- सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गर्दै प्रधानमन्त्री कप प्रतियोगितामा महत्वपूर्ण जीत हासिल गर्यो।
- उत्कृष्ट बलिंग प्रदर्शन गर्दै सुदूरपश्चिमका खडक बोहरा र शेर मल्लले ३-३ विकेट लिएका थिए।
- लुम्बिनीका संतोष यादवले ८४ बलमा ६७ रन बनाएपछि पनि टिमले १५६ रन मात्र बनाउन सक्यो।
जनकपुरधाम – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत २० औं खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको छ। सोमबार वीरगञ्ज स्थित नारायणी रंगशालामा भएको खेलमो सुदूरपश्चिमले लुम्बिनीलाई १६९ रनको लक्ष्य दिएकोमा ४०.२ ओभरमा सबै विकेट गुमाउँदै लुम्बिनीले १५६ रन मात्र बनाउन सके।
सुदूरपश्चिमको बलर चल्दा लुम्बिनीले लगातार दोस्रो हार व्यहोरेको छ। लुम्बिनीका संतोष यादवले ८४ बलमा ६७ रन र ध्रुव सुनारले ४९ बलमा ३६ रन बनाउँदा अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङमा सुदूरपश्चिमका खडक बोहराले ५.२ ओभरमा १३ रन दिएर ३ विकेट लिँदा शेर मल्लले १० ओभरमा ३२ रन दिएर ३ विकेट लिए। यस्तै, हेमन्त धामीले २, नारायण जोशी र लोकेन्द्र चन्दले समान १।१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले समेत पुरै ५० ओभर खेल्न सकेनन्। सुदूरपश्चिमका खेलाडी ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन मात्र बनाएका थिए। सुदूरपश्चिमको तर्फबाट दिपक बोहराले ३०, हेमन्त धामीले २९, किरण ठगुन्नाले २०, अभिषेक पालले १७, प्रकाश पाण्डेले १४, नारायण जोशीले ११, सूर्य श्रेष्ठले १०, खडक बोहराले १० रन बनाए।
लुम्बिनीको तर्फबाट संतोष यादव र अजय चौहानले समान ४।४ विकेट लिए भने संदेश थापाले १ विकेट लिए।
सबै टिमले प्रधानमन्त्री कपको ४।४ वटा खेल खेलेकोमा मधेस प्रदेश ७ अंक सहित पहिलो स्थानमा छ भने त्रिभुवन आर्मी क्लब ७ अंक सहित दोस्रो, सुदूरपश्चिम ६ अंक सहित तेस्रो, नेपाल प्रहरी क्लब ५ अंक सहित चौथो स्थानमा रहेको छ।