नेपालगन्ज – नेपालगन्जमा जलेकाे अवस्थामा भेटिएको शव २२ वर्षीया सिर्जना बुढामगरकाे भएकाे पुष्टि भएकाे छ।
नेपालगन्ज-१२ काेरियनपुरमा गएराति जलेकाे अवस्थामा शव फेला परेकाे थियाे। बाँके प्रहरीका प्रवक्ता डीएसपी दिपक पातलीले शव साेही ठाउँकी सिर्जनाकाे भएकाे बताए।
४ वर्षकी छाेरीकी आमा सिर्जना श्रीमान्सँग सम्बन्ध टुटेपछि २ वर्षदेखि २४ वर्षीय माेहम्मद आरिफ ढपालीसँग लिभिङ टुगेदरमा बसेकाे पाइएकाे छ।
नेपालगन्ज-८, रानीतलाउनजिक काेठामा बस्दै आएकी सिर्जनालाई १३ गते ढपालीले कुटपिट गरेपछि प्रहरीमा खबर पुगेकाे थियाे। साेही राति ढपालीलाई प्रहरीले नियन्त्रणमा लिएर आइन्दा कुटपिट नगर्ने शर्तमा छाेडेकाे थियाे। गएराति सिर्जनाकाे शव ढपालीकाे घरनजिक जलेकाे अवस्थामा फेला परेकाे हाे।
प्रहरीले ढपाली, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे जनाएकाे छ। ‘हत्या हाे कि आत्महत्या हामीले विभिन्न काेणबाट अनुसन्धान गरिरहेका छाैँ,’ प्रहरी प्रवक्ता पातलीले भने।