- बिराटनगरको जैन भवनमा घर निर्माणका आवश्यक सामाग्रीको पाँचदिने स्तरीय प्रदर्शनी कोशी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गरे।
- मुख्यमन्त्री कार्कीले घर निर्माणमा भूकम्प प्रतिरोधात्मक र आगलागी न्यून क्षति सुनिश्चित गर्न जनचेतना बढाउनु पर्नेमा जोड दिए।
- प्रदर्शनीमा ७५ स्टल सहभागी छन्, जहाँ बी टु बी र बी टु सी सम्बन्धलाई बलियो बनाउने लक्ष्य राखिएको छ।
माेरङ – विराटनरमा घर निर्माणदेखि सजावटसम्म चाहिने आवश्यक सामाग्रीको पाँचदिने प्रदर्शनी सुरु भएको छ। विराटनगरको जैन भवनमा बिहीबार प्रदर्शनीको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा हुने प्रर्दशनीहरु स्तरीय हुने बताए।
सोही क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमा आगामी आर्थिक वर्षदेखि गुणस्तरीय निर्माण र पुजींगत खर्च बृद्धि गर्ने प्रत्येक चौमासिकमा खर्चको लक्ष्य निर्धारण गरिने बताए। विराटनगरमा पहिलोपटक घर निर्माण प्रदर्शनी भइरहेको बताएका मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले बजेट खर्च बढाएर आर्थिक गतिविधि चलायमान बनाउन कटिवद्ध रहेको उल्लेख गरे।

घर निर्माण सामाग्रीको प्रदर्शन आम नागरिकलाई आवश्यक र फलदायी हुने विश्वास लिएको बताउँदै मुख्यमन्त्री कार्कीले घर बनाउँदा भूकम्प प्रतिरोधात्मक, आगलागीबाट न्यून क्षति, र प्राकृतिक प्रकोपबाट सुरक्षित बनाउन जनचेतना जगाउनुपर्नेमा जोड दिए। सोही क्रममा उद्योगी ब्यवसायीहरुले पटकपटक औद्योगिक प्रदर्शनीस्थलको कुरा उठाउँदै आएको बताएका उनले विराटनगरको पायक पर्ने स्थानमा जग्गा उपलब्ध भए आउने दुईवर्षभित्र सुविधासम्पन्न प्रर्दशनीस्थल निर्माण गर्ने प्रतिवद्धता गरे।
प्रदर्शनीका क्रममा आयोजक उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले प्रदर्शनीबाट नागरिकले अधिकतम् फाइदा लिने विश्वास लिएको बताए। उनका अनुसार प्रदर्शनीमा बी टु बी र बि टु सी सम्बन्धलाई बलियो बनाउने लक्ष्य राखिएको जानकारी दिए।
विभिन्न कम्पनीको ७५ वटा स्टल रहेको प्रदर्शनीमा मुख्य गरि, सिमेन्ट, इटा, स्टिल, वाटर प्रुफिङ, मोड्युल किचन, ढोका झयाल, हार्डवेयर, रङ, इन्टेरियर डिजाइन, फर्निसिङ, सौर्य उर्जा प्रणाली लगायतका सरसमान राखिएको छ।