट ठोरीसम्म पुग्ने ६ लेनको बाटो चाहियो। स्नातक पढ्ने कलेज नहुँदा समस्या भइरहेको छ।’ उनको घर पर्साको ४ नम्बर क्षेत्रमा भए पनि अहिले व्यवसाय गरिरहेको पोखरिया ३ नम्बर क्षेत्रमा पर्छ। ती क्षेत्रहरुमा पनि नयाँ दलले पुरानामाथि दबाब सिर्जना गरेको उनको बुझाइ छ।

पोखरियाका अर्का बासिन्दा उत्तर मिया मधेसमा मधेसी समुदायका व्यक्ति नै उम्मेदवार हुँदा विकास नभएको बुझाइ राख्छन्। उनी भन्छन्, ‘पहाडिया भएको भए विकास हुन्थ्यो। मधेसी मात्रै भएकाले भएन। उनीहरुले ध्यान नै दिएनन्।’
पर्सा २ मा एमालेले रीमाकुमारी यादव, कांग्रेसले पूर्वकानुनमन्त्री अजयकुमार चौरसिया, नेकपाले मनोजकुमार चौधरी र रास्वपाले सुशीलकुमार कानुलाई चुनावी मैदानमा उतारेको छ।
पर्सा ३ मा एमालेले रुपेश पाण्डेय, कांग्रेसले सुरेन्द्र चौधरी, नेकपाले छोटेलाल प्रसाद यादव र रास्वपाले रमाकान्त चौधरी, जसपाले नागेन्द्रप्रसाद यादवलाई उठाएको छ।
पर्सा ४ मा एमालेबाट जालिम मियाँ मन्सुर, कांग्रेसबाट रमेश रिजाल, नेकपाबाट जयप्रकाश थारु, रास्वपाबाट टेकबहादुर शाक्य, जसपा नेपालबाट कृपासिन्धुुप्रसाद उम्मेदवार छन्।

