काठमाडौँ- नइ एकेडेमीले ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धि गर्नुका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान र सिर्जनात्मक संवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका १२ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
प्रत्येक पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको जनाइएको छ।
पुरस्कारबाट सम्मानित हुनेहरूमा प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा. कपिलदेव लामिछाने, प्रा. केशव सुवेदी, प्रा.डा. चक्रपाणि खनाल, प्रा.डा. जङ्गब चौहान, प्रा.डा. भरतकुमार भट्टराई, प्रा.डा. महादेव अवस्थी, डा. रजनी काफ्ले ढकाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. लेखप्रसाद निरौला, डा. साधना पन्त ‘प्रतीक्षा’ र डा. हर्कबहादुर शाही रहेका छन्।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा आयोजना हुन लागेको तीनदिने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ २०८२ साल चैत २७, २८ र २९ गते सञ्चालन हुनेछ।
सोही अवसरमा ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गरिने सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन्।