- बाँके निर्वाचन क्षेत्र नम्बर २ मा २० जना उम्मेदवार प्रतिस्पर्धा गर्दै, तर मतदानमा खासै चहलपहल देखिएको छैन।
- अघिल्ला निर्वाचनमा फरक उम्मेदवार विजयी भएकाले दलहरू आफ्नो पुरानो बिरासत जोगाउन प्रयासरत छन्।
- एमाले, कांग्रेस, राप्रपा, राप्रपा लगायतका उम्मेदवारले आफ्ना-आफ्ना दाबी गर्दै आक्रामक रूपमा प्रचार अभियान चलाएका छन्।
नेपालगञ्ज- यसपटकको प्रतिनिधि सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर २ मा २० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। तर अहिलेसम्म यहाँका मतदातामा खासै चुनावी चहलपहल देखिएको छैन। उम्मेदवारहरूले घरदैलो अभियान सुरु गरिसकेका छन्। कोही एक्लै माइकिङ गर्दै हिँडेका छन् भने कोही दलबलसहित सडकमा भेटघाट र प्रचारमा जुटिरहेका छन्।
नेपालगन्ज बजार र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नम्बर २ ले हरेक निर्वाचनमा फरक-फरक उम्मेदवारलाई विजयी बनाउँदै आएको इतिहास बोकेको छ। कहिले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला विजयी भए, कहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणा, त कहिले संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई निर्वाचित भए।
वि.सं. २०६४ मा जिल्लामा चारवटा निर्वाचन क्षेत्र बनाइँदा नेपालगन्ज बजार क्षेत्र नम्बर ३ मा परेको थियो। सो निर्वाचनमा सुशील कोइरालालाई फोरमका सर्वदेव ओझाले पराजित गरेका थिए, जुन धेरैका लागि अप्रत्याशित नतिजा थियो।
वि.सं. २०७९ को निर्वाचनमा एमालेसँग गठबन्धन गरेर राप्रपाका डा. धवलशमशेर राणाले २९ हजार ५७८ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले २३ हजार ५२० मत प्राप्त गरे। कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरीले १ हजार ३३३ मत ल्याएका थिए।
वि.सं. २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईले २१ हजार ५७५ मत ल्याएर विजय हासिल गरेका थिए। एमाले गठबन्धनका पशुपतिदयाल मिश्रले १५ हजार ९५१ र राप्रपाका ओमप्रकाश आजादले १२ हजार ६२२ मत प्राप्त गरेका थिए।
पछिल्ला निर्वाचनका नतिजा हेर्दा यस क्षेत्रमा लगातार एउटै उम्मेदवार दोहोरिएको छैन। यही कारणले यसपटक पनि दलहरू आफ्नो पुरानो बिरासत जोगाउने प्रयासमा जुटेका छन्।
यस निर्वाचनमा एमालेबाट मोहम्मद इस्तियाक राई, कांग्रेसबाट सुधांशु कोइराला, राप्रपाबाट ऋषिराज देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक श्रेष्ठ तथा नेपाली कम्युनिस्ट पार्टीबाट दिपेन्द्र विष्टलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
९७ हजार ८०९ मतदाता रहेको यस क्षेत्रमा कांग्रेस स्व. सुशील कोइरालाको राजनीतिक बिरासत जोगाउने प्रयासमा छ। अघिल्लो निर्वाचनमा विजयी भएको राप्रपाले यसलाई प्रतिष्ठाको विषय बनाएको छ। तीन पटक मन्त्री भइसकेका मोहम्मद इस्तियाक राईले आफूले गरेको विकासको आधारमा मत माग्दै पुनः विजयको दाबी गरिरहेका छन्। अघिल्ला निर्वाचनमा खासै प्रभाव देखाउन नसकेको ‘घण्टी’ चिन्ह यसपटक भने आक्रामक रूपमा अघि बढिरहेको छ। नेकपाले पनि चुनावी सरगर्मी बढाएको छ।
पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको यस निर्वाचन क्षेत्रमा मतदाताको झुकाव कता जान्छ भन्ने विषयमा अहिल्यै ठोकुवा गर्न सकिने अवस्था छैन।