- राष्ट्रपति ट्रम्पले इरानलाई इरानी सर्वोच्च नेता बन्ने प्रस्ताव अस्वीकार गरेको र पर्दा पछाडि वार्ता चलिरहेको दाबी गरे।
- इरानले बाब-अल-मन्डेब स्ट्रेट बन्द गर्न सक्ने चेतावनी दिंदै, अमेरिकी सैन्य आक्रमणको सम्भावना सामना गरिरहेको छ।
- इरान समर्थन गरेका हूती विद्रोहीहरूले बाब-अल-मन्डेब स्ट्रेटमा अवरोध सृजना गर्न सक्छन्, जसले जलमार्गको सुरक्षा खतरामा पार्नसक्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको ५ दिनको समयसीमा शुक्रबार सकिँदै छ। यसैबीच अमेरिका र इरान आ-आफ्नो तयारीमा छन्। दुबै देशले वाकयुद्ध मार्फत एक अर्कालाई झुकाउने प्रयास यो बिचमा जारी राखेका छन्।
पछिल्लो समय अमेरिकाले इरानको खार्ग टापुमा स्थलमार्गबाट आक्रमण (ग्राउण्ड इनभेजन) गर्न सक्ने खबरहरू सार्वजनिक भएका छन्। यसको जवाफमा इरानले बाब-अल-मन्डेब जलडमरु (स्ट्रेट) बन्द गर्न सक्ने चेतावनी दिएको छ।
बाब-अल-मन्डेब रेड सी (लाल सागर) को प्रवेशद्वार हो, जसले यो स्ट्रेटले अरब सागरसँग जोड्छ। स्वेज नहरतर्फ जाने जहाजहरू यही बाटो हुँदै गुज्रिन्छन्। विश्वको करिब १२ प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने गर्दछ। यो संसारकै चौथो ठूलो जलमार्ग हो।
बाब-अल-मन्डेब अरबी प्रायद्वीपमा यमन र अफ्रिकाको जिबउटी र इरिट्रिया बीचको प्रमुख विश्वव्यापी चोक हो। लाल सागरलाई एडेनको खाडी र विस्तारित रूपमा हिन्द महासागरसँग यो मार्गले जोड्छ।
अफ्रिकी देश जीवउटीमा अमेरिकी सैन्य अड्डा रहेको छ। जुन यो जलडमरुबाट करिब ३० किलोमिटर मात्र टाढा छ। यदि यहाँ पनि अवरोध सिर्जना भयो भने मध्यपूर्वमा जारी द्वन्द्व झनै चर्किन सक्छ।
इरानलाई हूती विद्रोहीले साथ दिन सक्छन्
यो जलमार्ग युरोप, एशिया र मध्यपूर्वलाई जोड्ने अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो। प्रत्येक वर्ष करिब १ ट्रिलियन डलर बराबरको सामान यही बाटोबाट ओसारपसार हुन्छ। दैनिक झन्डै ४५ लाख ब्यारेल तेल यहीँबाट ढुवानी गरिन्छ।
तर, यसलाई पूर्ण रूपमा बन्द गर्नु इरानका लागि सजिलो भने छैन, किनकि यो जलडमरु इरानबाट करिब २५०० किलोमिटर टाढा पर्छ। यद्यपि, यो यमन नजिकै अवस्थित छ, जहाँ इरान समर्थित हूती विद्रोहीहरू सक्रिय छन्। यसअघि गाजा युद्धका क्रममा हूतीहरूले ड्रोन र क्षेप्यास्त्रमार्फत जहाजहरूलाई निशाना बनाउँदा रेड सी क्षेत्रको आवागमन प्रभावित भएको थियो। ट्रम्प भन्छन् ‘मलाई इरानको सर्वोच्च नेता बन्न प्रस्ताव आएको थियो’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई इरानको सर्वोच्च नेता बन्न प्रस्ताव आएको दाबी गरेका छन्। तर उनले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका छन्। रिपब्लिकन पार्टीको एक कार्यक्रममा बोल्दै उनले फेरि अमेरिकाको जित सुनिश्चित भइरहेको दाबी गरे।
उनका अनुसार पर्दा पछाडि इरानसँग वार्ता चलिरहेको छ र इरानी सरकार युद्धविराम चाहन्छ। तर, आन्तरिक दबाबका कारण खुला रूपमा स्वीकार गर्न डराइरहेको पनि उनले दाबि गरे। उनले भने ‘हामी यति ठूलो जिततर्फ अघि बढिरहेका छौं, जुन संसारले पहिले कहिल्यै देखेको थिएन। उनीहरू वार्ता गरिरहेका छन् र ठूलो सम्झौता गर्न चाहन्छन्। तर, यदि उनीहरूले खुला रूपमा आफ्नै मानिसहरूले उनीहरूलाई मार्न सक्छन् भन्ने डर छ। उनीहरू हामीसँग पनि डराइरहेका छन्।’
तर, इरानले ट्रम्पका सबै दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै अमेरिका सँग कुनै पनि वार्ता नभएको स्पष्ट पारेको छ। उसले ट्रम्पले भ्रमको खेति गरेको बताएका थिए।