- गुरुकुल एजुकेशनल फाउन्डेसनले ‘गामबेँसीका कवि’ क्षेत्रप्रताप अधिकारी स्मृतिमा युवा साहित्य पुरस्कारका लागि चार कृतिहरू मनोनीत गरेको छ।
- सबिना राई, उमेश अवस्थी ‘आदर्श’, सिम्योन सुकिता राई, र दोस्ताजको कृति उत्कृष्टताको मापदण्ड पूरा गर्दै शीर्ष चारमा परेका छन्।
- नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने यो पुरस्कार २०८३ वैशाख ४ मा विशेष समारोहका बीच घोषणा गरिनेछ।
काठमाडौँ- गुरुकुल एजुकेशनल फाउन्डेसनले ‘गामबेँसीका कवि’ क्षेत्रप्रताप अधिकारीको स्मृतिमा स्थापना गरेको ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८२’ को मनोनयन (सर्टलिस्ट) सार्वजनिक गरिएको छ।
देशभरबाट प्राप्त कवितासंग्रहहरूको आन्तरिक मूल्याङ्कन पश्चात् आयोजकले उत्कृष्ट चार कृतिका नाम घोषणा गरेको हो। सबिना राईको कृति ‘घामको जरा’, उमेश अवस्थी ‘आदर्श’को कृति ‘सन्ध्यामा सूर्य, सिम्योन सुकिता राईको कृति ‘सिम्योन सिम्फोनी’ र दोस्ताजको कृति ‘एकदिन मानिसहरू फर्किनेछन्’ शीर्ष ४ मा मनोनीत भएका हुन्।
नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM) को आयोजनामा प्रदान गरिने यस पुरस्कारको विजेता घोषणा आगामी २०८३ वैशाख ४ गते ‘एनसीएम डे’ (NCM Day) को विशेष समारोहका बीच गरिने आयोजकले जनाएको छ।
यस प्रतियोगिताका लागि २०८१ फागुन १ गतेदेखि २०८२ फागुन १ गतेभित्र प्रकाशित भएका कवितासंग्रहहरूलाई समावेश गरिएको थियो। युवा प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको यो पुरस्कार अघिल्लो सालदेखि प्रदान गरिँदै आइएको छ।
यस पुरस्कारले ३५ वर्ष मुनिका युवा कविहरूलाई उनीहरूको मौलिक र उत्कृष्ट कृतिका लागि सम्मान गर्दै आएको छ।
गत वर्ष ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ बाट कवि सिजन श्रेष्ठको कविता कृति हावामा अल्झिएको स्वर पुरस्कृत भएको थियो। अन्य उत्कृष्ट कृतिहरूमा युवाकवि पल्लविको ‘लाटी’, सुभासिसको ‘क’ र सुरज रानाको ‘जब कविता निस्कन्छ’ जुलुसमा समावेश थिए।