काठमाडौँ– एमाले नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ बदलाको भावनाले प्रतिशोधपूर्ण व्यवहार भएको बताएका छन्।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले फेसबुकमा स्टाटस लेख्दै सरकारले प्रतिशोधपूर्ण व्यवहार देखाउन शुरु गरेको र त्यसको सशक्त प्रतिवाद गर्नुपर्ने बताएका हुन्।
‘रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा नयां सरकार गठन भए लगत्तै बदलाको भावनाले प्रतिशोधपूर्ण व्यवहार देखाउन शुरू गरेको छ । यो निन्दनीय कार्य जसरी प्रारम्भ गरिएको छ , यसको सशक्त प्रतिवाद र प्रतिरोध गरिनुपर्छ’, उनले लेखेका छन्।
साथै पोखरेलले ओलीको पक्राउलाई निन्दनीय पनि भनेका छन्। ‘निन्दनीय र प्रतिशोधपूर्ण सरकारी व्यवहारको कानूनी र राजनीतिक रूपमा प्रतिरोध गर्न सबै ठाउँबाट अविलम्व आवश्यक कदम चाल्नैपर्छ’, उनको भनाइ छ।
शुक्रबार शाहको नेतृत्वमा गठन भएको सरकारले शनिबार एकाबिहानै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ। लेखक कांग्रेस नेता हुन्।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानिबन गर्न बनेको आयोगको सिफारिसअनुसार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। ओलीको पक्राउविरुद्ध एमाले सडकमा उत्रिसकेको छ।