काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले वास्तविक माओवादी आफूहरु नै भएको दाबी गरेका छन्।
बागमती प्रदेश कमिटीको आयोजनामा बिहीबार भएको कार्यक्रममा उनले असली माओवादी आफूहरु भए पनि त्यसको रुप र सार पाउन ११ वर्ष लागेको बताए।
उनले जनयुद्धका प्रतिनिधि र मार्क्सवाद, लेनिनवाद र माओवादबाट निर्देशित भएर नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गर्ने पार्टी र नेतृत्व आफूहरु भएको जिकिर गरे। ११ वर्षको संर्घषपछि आफूलाई माओवादीकै रुपमा प्रस्तुत गर्न पाएको उनको भनाइ छ।
गत कात्तिक १९ गते पुष्पकमल दाहालले माधव नेपाललगायतका अरु पार्टीहरुसँग एकताको नाममा माओवाद र माओवादी परित्याग गरेको उनले बताए। दाहाललाई माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि सह्य नभएको उनको आरोप छ।
उनले माओवादीलाई समाप्त पार्ने डिजाइन भएको बुझेर नै माओवादीलाई आफूहरुले पुनः ब्राण्डिङ गर्न लागेको बताए। माओवादी देशको विचारधारात्मक शक्ति, ब्राण्ड, नेपाली श्रमिक जनताको धड्कन भएको उनको भनाइ छ।