- तत्कालीन जेलर सत्यराज जोशीले आफूलाई करकापमा पारेर अज्ञात पत्रमा हस्ताक्षर गराइएको दाबी गरेका छन्।
- लामिछानेलाई निकाल्ने क्रममा समर्थकहरुलाई रोक्न नसक्दा जोशीले ज्यान जोगाउन लुकेर बस्नुपरेको बताए।
- तोडफोडको दिन एक हजार दुई सय ८१ कैदीहरू जेलमा भए पनि ४५९ अझै फरार छन्।
काठमाडौँ– भदौ २४ गते रवि लामिछानेलाई नख्खु जेल बाहिर जान दिन वैधानिक कागजातमा हस्ताक्षर नगरेको तत्कालीन जेल प्रमुख (जेलर)ले बयान दिएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँजबुझ आयोग समक्ष जेलर सत्यराज जोशीले आफूलाई करकाप र आतंकपूर्ण अवस्थामै हस्ताक्षर गराइएको दाबी गरेका हुन्।
उनले लामिछाने समर्थकहरुले नाराबाजी गर्दै जेलभित्र प्रवेश गरेर आफूलाई जानकारी नभएको कागजातमा हस्ताक्षर गराएर बाहिर निकालिएको उल्लेख गरेका हुन्। लामिछानेका समर्थकहरु भित्र छिरेपछि ज्यान जोगाउन लुकेर बसेके अवस्थामा अज्ञात पत्रमा जबरजस्ती हस्ताक्षर गराएको जोशीले बयानमा भनेका छन्।
लामिछानेलाई जेल बाहिर निकाल्न रास्वपाका नेताहरु डोलप्रसाद अर्याल, मनिष झा, हरि ढकाललगायत नख्खु पुगेका थिए।
जोशीले आयोग समक्षको बयानमा उल्लेख गरेका छन्, ‘म र प्रशासनिक कर्मचारीहरू मनोसामाजिक अपाङ्ग वन्दी अस्पताल भवनभित्र लुकेर ज्यान जोगाउने प्रयासमा थियौं। सो क्रममा भीडले मलाई अत्यधिक डरधम्की दिई जीवन मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो। पत्रको विषयवस्तुबारे मलाई कुनै पूर्व जानकारी थिएन। उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन।’
समर्थकहरुको जबर्जस्तीबाट नख्खु जेलबाट निस्किएका लामिछानेले बाहिर निस्केपछि विजयी भावमा ‘सन रुफ’ गाडीबाट धन्यवाद दिएका थिए।
जेलर जोशीले तोडफोड भएको दिन कारागारमा एक हजार दुई सय ८१ जना कैदीबन्दीहरू रहेको जनाएका छन्। घटनापछि ७४९ जना कैदीबन्दीहरू कारागारमा फर्किए, ७० जनालाई अन्य कारागारमा स्थानान्तरण गरियो र ४५९ जना अझै फरार रहेको उनले बयानमा उल्लेख गरेका छन्।