- मधेस प्रदेशले जनकपुरधाममा भएको प्रधानमन्त्री कप खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्यो।
- कर्णालीले ३१.२ ओभरमा १२९ रन बनाउँदा मधेसले २४.५ ओभरमा लक्ष्य पूरा गर्यो।
- मधेसका निरज यादवले सर्वाधिक ३८ रन बनाए भने बलिङमा आशिक बैठाले ४ विकेट लिए।
जनकपुरधाम– प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार जनकपुरधाममा भएको खेलमा मधेस प्रदेशले ५ विकेटले जित निकालेको छ।
निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशाला जनकपुरधाममा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले १३० रनको लक्ष्य दिएकोमा मधेस प्रदेशले २४.५ ओभरमा ५ विकेट गुमाउँदै जित निकालेको हो।
मधेस प्रदेशका लागि ओपनर निरज यादवले ५९ बलमा ३८ रन बनाए। यस्तै, अर्का ओपनर मयन यादवले २२ बलमा २४ रन, अरनिको यादवले २५ बलमा अविजित ३२ रन, पवन श्राफले २६ बलमा १७ रन बनाए।
बलिङमा कर्णालीकोतर्फबाट दिपेन्द्र रावतले ८ ओभरमा ४० रन दिएर ३ विकेट लिए भने दिवान पुन र प्रकाश जैशीले समान १/१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ३१.२ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनाउन सक्यो। कर्णालीका आपनर ब्याट्सम्यान रविन्द्र शाहीले ५१ बलमा ४० रन बनाए।
यस्तै, अर्जुन घर्तीले ३४ बलमा २४, दिनेश अधिकारीले १८ बलमा १८, विपिन रावलले २९ बलमा १८, कप्तान दिवान पुनले ११ बलमा १२ रन बनाए।
बलिङतर्फ आशिक बैठाले १० ओभरमा ३४ रन दिएर ४ विकेट लिँदा विशाल पटेलले २, अरनिको यादवले २ र प्रदिप पासवानले १ विकेट लिए।
मधेस प्रदेशको चारवटा खेलमा ७ अंक रहेको छ। पहिलो खेल वर्षाको कारण रद्द भएको थियो भने बाँकी तीन खेलमा जित निकालेको छ।