- उम्मेदवारहरू मतदाता प्रभावित गर्न व्यक्तिगत अधिकार उल्लंघन गर्दै मत सर्वेक्षण जस्ता गतिविधि सार्वजनिक रूपमा गर्दैछन्।
- सामाजिक सञ्जालमा उम्मेदवारले एजेण्डा छाडेर मतदाताको मन भजाउन केन्द्रित भिडियोहरू हालिरहेका छन्।
- निर्वाचन आयोगले आचारसंहिता पालनामा सुधार प्रयास गरिरहेको भए पनि गोप्यता उल्लंघनबारे ठोस कारबाही भएको छैन।
काठमाडौँ– क्यामेरामा देखिएकी एक युवती बोल्छिन्– घण्टीमै हाल्ने हो। सायद ती युवतीले केमा भोट हाल्ने हो भन्ने प्रश्नको जवाफ दिएकी थिइन्।
हो ! पछाडिबाट अर्की महिला बोल्छिन्। उनी क्यामेरामा देखिँदैनिन्। घण्टीमै भोट हाल्ने हो भनेकोमा उनले धन्यवाद भने भन्छिन्।
माघ २३ गते रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यको फेसबुकबाट सार्वजनिक भिडियो हो यो। आचार्य फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका छन्।
निर्वाचनमा भाग नलिने मुडमा रहेका उनी पार्टीले पठाएपछि अहिले चुनावका लागि मत माग्दै गाउँगाउँ पुगिरहेका छन्। सार्वजनिक ४९ सेकेन्डको उक्त भिडियोमा ती युवतीमात्र होइन, जहाँ घण्टीमा भोट दिने हो भन्ने अन्य व्यक्ति लाई पनि देखाइएको छ।
भिडियोमा अर्का एक पुरुषले भनेका छन्– ‘अहिले चाहीँ नयाँ परिवर्तन हुँदैछ। सबैले घण्टीमा हाल्छन्।’
भिडियो कुन ठाउँको हो कुनै जानकारी छैन। आचार्यले घण्टी रोज्नेबाहेक अन्य मतदाता नै छैनन् भन्ने गरी भिडियोबाट सन्देश दिन खोजेका छन्।
०००
‘बुढादेखि बच्चासम्मको यही आवाज छ कि घण्टी।… तपाईं नआए पनि यहाँ सबैले घण्टी भन्छ’, लुम्बिनी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिष्पर्धामा रहेका रास्वपाकै उम्मेदवार डा. लेखजंग थापाले सार्वजनिक गरेको भिडियोमा यस्तै भन्दैछन् एक व्यक्ति पनि।
माघ २० गते सार्वजनिक ५४ सेकेन्डको भिडियोमा आफ्ना प्रतिवद्धता के हुन्? थापाले भनेका छैनन्। घण्टीमा भोट हाल्ने हो भन्नेलाई सकेसम्म भिडियोमा देखाउने प्रयास गरिएको छ।
कुनै गार्मेन्टमा खिचिएको भिडियोमा यस व्यवसायका लागि के काम गर्न चाहेका हुन् कुनै लिखित प्रतिवद्धता त छैन तर थापाले मौखिकरुपमा समेत बोलेका छैनन्।
उनले पनि भिडियोमा मतदातालाई प्रभावित गर्ने गरी घण्टीमा मतदान गर्नेबाहेक अन्य मतदाता छैनन् भन्ने सन्देश दिएका छन्।
०००
भोट चाहिँ केमा हाल्छम् होला यसपालि? एक जेष्ठ जागरिकलाई भिडियोमा देखाएर स्थानीय लवजमा प्रश्न सोधिएको छ। प्रश्नको जवाफ दिन हिचकिचाएका उनको कपाल मात्र होइन, दाह्री जुँगा नै सेतै छ। उनी सिधा जवाफ दिँदैनन्।
किनकि उनलाई कुटाई नै पो खाइन्छ कि भन्ने चिन्ता पनि छ। तर पनि आफ्नै लवजमा भन्छन्– ‘भोट त अब…, अहिले भन्दै जाँदा कुटाई खाइन्छ होला।…पृथ्वी माटै।’
प्रश्न सोध्नेले बुझ्ने गरी ती जेष्ठ नागरिकले जवाफ फर्काउँछन्। १८ सेकेन्डको उक्त भिडियो प्रमेश राईको फेसबुकबाट पोष्ट भएको छ। उक्त पोष्टलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो फेसबुकमा राखेका छन्।
राईको चुनाव चिह्न माटो हो। उनी सुनसरी १ बाट उम्मेदवार रहेका छन्।
000
यसपाली चुनाव आउँदैछ कसलाई मतदान गर्ने विचार गर्नुभएको छ? जवाफमा एक महिला भन्छिन्– ‘सुमन सायमी।’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट काठमाडौँ-८ मा उम्मेदवार हरेका सायमीको फेसबुकमा यस्तै सुमन सायमी, तारामा मतदान गर्ने भन्ने थुप्रै भिडियो बनाइवरी पोष्ट्याइएको छ।
उक्त भिडियोमा बसन्ती नाम खुलाएकी ती महिलाले सायमीको चुनाव चिह्न के हो थाहा नपाएको बताउँछिन्। ‘सुमन सायमी भनेको बच्चैदेखि चिनेको हो हैन। त्यसको चिह्न के हो हामीलाई भन्नुपर्यो। हो त्यसैमा राख्ने’, बसन्तीले कसलाई मतदान गर्ने विचार गर्नुभएको छ भन्ने प्रश्नको जवाफ दिन्छिन्।
भिडियो सायमीको पक्षमा सारा मतदाता छन् भन्ने गरी देखाउने प्रयास गरिएको छ। त्यसैले त चुनाव चिह्न थाहा नभएकी बसन्तीलाई भिडियोमा नदेखिएका प्रश्नकर्ता नै भनिदिन्छन्– ‘उहाँ (सायमी)को चुनाव चिह्न तारा छ।’
अनि फेरि प्रश्न गर्छन्– अब तपाईंले मतदान केलाई दिने? तारालाई दिने? जवाफमा बसन्ती भन्छिन्– ‘आफूलाई कसले सहयोग गर्यो त्यसलाई दिने।’
रास्वपाका आचार्य र थापा, श्रमसंस्कृति पार्टीका अध्यक्ष राई र नेकपाका सायमी मात्र होइनन्, यस्तै भिडियो बनाएर पोष्ट्याउने उम्मेदवारहरू बेग्रल्ती भेटिन्छन्।
यसैगरी कुनै एक अमुख दललाई समर्थन गर्ने गरेको भिडियो पोष्ट्याएर उम्मेदवारहरूले चुनावी एजेण्डाभन्दा पनि मतदाताको मन भजाउन खोजेका छन्। चुनावी प्रचार गर्ने भनेको निर्वाचनपछि आफूले गर्ने कामकोबारेमा मतदातालाई जानकारी दिनु हो। ती काम मन पाएर मतदाताले मत दिएर जिताउँछन्। मन नपराए एजेण्डाविहीन करार गरेर मतदाताले हराउँछन्।
सामाजिक सञ्जाल पनि यस्तै आफ्ना एजेण्डा सुनाउने राम्रो माध्यम उम्मेदवारले बनाउन सक्छन्। जहाँ लाखौँ मतदातालाई सहज एजेण्डाबारे जानकारी गराउन सक्छन्।
तर सामाजिक सञ्जालमा आउने बेग्रल्ती कतिपय भिडियोमा उम्मेदवारले एजेण्डाभन्दा पनि मतदाताको मनलाई भजाउन खोजेका छन्।
अपवादबाहेक दलहरूले चुनावी एजेण्डा ल्याइसकेका छैनन्। कांग्रेस, एमाले, रास्वपाजस्ता ठूला दलले चुनावी एजेण्डा ल्याउने तयारी गर्दैगर्दा उम्मेदवार भने मत माग्न गाउँगाउँ पुगिरहेका छन्।
एजेण्डाविहीन गाउँ पुगेका उम्मेदवारले भेटकाक्रममा मतदाताले भनेको मनको कुरालाई व्यापारीकरण गरेका छन्। उम्मेदवारसँग साटेको मनलाई क्यामेरामा कैद गरेर भजाउने प्रयासमा उम्मेदवार तछाडमछाड गरिरहेका छन्।
कति उम्मेदवार मतदाताको मनलाई भजाउने कार्यमा सक्रिय रहेका छन्? कुनै निश्चित आँकडा छैन। सामाजिक सञ्जालमा भेटिने कैयन भिडियोले उम्मेदवार एजेण्डा छाडेर भिडियोमार्फत् एकहोरो व्यापारमा लागेका छन्।
मतदाताको मन भजाउनेलाई कारबाही के?
निर्वाचनमा गोप्य मतदान नागरिकको अधिकार हो। कसले कसलाई मत दिने भन्ने व्यक्तिगत अधिकार रहेको भए पनि उम्मेदवार नै नागरिकको अधिकार कुल्चदैँ गोप्य मतदानको खिल्ली उडाइरहेका छन्।
उम्मेदवारले वा उम्मेदवारसँग गएका कोहीसँग पनि कसलाई मत दिने हो भन्नेर सोध्ने अधिकार छैन। कसलाई मत दिने भन्ने अधिकार मतदाताको व्यक्तिगत अधिकार हो।
उम्मेदवारले आफ्नो एजेण्डा सुनाउने, विगतमा गरेका काम देखाउने हो। अहिले गाउँगाउँ पुगेका कतिपय उम्मेदवारहरू आफ्नो काम देखाउने वा भावी योजनाबारे बुझाउने भन्दा पनि कसरी हुन्छ मानसिकरुपमा आफ्नो मतदातालाई पार्टीप्रति बफादार बनाउन सकिन्छ भन्ने ध्यावन्नमा छन्।
उम्मेदवार र उनका सहयोगीहरूले क्यामेरामै कैद गर्दै नागरिकको गोप्य मतदानको अधिकारलाई कुल्चिरहेका छन्। तर निर्वाचन आयोगले भने नागरिकको अधिकारलाई ख्याल नै गरेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको वा नगरेको हेर्न जिल्ला-जिल्लामा आयोगले कर्मचारी खटाएको छ। उनीहरूलाई उम्मेदवारले खुलमखुला कसलाई मत दिने भन्दै राखिएका भिडियोलाई निर्वाचन आचारसंहिता उलंघनको मापदण्डभित्र राखेका छैनन्।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी आचारसंहितामा सुधार हुँदै गएको र एकैपटक आचारसंहिता पूर्ण पालना हुन्छ भन्न नसकिने बताउँछन्। ‘हामीले आचारसंहिता उल्लंघन गरे नगरेको हेर्न कमर्चारी खटाएका छौँ। अब एकपटक आचारसंहिता पूर्ण पालना त गराउन सकिँदैन’, उनले भने ‘तर आचारसंहिता पालनामा धेरै सुधार हुँदै गएको छ।’
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा कसलाई मत दिने भन्दै सञ्चारकर्मीसमेतले मत सर्वेक्षण गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले रोक लगाएको छ। निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) अनुसार कसलाई मत दिने भनेर सोध्ने विषय नै कसूरका रुपमा रहेको छ।
निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) मा कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्ने कार्य गर्न नहुने व्यवस्था छ। उक्त व्यवस्थालाई टेक्दै झापा प्रशासनले सञ्चारकर्मीलाई मत सर्वेक्षण गर्न रोक लगाए पनि अन्य ठाउँमा भने खुलमखुला मतदाताले नै मत सर्वेक्षण गरिरेहका छन्।
निर्वान आचारसंहिताको दफा ४ को (ट) र (थ) मा पनि सामाजिक सञ्जालमा कसरी प्रचार गर्ने व्यवस्था गरिएको छ। (ट) मा भनिएको छ– ‘निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने।
त्यस्तै (थ)मा भनिएको छ– ‘निर्वाचन प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न वा त्यस्ता सामग्रीमा प्रतिकृया दिन नहुने।’
उम्मेदवारहरू नै सामाजिक सञ्जालको प्रयोग गर्दै मतदाता प्रभावित पार्ने उदेश्यले भिडियो बनाइरहेका छन्।