- डाक्टर विक्रम तिमिल्सिना रास्वपाबाट विजयी भई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन्।
- तिमिल्सिनाले नुवाकोट क्षेत्र १ बाट कांग्रेसका पूर्वअर्थमन्त्रीलाई ४,०१२ मतान्तरले पराजित गरेका थिए।
- उमेरदेखि नै राजनीतिमा चासो राख्दै आएका तिमिल्सिना कवि, अन्तर्राष्ट्रिय मामलाविज्ञ तथा पूर्व सञ्चारकर्मी हुन्।
काठमाडौँ- प्रतिनिधि सभा सदस्य डाक्टर विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि बनेका हुन्। उनले अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका हुन्।
नुवाकोट क्षेत्र नम्बर १ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तिमिल्सिनाले निकटतम प्रतिस्पर्धी कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. महतलाई ४ हजार १२ मतान्तरले पराजित गरी संसद् प्रवेशको बाटो खोलेका थिए।
गीत, गजल र कवितामा कलम चलाउँदै आएका कवि तिमिल्सना २०३९ सालमा नुवाकोटको साविक चौघडा-९ तथा हालको पञ्चकन्या गाउँपालिका-१ मा जन्मेका हुन्।
अलिअलि चोट देउ…गजल संग्रहसमेत प्रकाशन गरेका तिमिल्सिनाका थुप्रै फुटकर कविता पत्रपत्रिकामा प्रकाशन भएका छन्।
उनको परिवारका कुनै पनि सदस्य राजनीतिसँग जोडिएका छैनन् । तर, उनी भने विद्यालय तहदेखि नै राजनीतिमा चासो राख्दै आएका थिए । बाल्यकालको यही राजनीतिक चेतले उनलाई सांसददेखि मन्त्री सम्म पुर्याएको छ।
कवि डाक्टर विक्रम तिमिल्सिनाले विद्यालय तहको शिक्षा गाउँबाटै प्राप्त गरेका थिए।
२०६२/ ०६३ को जनआन्दोलनमा सचेत नागरिकका रुपमा सक्रिय भूमिका खेलेका तिमिल्सिना एक सामान्य परिवारमा जन्मिएका हुन्। उनको परिवारका कुनै पनि सदस्य राजनीतिसँग जोडिएका छैनन् । विद्यालय तहदेखि नै राजनीतिमा चासो राख्दै आएका तिमिल्सनामा बाल्यकालदेखि नै राजनीतिक चेतले उनलाई संसद् हुँदै सञ्चारमन्त्रीको जिम्मेवारी पाएका छन् ।
नेपालदेखि अस्ट्रेलियासम्मको शैक्षिक तथा प्राज्ञिक अनुभवका साथै परराष्ट्र मामिलाविज्ञसमेत रहेर काम गरेको अनुभव तिमिल्सिनाले लिएका छन्। तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर र अस्ट्रेलियाको क्विन्जल्यान्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अध्ययनमा एड्भान्स्ड मास्टर्स गरेका छन्। साथै अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीति तथा अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन्।
विद्यावारिधि गरेको करिब साढे ३ वर्षपछि उनी नेपाल फर्किएर २०८० मा रास्वपासँग आबद्ध भए र रास्वपाको केन्द्रीय अन्तर्राष्ट्रिय विभागको सदस्यका रुपमा पार्टीमा जोडिएका थिए। यो नै उनको राजनीतिको पहिलो पाइला थियो।
एसियन इन्स्टिच्युट अफ एड्भान्स्ड रिसर्जका प्रमुखसमेत रहेका तिमिल्सिना अध्ययन, अनुसन्धान, लेखन तथा पठनमा रुची राख्छन्। यो चुनावबाट विजय भएर आएका नौ जना विद्यावारिधि गर्ने सांसदमा एक अनुहार डा. तिमिल्सिना पनि हुन्।
१२ वर्षअगाडि रेडियो सगरमाथा छोडेका उनले रेडियोमा नौ वर्ष कार्यक्रम उत्पादक तथा प्रस्तोताको भूमिका निभाएका थिए। उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगेका उनी ब्रिस्बनबाट सञ्चालन भएको ‘नेपाल एक्सप्रेस’का कार्यकारी सम्पादक तथा सिड्नीबाट सञ्चालित साउथ एसिया डटकम डट एयू न्युज पोर्टलको सम्पादकीय सल्लाहकार भए।
राजनीतिलाई शक्ति संचयको साधनको रुपमा होइन, नागरिक र भुँइमान्छेप्रतिको जिम्मेवारी वहन गर्ने माध्यम बनाउनु पर्नेमा विश्वास राख्ने गरेका तिमिल्सिना राजनीतिको कोर्सलाई करेक्सन गर्न राजनीतिमा लागेका बताउँदै आएका थिए ।