- अमेरिकी शहरहरूमा लाखौंले डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन गर्दै ट्रम्पका नीतिहरूको विरोध गरेका छन्, जसले नागरिकहरूलाई असर गरिरहेको छ।
- प्रदर्शनमा सहभागीहरूले ट्रम्पलाई तानाशाहजस्तो व्यवहार गरेको आरोप लगाउँदै अमेरिकी जनताको शक्तिको महत्त्वलाई जोड दिएका थिए।
- प्रसिद्ध गायक ब्रुस स्प्रिङ्गस्टिमले पनि सहभागी हुँदै आफ्नो गीतमार्फत प्रदर्शनमा आप्रवासन नीतिको विरोध जनाएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका विभिन्न शहरमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ। ‘नो किंग्स र्याली’अन्तर्गत तेस्रो चरणमा ट्रम्पविरुद्ध लाखौं जनता सडकमा उत्रिएका हुन्।
आयोजकहरूका अनुसार उनीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पले लागू गरेका नीतिहरूले अमेरिकी नागरिकहरूले ज्यान गुमाउनुपर्ने तथा त्यसको प्रत्यक्ष असर भोग्नु परेको बताएका छन्। उनीहरूले इरानसँगको युद्ध, संघीय आप्रवासन कार्यान्वयन र बढ्दो जीवनयापन खर्चको विरोधमा प्रदर्शन गरेका हुन्।
उनीहरूले प्लेकार्डमा ट्रम्पविरुद्ध नाराहरू लेखेका थिए। जहाँ ‘ट्रम्प हामीमाथि तानाशाहझैँ शासन गर्न चाहन्छन्। तर यो अमेरिका हो, यहाँ शक्ति जनताकै हो, कुनै स्वघोषित राजा वा उनका धनी समर्थकहरूको होइन’ लेखिएको थियो।

ह्वाइट हाउसका एक प्रवक्ताले भने यी प्रदर्शनलाई ‘ट्रम्प डिरेजमेन्ट थेरापी सेसन’ भन्दै आलोचना गरे र यीबारे चासो राख्ने भनेका त ती पत्रकार मात्रै भएको बताए। साथै यसबारे रिपोर्ट गर्न पैसा दिइएको समेत भनेका छन्।
शनिबार दिनभरजसो अमेरिकाका सबै प्रमुख शहरहरूमा प्रदर्शन भए, जसमा न्युयोर्क, वासिङ्गटन, लस एन्जलसलगायत रहेका छन्।वासिङ्गटन डिसीको डाउनटाउन क्षेत्रमा दिउँसभर प्रदर्शनकारीहरूको भीड सडकमा उत्रियो।
पहिलेजस्तै, प्रदर्शनकारीहरूले डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स तथा प्रशासनका अन्य अधिकारीहरूको पुत्ला प्रदर्शन गर्दै उनीहरूको पदबाट हटाउन र पक्राउ गर्न माग गरेका थिए।

शनिबार हजारौँ मानिसहरूसँगै प्रसिद्ध गायक ब्रुस स्प्रिङ्गस्टिम पनि मञ्चमा उत्रिएर ‘स्ट्रिट अफ मिनेपोली’ नामक आफ्नो आप्रवासन नीतिविरुद्धको गीत प्रस्तुत गरेका थिए।
त्यस्तै, न्युयोर्क सिटीको टाइम स्क्वायरमा पनि हजारौँ मानिस जम्मा भएका थिए। भीडलाई व्यवस्थापन गर्न प्रहरीले सामान्यतया व्यस्त रहने सडकहरू बन्द गर्नुपरेको थियो।