- ‘समय सूत्र’ पुस्तकले समयको भौतिक, अनुभवजन्य, जैविक र मनोवैज्ञानिक आयामहरूलाई वैज्ञानिक र दार्शनिक चिन्तनसहित चर्चा गर्दछ।
- पुस्तकले वैदिक र अन्य महत्त्वपूर्ण ग्रन्थका उद्धरणसहित विषय समेटेर विद्यार्थी र पाठकलाई समयबारे प्रामाणिक जानकारी दिन्छ।
- लेखकका अनुसार समय बुझ्नु मात्र घडी हेर्नु नभई अस्तित्त्वको भाषा बुझ्न र लय समात्न हो।
वैदिक तथा वैज्ञानिक पक्षहरूबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’ सार्वजनिक भएको छ। उक्त पुस्तक लेखक तथा सम्पादक श्रीश भण्डारीले लेखेका हुन्।
शनिबार काठमाडौंमा लेखक भण्डारीको उक्त पुस्तक भौतिकशास्त्रका विद्वान् प्राडा. उदयराज खनाल, पूर्वीय दर्शनका ज्ञाता प्राडा. आमोदवर्धन कौण्डिन्यायन, वरिष्ठ चित्रकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्व कूलपति रागिनी उपाध्याय, वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, पत्रकार टीकाराम यात्री, इटर्नल पब्लिकेसन प्रालिकी प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारी र लेखक भण्डारीले एकसाथ सार्वजनिक गरेका हुन्।
पुस्तक लोकार्पण समारोहमा समयबारे प्राज्ञिक व्यक्तिहरू र लेखकबीच समय–संवाद गरिएको थियो।
वैदिक र अन्य महत्त्वपूर्ण ग्रन्थका सम्बद्ध विषयलाई मूल उद्धरणसहित उल्लेख गरी प्रामाणिक बनाइएकाले यो पुस्तक समयबारे जान्न चाहने विद्यार्थी वर्ग र आम पाठकका लागि उपयोगी रहेको प्रा. कौण्डिन्न्यायनले बताए।
चित्रकार रागिनी उपाध्यायका अनुसार यस पुस्तकले हामीलाई समयको वास्तविक अर्थबोध गराउँछ।
लेखक भण्डारीका अनुसार समय बुझ्नु भनेको घडीको चाल हेर्नु मात्र होइन, अस्तित्त्वको भाषा बुझ्नु, भाव अनुभूति गर्नु र लय पक्रनु हो।
किताब पढिसकेपछि कुनै पनि पाठकले आफ्ना पलहरूलाई बितिजाने एकाइ मात्र नभई अर्थयुक्त सम्भावना पनि हो भनेर बुझिदिए आफ्नो प्रयास सार्थक भएको ठान्ने उनले बताए । इटर्नल पब्लिकेसन प्रालिले सार्वजनिक गरेको यो किताब २६४ पृष्ठको छ । ५०० रुपैयाँ मूल्य रहेको यो पुस्तक शनिबारदेखि नै बजारमा उपलब्ध छ।
भौतिकशास्त्री खनालका अनुसार यो पुस्तक मूलतः समयबारे जान्न र यसलाई अझ गहिरोसँग बुझ्न चाहने पाठकहरूका लागि हो ।