- टीकापुरमा सम्पन्न ‘टीकापुर साहित्य महोत्सव २०८२’ले भाषा, कला र शिक्षाका विविध पक्षलाई एउटै मञ्चमा समेट्यो।
- महोत्सवमा २१ विशेष सत्रहरू सञ्चालन भए, जसमध्ये साहित्यकार, कलाकार र अनुसन्धानकर्ताहरू सहभागी भए।
- महोत्सवले स्थानीय पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा संस्थापक संयोजक महेशविक्रम शाहले गरे।
व्यवस्थित सांस्कृतिक नगरी टीकापुरमा ३ दिने ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सम्पन्न भएको छ।
चैत १३ गतेदेखि सञ्चालन भएको यस महोत्सवले भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, सामाजिक विकासका विविध सन्दर्भ तथा स्थानीय जनजीवनका अनेक आयामलाई एउटै मञ्चमा समेट्तै राष्ट्रिय स्तरको साहित्य तथा सांस्कृतिक उत्सव गरेको बताउँछन्, संस्थापक संयोजक।
टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजना टीकापुर साहित्य महोत्सवको यो तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’मा केन्द्रित थियो।
महोत्सवमा २१ वटा विशेष सत्र सञ्चालन गरिएका थिए। ती सत्रहरूमा भाषा, साहित्य, कला, सङ्गीत, स्थानीय जनजीवन, इतिहास, पहिचान, राजनीति, समाज र समसामयिक मुद्दाहरूमा गहन छलफल, विचार विमर्श र अन्तर्क्रिया भए। देशका प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार, सामाजिक चिन्तक, चिकित्सक, पत्रकार, अनुसन्धाता, संस्कृतिविद्, विकासविद्, पर्यटन अभियन्ताहरूको सहभागिता थियो ।
साहित्यकारद्वय नीलम कार्की निहारिका र केशव दहालको सहकार्यमा लेखन कार्यशाला सञ्चालन थियो। रंगकर्मी अशेष मल्लको नाटक मञ्चन थियो।
टीकापुर साहित्य महोत्सवले स्थानीय स्तरमा उल्लेखनीय उत्साह सिर्जना गरेको बताउँछन् संस्थापक संयोजक महेशविक्रम शाह। ‘महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि वृद्धि तथा सांस्कृतिक जागरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ,’ शाहले भने।
शाहका अनुसार टीकापुर साहित्य महोत्सवको यस प्रयासले भविष्यका लेखक, कलाकार र चिन्तकहरू उत्पादन गर्ने दीर्घकालीन लक्ष्यलाई समेत सम्बोधन गर्ने छ।