- काउनीको उत्पादन घट्नुमा सेतो चामलको प्रयोग, बसाइँसराइ र बजारमा उचित मूल्यको अभाव प्रमुख कारण देखिएका छन्।
- विवाह, भोजभतेर जस्ता संस्कारहरूमा काउनीको महत्व घट्दै जानु सामाजिक धारणा र अपहेलनाको नतिजा भएको छ।
- काउनीलाई ब्रान्डिङ गरी स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्ने माग कृषकहरूले गरेका छन्।
मुगु – परम्परागत रूपमा हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको पौष्टिक अन्नबाली काउनी पछिल्ला वर्षमा तीव्र रूपमा लोपाेन्मुख बन्दै गएको छ। जिल्लाबाहिरबाट आयातित खाद्यान्न, विशेषगरी सेतो चामलको अत्यधिक प्रयोग, बसाइँसराइको बढ्दो प्रवृत्ति तथा बजारमा उचित मूल्य नपाउनु यसको प्रमुख कारणका रूपमा देखिएका छन्।
एक समय ग्रामीण भेगका मुख्य खाद्यान्नमध्ये पर्ने काउनी अहिले सीमित खेतबारीमा मात्र देखिन थालेको छ। “पहिले हरेक घरमा काउनी हुन्थ्यो, अहिले त बाली नै हराउँदै गएको छ,” छायाँनाथ रारा नगरपालिका वडा नं १ का स्थानीय कृषक दानबहादुर हितानले बताए । उनका अनुसार बजारमा काउनीले उचित मूल्य नपाउँदा हामी जस्ता कृषकहरू अन्य बालीतर्फ आकर्षित हुन बाध्य भएका हाै यसकाे संरक्षणमा स्थानिय सरकार र राज्यले ठाेस कार्यक्रम अघि बढाउनु पर्छ “।
काउनीलाई अपहेलित बालीका रूपमा बुझ्ने सामाजिक धारणा पनि यसको पतनको अर्को कारण बनेको छ। पहिले विवाह, भोजभतेर तथा विभिन्न सांस्कृतिक संस्कारहरूमा काउनीबाट बनेका परिकारहरूको विशेष महत्व हुने गर्दथ्यो। तर अहिले त्यस्ता संस्कारमा समेत यसको प्रयोग लगभग हराइसकेको छ। उत्पादन घट्दै गएपछि फाटफुट रूपमा बाहेक जिल्लाभरि काउनी खेती नै हराउँदै गएको अवस्था छ।
पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने काउनीमा प्रशस्त मात्रामा फाइबर, प्रोटिन, क्याल्सियम र आइरन पाइन्छ। यसले मधुमेह, मोटोपना तथा मुटुसम्बन्धी रोग नियन्त्रणमा सहयोग पुर्या उने विज्ञहरूको भनाइ छ। तर यस्ता फाइदाका बाबजुद पनि प्रशोधन प्रविधिको अभाव, जनचेतनाको कमी र बजार व्यवस्थापन कमजोर हुँदा यसको उत्पादन घट्दै गएको हो।
स्थानीय तहले काउनीजस्ता परम्परागत बाली संरक्षण तथा प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने माग उठ्न थालेको छ। कृषकहरूलाई बीउ, प्रविधि, तथा बजारको सुनिश्चितता गरिएमा यसको खेती पुनः विस्तार हुन सक्ने सम्भावना देखिन्छ।
विशेषगरी दुर्गम जिल्लाहरूमा जैविक उत्पादनको राम्रो सम्भावना रहेकाले काउनीलाई ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याैउन सकिने सरोकारवालाहरूको भनाइ छ।