- झापा क्षेत्र नम्बर ५ मा बालेन शाहको सक्रियता बढ्दै जाँदा रास्वपामा अन्य दलका नेताहरू प्रवेश गरिरहेका छन्।
- नेपाली कांग्रेसका प्रसाईं र नेकपा (एमाले) निकट युवा संघका नेताहरूले रास्वपामा प्रवेश गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन्।
- पार्टी प्रणालीमा असन्तुष्ट रहेका काँग्रेस र एमालेका नेताहरूले वैकल्पिक राजनीतिक धारको रूपमा रास्वपालाई मानिरहेका छन्।
झापा- झापा क्षेत्र नम्बर ५ मा आगामी निर्वाचनको सरगर्मीसँगै राजनीतिक समीकरणमा हेरफेर देखिन थालेको छ।
मंगलबार मनोनयन दर्ता गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन साहले आफ्नो सक्रियतालाई तीव्र बनाएका छन्।
यसै क्रममा उनले नेपाली काँग्रेस र नेकपा (एमाले)का स्थानीय नेतृत्व तथा भातृ संगठनका प्रभावशाली नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याउन सुरु गरेका छन्।
बालेन शाहको चुनावी अभियानलाई बलियो बनाउन अन्य दलका स्थापित नेताहरू रास्वपामा प्रवेश गर्ने लहर चलेको छ। नेपाली कांग्रेसका दमक नगर सभापति तथा दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रसाईंलाई मनोनयन दर्ताकै दिन मंगलबार बालेनले रास्वपामा स्वागत गरे। उनले बालेनलाई निस्वार्थ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाश प्रसाईं(सेतो सर्टमा)लगायतसँग बालेन।
झापा क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने कमल गाउँपालिकाका नेपाली काँग्रेसका सचिव बुढाथोकीले पार्टीको साधारण सदस्य र पद दुवैबाट राजीनामा दिँदै रवि लामिछानेको अभियान र बालेन शाहलाई विजयी गराउन भन्दै रास्वपा प्रवेश गरेका छन्।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ पनि एमाले छाडेर रास्वपामा प्रवेश गरेका छन्।
बुढाथोकीले पार्टी सिस्टममा नचलेर नेताको हुकुममा चलेको, व्यक्तिगत स्वार्थ सर्वोपरि राखिएको र युवाको देश बनाउने अभियानमा बाधक देखिएकाले कांग्रेस छाडेको बताएका छन्।
एमाले छाडेका छवि खतिवडाले अबको राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने र झापा- ५ मा वैकल्पिक तथा परिवर्तनकारी राजनीतिक धारको रूपमा बालेनको अभियानमा सक्रिय रहने बताएका छन्।