- काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले बालेन्द्र शाहलाई बधाई दिँदै गलबन्दीसमेत उपहार दिइन्।
- डंगोलले सामाजिक सञ्जालमा शाहलाई बधाई दिंदै नयाँ मन्त्रिमण्डलको सुशासनमा विश्वास व्यक्त गरिन्।
- उनले काठमाडौं महानगरपालिकाले केन्द्रीय सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै शाहलाई सफलताको शुभकामना दिइन्।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले शुक्रबार प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएकी छन्।
काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन राजीनामा गरेपछि उक्त स्थानमा उपमेयर डंगोल कार्यबाहक बनेकी थिइन्।

डंगोलले शुक्रबार राष्ट्रपति निवास शीतलनिवास पुगी शाहको शपथग्रहण लगत्तै उनलाई बधाई दिँदै गलबन्दीसमेत लगाइदिएकी थिइन्।
उनले सामाजिक सञ्जालमार्फत पनि शाहलाई बधाई दिएकी छन्।
उनले फागुन २१ गते सम्पन्न निर्वाचनपछि दुईतिहाई नजिकको सांसदको संख्यासहित पहिलो बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह देशको सम्माननीय प्रधानमन्त्री पदमा नियुक्त भएको भन्दै काठमाडौँ महानगरपालिका र व्यक्तिगत रूपमा पनि बधाई दिएकी हुन्।

डंगोलले लेखेकी छन्- ‘नवयुवाहरुको अभूतपूर्व आशा, भरोसा र विश्वासको गहकिलो जिम्मेवारी काँधमा बोकेर युवा उमेरका शाहले देशकै कार्यकारी नेतृत्व गर्ने गहन जिम्मेवारी प्राप्त गर्नुभएको छ। गत स्थानीय तहको निर्वाचनमा तपाईँ (आजबाट सम्माननीय प्रधानमन्त्री पदको जिम्मेवारी प्राप्त गर्नुभएका बालेन्द्र शाह) मुलुकको सबै भन्दा ठूलो र पुरानो महानगरपालिका काठमाडौं महानगरको मेयर पद र म उपमेयर पदमा निर्वाचित भएपछि करीब साढे तीन वर्ष सँगसँगै काम गरेका थियौं। आज आम नेपाली आमा–बुबा, दाजु–भाई, दिदी–बहिनीको मन जितेर तपाईँले सांसद हुँदै प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी प्राप्त गर्नुभएको छ । तपाईंले प्राप्त गरेको जिम्मेवारीप्रति काठमाडौं महानगरपालिका र मेरो व्यक्तिगत तर्फबाट पनि बधाई।’
उनले आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको पनि उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्- मलाई आशा छ, राष्ट्र र जनतामा जागेको आशाको दियो ननिभ्ने गरी आगामी दिनमा राष्ट्र र जनताप्रति उत्तरदायी भएर तपाईँको नेतृत्वको सरकारले काम गर्ने छ। तपाईँ र तपाईँको नेतृत्वको नयाँ मन्त्रिमण्डल सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र विकास र समृद्धिका लागि जनताले देखेको सपना पूरा गर्ने कार्यमा एक चित्त भएर लाग्ने छ भन्ने मैले आशा लिएको छु।’
उनले शाहलाई कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेकी छन्।