काठमाडौँ- पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्का उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।
आइतबार पक्राउ परेका खड्कालाई अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
उनलाई आज बिहान करिब ३ बजे अस्पताल लगिएको स्रोतले जनाएको छ।
भदौ २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित अनुसन्धानका क्रममा खड्काको घरमा भेटिएको जलेको रकमको विषयमा छानबिन भइरहेको छ। उक्त घटनाबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेको छ, जसअन्तर्गत जलेका नोटका टुक्रा र खरानीसमेत संकलन गरिएको थियो।
जेनजी आन्दोलन दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन्।
शनिबार पक्राउ परेका ओली पनि त्रिवि शिक्षण अस्पतालमै उपचाररत छन्। ओली हिजो अदालत पनि भर्चुअल रुपमै उपस्थित भएका थिए। उनी चिकित्सकको निगरानीमा छन्।