- बिना शल्यक्रिया मष्तिष्कको नशा फुटेर गम्भीर अवस्थामा रहेकी राधिका लिम्बूको केएमसीमा सफल उपचार गरिएको छ।
- फ्लो डाइभर्टर एन्ड कोइलिङ विधिबाट उपचार गर्दा बिरामीको खुट्टाको धमनीबाट पाइप छिराई रगतलाई सही दिशामा मोडिएको हो।
- यो प्रविधिले शरीरमा दाग नबस्ने, छिटो निको हुने र अस्पताल बसाइ छोटो हुने विशेषता राख्दछ।
काठमाडौँ- काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर जीवनमरणको दोसाँधमा पुगेकी ताप्लेजुङकी ५२ वर्षीया राधिका लिम्बूको बिना शल्यक्रिया सफल उपचार गरेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गम्भीर अवस्थामा रेफर गरेकी लिम्बूको मष्तिष्कमा धेरै रगत जमिसकेको थियो ।
केएमसी ल्याउन केही घण्टा मात्र ढिलो भएको भए उनको ज्यान जान सक्ने जोखिमपूर्ण अवस्थामा अस्पतालका न्युरो इन्टरभेन्सनिस्ट एवं इन्डोभास्कुलर स्ट्रोक विशेषज्ञ डा. अरुण पौडेलको टोलीले तत्काल उपचार प्रक्रिया अगाडि बढाएको थियो ।
यो उपचार नेपालमै विरलै हुने ‘फ्लो डाइभर्टर एन्ड कोइलिङ’ प्रविधिबाट गरिएको हो, जसमा बिरामीको खुट्टाको धमनीबाट मसिनो पाइप छिराएर मष्तिष्कको फुटेको नशासम्म पुऱ्याई रगतको प्रवाहलाई सही दिशामा मोडिएको थियो ।
डाक्टरहरूको साढे दुई घण्टाको अथक प्रयासपछि रक्तश्राव बन्द भई बिरामीले नयाँ जीवन पाएकी छिन् । नेपालमा डीएम न्युरोइन्टरभेन्सनिस्ट र बाई प्लेन क्याथल्याब जस्तो आधुनिक प्रविधि केएमसीमा मात्र उपलब्ध भएकोले यो सम्भव भएको अस्पतालले जनाएको छ ।
यस्तो प्रविधिको उपचारबाट शरीरमा कुनै दाग नबस्ने, बिरामी छिट्टै निको हुने र अस्पताल बसाइ पनि छोटो हुने विशेषज्ञहरूको भनाइ छ । जुनसुकै उमेरका र शल्यक्रिया गर्न नमिल्ने दीर्घरोगीहरूको समेत यो विधिबाट उपचार गर्न सकिन्छ ।
यसअघि यस्तो उपचारका लागि विदेश जानुपर्ने बाध्यता रहे पनि अब नेपालमै यो सुविधा उपलब्ध भएको छ । सफल उपचारपछि बिरामी राधिका र उनकी छोरी अनुशाले अस्पताल तथा उपचारमा संलग्न टोलीलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् ।
डाक्टर सुनील शर्माद्वारा सञ्चालित केएमसी पछिल्लो समय निःशुल्क र विशिष्ट स्वास्थ्य सेवाका कारण देशभर लोकप्रिय बन्दै गएको छ ।