- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारलाई सहयोग गर्न धर्मेन्द्र झाले राससको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
- आफ्नो कार्यकाल सफल भएको भन्दै झाले सञ्चार सुधारलाई समावेशी र प्रविधिमैत्री बनाउन योगदान गरेका छन्।
- राजीनामाको औपचारिकतासँगै उनले राससमा समाचार सेवा विविधीकरण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको पहल गरेका थिए।
काठमाडौँ- राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारलाई मार्गप्रशस्त गर्दै काम गर्न सजिलो बनाउन आफूले पदबाट राजीनामा दिएको झाले बताएका छन्।
आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै झाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत राजीनामा बुझाएका हुन्।
राजीनामाको क्रममा उनले २०७९ असार १५ देखि २०८२ चैत १५ सम्म करिब चार वर्षको कार्यकालमा भएका उपलब्धिहरूलाई समेटेर तयार पारिएको विस्तृत ‘मेरो कार्यावधि मेरो अनुभव’ शीर्षकमा कार्यप्रगति प्रतिवेदन पनि तयार गरेका छन्।
प्रतिवेदनमा राससको भौतिक, प्राविधिक र सम्पादकीय सुधारका बहुआयामिक पक्षहरूलाई समेटिएको छ।
उनले आफ्नो कार्यकालमा राससको सेवालाई थप समावेशी र प्रविधिमैत्री बनाउन चालेका कदमहरूलाई प्रतिवेदनको मुख्य आधार बनाएका छन्।
विशेषगरी समाचारका अतिरिक्त आलेख, तस्बिर, ग्राफिक्स, र श्रव्य–दृश्य (भिडियो) सेवाको प्रभावकारी सुरुवात गर्नुलाई उनले आफ्नो कार्यकालको महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा व्याख्या गरेका छन्। यसै अवधिमा राससले इतिहासमै पहिलोपटक २०८१ भदौ १७ गतेदेखि २४ सै घण्टा नेपाली समाचार सेवा प्रारम्भ गरेको विषयलाई पनि विशेष महत्वका साथ उल्लेख गरिएको छ।
झाको कार्यकालमा सेवा विविधीकरण अन्तर्गत तीन मातृभाषा (मैथिली, नेपाल भाषा र अवधि) सहित पाँच भाषामा समाचार सम्प्रेषण सुचारु भएको थियो।
त्यस्तै, भूकम्पबाट क्षतिग्रस्त राससको केन्द्रीय कार्यालय भवनको पुनःनिर्माण सम्पन्न गरी २०७९ साउन ११ गतेबाट नयाँ भवनबाट सेवा सुचारु गरिएको थियो। साथै, चितवनको भरतपुरमा राष्ट्रिय तालिम केन्द्र भवन निर्माण अन्तिम चरणमा पुगेको र धनगढीमा सुदूरपश्चिम सञ्चार विकास केन्द्र निर्माणको प्रक्रिया अगाडि बढेको विषय पनि झाले सम्झिएका छन्।
संस्थाको ६३ वर्षे इतिहास झल्काउने गरी ‘रासस मिडिया सङ्ग्रहालय’ स्थापना गरी २०८१ साउन ३२ देखि सञ्चालनमा ल्याइएको पनि झाले आफ्नो कार्यकालको उपलब्धिका रूपमा हेरेका छन्।
आफ्नो कार्यकालको समीक्षा गर्दै झाले राससलाई केवल सरकारी समाचार एजेन्सीको रूपमा मात्र नभई जनताको भरपर्दो सूचनाको स्रोत बनाउन अहोरात्र खटिएको पनि बताए। उनले राससको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, छिमेकी मुलुकका समाचार संस्थाहरूसँगको समन्वय र द्विपक्षीय सम्झौतामार्फत समाचार आदानप्रदानको दायरा फराकिलो बनाएको पनि उल्लेख गरे। राराजीनामा पश्चात् झाले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कर्मचारी र सरोकारवालाहरूलाई धन्यवाद पनि दिएका छन्।
नेपाल पत्रकार महासंघका अध्यक्ष रहिसकेका झाले विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्वको जिम्मेवारी निर्वाह गरेका छन्।