काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा एमाले धनुषाले प्रदर्शन गरेको छ।
एमाले धनुषाले राजनीतिक प्रतिशोध, पूर्वाग्रह र शक्ति दुरुपयोगका आधारमा गरिएको यस्तो कार्यले लोकतन्त्र, विधिको शासन तथा संविधानप्रदत्त मौलिक हक–अधिकारमाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाएको हो।
ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले जिल्ला प्रशासन कार्यालय धनुषामा विरोध पत्रसमेत बुझाएको छ। विरोध पत्र बुझाउँदै एमाले धनुषाले गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्ने, कार्की आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने, भदौ २३ र २४ गतेको घटना सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेको छ।
विरोध पत्रमा राजनीतिक असहमति वा फरक विचारका आधारमा राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य नहुने भनिएको छ। कुनै पनि नेतामाथि गरिने कारबाही कानूनी प्रक्रिया, पारदर्शिता र निष्पक्षताको आधारमा हुनुपर्नेमा विरोध पत्रमा उल्लेख गरिएको छ।
यसअघि एमाले धनुषाले ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गर्दै नाराबाजीसमेत गरेको थियो।