- महिला उद्यमी महासंघ नेपालले चैत २० देखि २२ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा ‘९औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६’ आयोजना गर्ने छ।
- मेला महिला उद्यमशीलताको विकास, सामाजिक तथा आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउन र अन्तर्राष्ट्रिय बजारसँग जोड्न आयोजित छ।
- १०० भन्दा बढी स्टलसहितको मेलाले ५० हजारभन्दा बढी दर्शक आकर्षित गर्ने र २ करोड रूपैयाँको व्यापार गर्ने अपेक्षा छ।
काठमाडौँ- नेपालभरका महिला उद्यमीहरूको प्रतिनिधिमूलक संस्था महिला उद्यमी महासंघ नेपाल (FWEAN) ले आगामी चैत २० देखि २२ गते (३–५ अप्रिल २०२६) सम्म ललितपुरको हेरिटेज गार्डेनमा ‘९औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६’ आयोजना गर्ने भएको छ।
विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवर्द्धनमा सक्रिय महासंघले महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणका लागि यो मेला आयोजना गर्न लागेको हो। मेलाको समुद्घाटन चैत २० गते हुने तय गरिएको छ।
‘सशक्त महिला नेतृत्व र उद्यमशीलताको आधार’ भन्ने मूल मर्मका साथ आयोजना हुन लागेको यस मेलामा नेपालका विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमीका साथै अन्तर्राष्ट्रिय स्तरका महिला उद्यमीहरूको समेत सहभागिता रहनेछ।
मेलाको मुख्य उद्देश्य महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रदर्शन, प्रवर्द्धन र बिक्रीका लागि प्रभावकारी प्लेटफर्म उपलब्ध गराउनु रहेको छ।
यसले महिला उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै बजार पहुँच विस्तार गर्न र ठूला खरिदकर्ता तथा लगानीकर्ताहरूसँग ‘B2B’ नेटवर्किङ बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
मेलामा कुल १५० वटा स्टलहरू रहनेछन्। प्रदर्शनीमा सातै प्रदेशका महिला उद्यमीहरूले उत्पादन गरेका रैथाने तथा मौलिक सामग्रीहरू राखिनेछन्। जसमा कोशीको अल्लो र बाँसका सामान, मधेशको मिथिला आर्ट, बागमतीको डेरी उत्पादन र हस्तकला, गण्डकीको अल्लो र जडीबुटी, लुम्बिनीको ढाका र बेतका सामान, कर्णालीको राडीपाखी तथा सुदूरपश्चिमको गलैँचा र काठका सामानहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। यसका साथै भारत, चीन, कोरिया र भुटानका महिला उद्यमीहरूका उत्कृष्ट उत्पादनहरू पनि मेलामा प्रदर्शन गरिनेछ ।
मेलाको अवसरमा ‘फाइबर टु फेसन’ (Fiber to Fashion) थिममा र्याम्प वाक, प्यानल डिस्कसन, कार्यशाला र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ। महासंघले यस मेलामा अपाङ्गता भएका महिला उद्यमीहरूका लागि निःशुल्क स्टल र स्टार्टअप उद्यमीहरूका लागि सहुलियत दरमा स्टलको व्यवस्था गरेको छ।
मेला अवधिभर करिब ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २ करोड रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। साथै, सोही अवसरमा महिला उद्यमीहरूको सफलताका कथा समेटिएको ‘एन्टरप्राइजिङ वुमन नेपाल’ को १४औँ संस्करण पनि लोकार्पण गरिनेछ।