नेपालगन्ज – नेकपा एमाले, बाँकेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई बिना शर्त रिहा गर्न माग गरेकाे छ।
जिल्ला प्रशासन कार्यालय, बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै एमाले नेताहरूले ओली र लेखकलाई तत्काल रिहा गर्न माग गरेका हुन्।

पासाङल्हामु मार्गस्थित एमाले पार्टी कार्यालयबाट प्रधानमन्त्री र गृहमन्त्रीकाे विराेधमा नारा जुलुससहित एमालेका नेता तथा कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए। एमाले बाँकेका अध्यक्ष निरक गुरुङले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए।

एमाले नेता तथा कार्यकर्ताले जुलुस निकाल्दा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे थियाे। एमालेले १७ गते जिल्लाका सबै वडा र १९ गते विभिन्न पार्टी र नागरिक समाजसँग संवाद गर्ने कार्यक्रम तय गरेकाे छ।

यसैबीच, एमाले बाँकेले जिल्ला कमिटीमा रहेका ५ जनालाई कारबाही गर्ने जनाएकाे छ। चुनावमा अन्तर्घात गरेका नेतालाई कारबाही गर्न थालेकाे जिल्ला अध्यक्ष गुरुङले जानकारी दिए।